२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

बागलुङमा र्‍यापिड टेस्ट थालियो

प्रकाश बराल

बागलुङ — जिल्लामा कोरोना भाइरस(कोभिड–१९)संक्रमणको परीक्षण सुरु भएको छ । सरकारले निर्णय गरेको ५ दिनपछि बिहीबारबाट बागलुङमा र्‍यापिड टेस्ट गर्ने काम सुरु भएको हो । 

बागलुङमा र्‍यापिड टेस्ट थालियो

बिहानदेखि ‘आरडीटी’ किट्स मार्फत र्‍यापिड टेस्ट गर्न थालिएको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले जानकारी दिए । यो विधिबाट १५ मिनेटमै एक जनाको रगत परीक्षण गर्न सकिन्छ ।

पहिलो चरणमा अस्पतालमा कार्यरत मेडिकल ल्याब टेक्नोलोजिष्ट डा.सुरज बराल, सुपरभाइजर देवप्रकाश घिमिरे र स्वास्थ्य कार्यालय बागलुङका डिल्ली आचार्यको रगत परीक्षण गरेर र्‍यापिड टेस्ट थालिएको हो । उनीहरु तीनैजनाको नेगेटिभ रिपोर्ट आएको थियो ।

कोरोनाको संक्रमण सुरु भएपछि अस्पतालमा रहेर बिरामीको उपचारमा संलग्न भएकाले उनीहरुको रगत परीक्षण गरिएको हो । यो विधिबाट बागलुङमा ९ सय देखि १ हजार जनासम्मको रगत परीक्षण गरिने योजना रहेको अस्पतालले जनाएको छ ।

‘नमूना परीक्षण भएकोले यहीबाट नेगेटिभ रिर्पोट दिएका हौं, अरु रिपोर्ट मन्त्रालयमार्फत प्रकाशित हुन्छ’ डा. पोखरेलले भने, ‘यो विधि बढीमा ६० प्रतिशत मात्र भरपर्दो भएको सुनिएकोले पोजेटिभको शंका लागेमा उतै पठाउनु पर्छ ।’

बागलुङमा भारत र अन्य देशबाट आएकाहरुको तथ्यांक संकलन गर्दा ९ सय जनाको तथ्यांक भेटिएको छ । हरेक स्थानीय तहले तयार पारेको तथ्यांकको आधारमा यसअघि संक्रमण भेटिएका २ जनाको परिवार र छिमेकीसमेतको र्‍यापिड टेस्ट गरिने अस्पतालले जनाएको छ । पोजेटिभ देखियो भने त्यसको अन्तिम नजिताका लागि फेरी शंकास्पदको स्वाब पठाएर परिक्षण गरिनेछ । यो विधि छिटो परीक्षण गरेर संक्रमितको शंकास्पद अबस्था पत्ता लगाउने भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।

इपिडिमियोलोजी महाशाखाका ल्याब टेक्नोलोजिष्ट धनप्रसाद पौडेलले बिहिवार बिहान बागलुङ सहित छिमेकी पर्वत र म्याग्दी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई आरडीटी किट्स प्रयोगबारे तालिम दिएका थिए । तालिममा तीन जिल्लाका २५ जना स्वास्थ्यकर्मी सहभागी थिए ।

बागलुङका लागि आएका १ हजार किट्सबाट आउने प्रारम्भिक नतिजाले देशभरको लकडाउनको फाइदाबारे बुझ्न सकिने प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले बताए । दैनिक सय जनासम्मको रगत परीक्षण गर्न सकियो भने दश दिनमा सबैको सकिने उनले बताए ।


बागलुङ अस्पतालमा अहिले पाँचौ र छैठौ कोरोना संक्रमित बिरामीको उपचार भैरहेको छ । उनीहरुको उपचारमा खटिनुपर्दा पिपिई कम भएको गुनासो बढेको छ । बागलुङका लागि स्वास्थ्य मन्त्रालयले ५० थान मात्रै पिपिई पठाएको थियो । ती सामाग्री कम भएको भन्दै माग समेत भएको पोखरेलले बताए ।

प्रभु बैंकका सिइओ अशोक शेरचनले बागलुङका ग्रामीण क्षेत्रका स्वास्थ्यचौकीमा प्रयोग गर्ने गरी १ सय थान पिपिई उपलब्ध गराएका छन् । मन्त्रालयले प्रमाणित गरेका पञ्जालगायतका सेट अभाव भएकोले ५० सेटबाटै उपचारको प्रक्रिया चलाएको पाखेरेलले बताए ।

प्रकाशित : चैत्र २७, २०७६ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?