कालीगण्डकीमा पौडी खेल्दा बेपत्ता

नारायण शर्मा

नवलपरासी — कालीगण्डकी नदीमा पौडी खेल्दा मंगलबार साँझ एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरीका डिएसपी मोहन खाँडका अनुसार बुलिङटार–६ स्थित घुमाउरी पुलमुनि पौडी खेल्ने क्रममा हिमाल चितौरे सार्कीलाई नदीले बगाएको हो ।

उनी बैदीकाली गाउँपालिका–१ मिथुकरकका बासिन्दा हुन् । उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।


चार दिनअघि कालीगण्डकी तर्दा बेपत्ता भएकी ११ वर्षीया बालिकाको शव २ दिनपछि फेला परेको थियो ।


प्रकाशित : चैत्र २६, २०७६ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्

किसानलाई बाली भित्र्याउने चटारो

खुला परिवेश, खेतीपातीमा व्यस्तता र प्राकृतिक जीवनशैलीले गाउँमा मानिसको ऊर्जामा कमी आएको छैन
प्रदेश ब्युरो

बुटवल — कोभिड–१९ संक्रमणले अहिले सहर र गाउँले जनजीवन छुट्याएको छ । सहर सुनसान छ । जीवन टक्क अडिए जस्तो छ । गाउँमा स्वाभाविक चहलपहल छ । गाउँमा खुला परिवेश, खेतीपातीमा व्यस्तता र प्राकृतिक जीवनशैलीले मानिसको ऊर्जामा कमी आएको छैन ।

सरकारले लागू गरेको लकडाउनका कारण ग्रामीण क्षेत्रका किसान प्रभावित नभएका होइनन् । हिँडडुलमा रोक लगाएका बेला पनि गाउँघरमा सर्वसाधारण फुर्सदिला छैनन् । उनीहरू धमाधम काममा व्यस्त देखिन्छन् । सहरमा सुतेर दिन काट्नु परिरहेको गुनासो सुनिन्छ । गाउँघरमा कसैलाई सुत्ने फुर्सद छैन । दैनिक घर व्यवहार र बाली स्याहार्न भ्याइनभ्याईले उनीहरूले लकडाउन बितेको पत्तै पाउँदैनन् ।

गाउँका बासिन्दा लकडाउनमा झन् व्यस्त छन् । यतिबेला गहुँ पाकेको छ । रोजगारीको सिलसिलामा जिल्लाबाहिर गएका पनि फर्किएका छन् । त्यसले काम गर्ने थपिएका छन् । कोहलपुर–१२ निबुवाका ५० वर्षीय बिर्खराज केसीले सोमबार दिनभर खेतमा गहुँ काटे । चर्को घाममा परिवारसहित कपडाको मास्क लगाएर खटिएका थिए । ‘यसपालि खेताला खोज्नुपरेन,’ उनले भने, ‘गहुँ स्याहरेर तरकारी लगाउने तर्खरमा छौं ।’ पहिले यस्तो जमघट दसैंका बेला हुन्थ्यो ।

कोहलपुर खड्कबारका भुर्रा थारू दुई कठ्ठामा लगाएको तोरी र मसुरो टिप्न व्यस्त छन् । त्यहाँका स्थानीय मिलेर आलोपालो बाली स्याहारिरहेका छन् । यस वर्ष असिना परेकाले तोरी राम्रो फलेन । गहुँका बाला झपक्कै लागेको भुर्राले बताए ।

भीडभाडमा काम गर्नु हुँदैन भन्ने सुनेकाले पहिले जस्तो खेताला पाइएको छैन । जसले गर्दा खेतमै गहुँका मुठा सुकाएर राख्न बाध्य छौं । दुई दिनमा सकिने गहुँ काट्ने काम उनलाई एक साता लागेको छ । ‘मजदुर पाउनै गाह्रो छ,’ भुर्राले भने, ‘थोरै मान्छेले धेरै दिन लगाएर बाली स्याहार्नुपरेको छ ।’

बैजनाथ–७ पिरारीकी कुस्मा चौधरीले पनि गहुँ काटेर खेतभरि मुठा पारेकी छन् । घरसम्म ओसार्न उनलाई ढुवानीको साधन नभई हँुदैन । मुठा पारेको गहुँ सुकेर खङग्रुङ भइसक्दा समेत घर ल्याउन नसकेको उनले गुनासो गरिन् । लकडाउनले सवारी साधन चलेका छैनन् । मान्छेहरूको आवतजावत छैन । धेरै भीडभाडमा काम गर्न हुँदैन भनेर कोरोना रोगको डर पनि छ । यस्ता कारणले गर्दा कतिपय किसानको गहुँ बारीमा अलपत्र परेको बैजनाथ गाउँपालिकाअन्तर्गत कृषि शाखाकी अधिकृत विष्णुमाया मल्लले बताइन् ।

दाङका गाउँघरमा लकडाउनको असर छैन । साविककै दैनिकी चलिरहेको छ । खेतबारीमा काम गर्ने, गाईभैंसी, भेडाबाख्रा चराउने, घाँस काट्ने र घर व्यवहारका कामहरू उस्तै भइरहेका छन् । अहिले मसुरो र गहुँ भित्र्याउने समय छ । किसानहरू बारीमै व्यस्त छन् । कोही चना, केराउ टिपिरहेका छन्, कोही मसुरो, गहुँ काटिसकेको जमिनमा गाईभैंसी चराइरहेका छन् । ‘बन्दले खेतीपातीमा असर गरेको छैन,’ घोराही–५ धर्नाका महावीर नेपालीले भने, ‘हामी बारीमै व्यस्त छौं । आफ्नो काम गरिरहेका छौं । खेतीपाती नगरी जीउ कसरी पाल्नु । काम त गर्नैपर्‍यो ।’

किसानलाई दूधदही घरमै छ । बढी भएको जति पनि बिक्री हुन्छ । मानिस किन्न बिहानै घरमै आइपुग्छन् । बढी भएको तरकारी पनि बिहानै मूल बाटोसम्म पुर्‍याएपछि जति पनि बिक्री भइहाल्छ । कतिपय तरकारी बोकेर बजारसम्मै पुग्छन् । ‘बिहानै उठेर तरकारी बेच्न जान्छौं । दिउँसो र बेलुका खेतबारीमा काम गर्छौं,’ घोराही–६, बचाहाकी मीना चौधरीले भनिन्, ‘यसले गर्दा घरको उब्जनी खेर गएको छैन, केही नगद पनि आइरहेकै छ ।’ गाउँघरको यो नियमित जीवनशैली केही पनि खल्बलिएको छैन ।

प्यूठानको झिमरुक फाँटमा गहुँ काट्दै गरेका किसान । तस्बिर:गिरुप्रसाद भण्डारी/कान्तिपुर

‘मजदुर पाइँदैनन्’


बर्दियाको राजापुर नगरपालिका–८ का फौजबहादुर थारूको दिन छटपटीमा बित्ने गरेको छ । बिहान उठेर खेतमा नजर डुलाउँछन् । गहुँ भित्र्याउन नपाएर बाला झर्न लागेको देखेपछि निराश बन्छन् । कामदार नपाएकाले उनीजस्ता धेरैले यसपालि गहुँ स्याहार्न सकेका छैनन् । लकडाउनका कारण गाउँमा पाउन छाड्यो । परिवारले मात्रै स्याहार्ने अवस्था छैन ।

बारबर्दिया नगरपालिका–४ का फूलपाती थारू सोमबार बिहान परिवारका तीन सदस्यसहित गहुँ काट्न खेतमा पुगे । कतिखेर प्रहरी आएर फर्काउँछ भन्ने डर उनीहरूमा थियो । गत वर्ष मजदुरी लगाएर दुई बिघाको गहुँ स्याहरेका थिए । ‘चर्को घाममा कति दिन खट्नुपर्ने हो,’ उनले भने, ‘कृषिमा काम गर्ने मजदुरलाई सरकारले छुट दिए हुने ।’ यहाँका किसानले गहुँ झार्न थ्रेसर मेसिन चलाउन पाएका छैनन् ।

कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालका अनुसार बाँकेमा २१ र बर्दियामा १९ हजार ६ सय ३६ हेक्टरमा गहुँबाली लगाइएको छ । बाँकेका केही स्थानमा किसानले गहुँ भित्र्याउन सुरु गरेका छन् । बर्दियामा भित्र्याउन नपाएको उनले जानकारी दिए । सरकारले गत आइतबारदेखि एक पालिकाबाट अर्कोमा आउजाउ बन्द गर्ने निर्णय गरेको छ । त्यसले पनि कामदार अभाव भएको छ । यसपालि बेमौसमी वर्षा भएपछि गहुँका बाला झर्न थालेका छन् । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले भने खेतबारीमा काम गर्न नरोकिएको बताए ।

प्यूठानका किसानलाई कोभिड–१९ को भन्दा हिउँदेबाली भित्र्याउने चटारो छ । दुई साता घरभित्र समेटिएका यहाँका बासिन्दा अहिले खेतबारीमा जौ र गहुँ काट्न थालेका छन् । जिल्लाको झिमरुकलगायत फाँटमा स्थानीय बासिन्दा काममा व्यस्त देखिन्छन् । सोमबार तेस्रोपटक लकडाउनको म्याद थपेपछि सुरक्षाका उपाय अपनाएर सर्वसाधारण बाली स्याहार्न थालेका छन् ।

बारीमा जाँदा पनि सर्वसाधारणले मास्क लगाउँछन् । एकअर्काबीच दूरी कायम गर्छन् । भीड नगरी गहुँ काट्न थालेको प्यूठान नगरपालिका–२, दाखाक्वाडीका लेखबहादुर खत्रीले बताए । शुक्रबारदेखि किसानले बारीमा काम सुरु गरेको उनको भनाइ छ । पाकिसकेको गहुँ, जौ सुकेर खेतमै झर्ने अवस्था भएपछि सर्वसाधारण बारीमा निस्केको प्यूठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले बताए ।

बीउबिजन अभाव


रूपन्देहीको गाउँका बासिन्दा अहिले खेतबारीमै देखिन्छन् । पहिले एक दिनमा सकिने काम अहिले तीन दिन लगाएर गर्नुपरिरहेको उनीहरूले बताए । बाली भित्र्याउन मजदुर अभाव छ । नयाँ खेतीका लागि बीउबिजन नपाएको किसानको गुनासो छ । तिलोत्तमा–६ का कमल भण्डारी मंगलबार बिहानै खेतमा पुगे । दुई छोरा र छिमेकीको सहयोगमा गहुँ काटे । ‘गहुँ झुरिएर समस्या भयो,’ उनले भने, ‘अब दाउने कसरी हो ।’ जहिले थ्रेसर मेसिन पाइन्छ, त्यही दिन दाउने भनेर काटेको उनले बताए ।
सैनामैना–७, देउवापारका भास्कर पाण्डेले १८ कट्ठामा गहुँ र दाल खेती गरेका छन् । ‘कामदार पाएको भए दुई दिनमा काम सकिन्थ्यो,’ उनले भने, ‘लकडाउनले मेसिन पनि पाइएन ।’ धेरै जना जम्मा भएर काम गर्न नपाएको, गाउँमा रहेको एउटा मेसिन पर्खिंदा स्याहार्न पाँच दिन लागेको पाण्डेले सुनाए । मकै छर्ने बेला भए पनि लकडाउन खुल्ने दिनसम्म ढिलो हुने र धान रोप्ने बेला भइसक्ने उनले गुनासो गरे ।

रूपन्देहीकै ओमसतियाका कृषक महासंघका केन्द्रीय सदस्य देव धवलले तीन बिघामा उत्पादन भएको गहुँ काटेका छैनन् । अझै गहुँ स्याहार्ने चाँजोपाँजो मिलेको छैन । ‘परिवारले त गर्नुहुन्छ,’ उनले भने, ‘मेसिन, औजार व्यवस्थापन नभई काम हुँदैन ।’ अहिले किसान मसुरो, केराउ र गहँु स्याहारी मकै छर्ने र धानको ब्याड राख्ने तयारीमा छन् ।

बालीकै चिन्ता


गुल्मीको मदाने गाउँपालिका–१ का धनबहादुर विक यतिबेला गहुँ स्याहार्न, बारीमा मल फाल्न र मकै छर्ने काममा व्यस्त छन् । अरू बेला छिमेकीसँग बाक्लो भेटघाट गर्ने विक लकडाउनपछि घरपरिवारसँग सीमित छन् । बाली स्याहार्ने र मकै रोप्ने चटारोले उनलाई भ्याइनभ्याई छ । कोदो खेती गरेको बारीमा मकै रोपे ।

‘गाउँमा घरभित्र बसेर पुग्दैन, यो बाली स्याहार्ने र लगाउने बेला हो,’ उनले भने, ‘बेलैमा खेती नगर्ने हो भने भोकै बस्नुपर्छ । हाम्रो प्रमुख आम्दानी नै खेती हो ।’ गाउँमा यतिबेला दाउरा काटेर चाङ लगाउने पनि काम हुन्छ । अहिले जुटाएका दाउराले वर्षाभर खाना पकाउन पुर्‍याउनुपर्छ ।

पुर्काेटदहका पुनाराम कुँवरले खेलाता लगाएरै गहुँ काट्दै छन् । गहुँ काटेपछि झाँट्ने, स्याहार्ने र बारीमा मल फाल्ने, जोत्ने र मकै छर्ने काम सुरु हुन्छ । घरमा चामल, दाल, नुुन तेल मात्रै रहेको र गहुँ स्याहारेपछि रोटी खान थाल्ने उनले बताए । पहिला जस्तो बाक्लो भेटघाट नगरेपनि अन्नबाली स्याहार्न खेताला नखोजी काम गर्न नसकिने उनको भनाइ छ ।

(बर्दियाबाट कमल पन्थी, बाँकेबाट मधु शाही, दाङबाट दुर्गालाल केसी, प्यूठानबाट गिरुप्रसाद भण्डारी, अर्घाखाँचीबाट वीरेन्द्र केसी र रूपन्देहीबाट सञ्जु पौडेल)

प्रकाशित : चैत्र २६, २०७६ ०८:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×