विदेशबाट फर्किने सबै निगरानीमा

प्रतीक्षा काफ्ले

स्याङ्जा — भारतलगायत विभिन्न मुलुकबाट फर्किनेको संख्या स्याङ्जामा ६ सय २४ पुगेको छ । विदेशबाट आएका सबैमा कोरोना परीक्षण गरिने प्रजिअ रामबहादुर कुरुम्वाङले बताए । 

उनका अनुसार सोमबार मात्रै २७ जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको छ । ‘कुन–कुन स्थानीय तहमा कति जना छन्, विदेशबाट आउने सबैको संख्या हेरेका छौं,’ उनले भने, ‘उनीहरूको नमुना संकलन गर्ने र परीक्षणका लागि पठाउने हो ।’


स्याङ्जामा अन्य मुलुकभन्दा भारतबाट आउनेको संख्या बढी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । हालै मात्र विदेशबाट आएका २१ जना क्वारेन्टाइनमा छन् । पहिले क्वारेन्टाइनमा रहेकाहरू क्रमशः घर फर्किंदै छन् ।

प्रकाशित : चैत्र २५, २०७६ १४:३२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कोरोनाको समयमा स्वास्थ्य र पोषण व्यवस्थापन

बोनिता शर्मा

संसारका २ सय ८ देशहरुमा एकै समयमा द्रुत गतिमा फैलिरहेको कोरोना भाइरसले विश्वव्यापी त्रासदी फैलाइरहेको छ । आजको मितिसम्ममा बाह्र लाभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने मर्नेहरुको संख्या सत्तरी हजार पुगिसकेको छ । विश्वका शक्तिशाली भनिएका देशहरु अमेरिका, बेलायतलाईसमेत यो रोगले हायलकायल पारेको छ । 

अन्यत्रको तुलनामा, नेपालमा कोरोना भाइरस संक्रमितको संख्या कम देखिए पनि हामी अत्यन्तै सजग रहनुपर्ने अवस्था छ । किनभने हालै मात्र विदेशबाट फर्किएका व्यक्तिबाट परिवारका सदस्यमा भाइरस सरेको प्रमाण फेला परिसकेको छ । यद्यपि, संक्रमितहरु हातमा गन्न सकिने संख्यामा भए पनि, उचित रोकथामका उपायहरु अवलम्बन नगरेमा, विदेशबाट संक्रमित भएर फर्किएकाबाट परिवार, त्यसबाट समुदाय र एक समुदायबाट अर्को समुदायमा संक्रमण हुँदै देशैभरि रोग फैलिएर नियन्त्रण गर्नै नसकिने ठूलो महामारीको रुप लिन धेरै समय लाग्दैन । र, यस्तो भयावह स्थितिको सामना गर्न हाम्रो देश सक्षम भइसकेको अवस्था छैन ।

अहिले नै पर्याप्त परीक्षण गर्न, विदेशबाट फर्किएका सबैलाई पहिचान गरी क्वारेन्टाइनमा राख्न र व्यक्तिगत सुरक्षा उपकरण(पीपीई)को व्यवस्था गर्न सरकारी निकायलाई हम्मेहम्मे परिरहेको छ । त्यसकारण, हामी आफैंले आफू र आफ्नो परिवारको सुरक्षा ख्याल गरेमा महामारीको अवस्था आउन नदिइ बेलैमा रोकथाम गर्न सक्छौँ ।

कोरोना भाइरस, संक्रमित व्यक्तिहरुले खोक्दा वा हाछ्युँ गर्दा निस्केका थुक र सिँगानमार्फत नजिकको स्वस्थ मानिसको शरीरभित्र प्रवेश गर्ने हुँदा जो कोहीले कम्तीमा ६ फिटको दूरी कायम राख्नु पर्दछ । यसबाहेक यो भाइरस शरीर वा सतहमा समेत रहिरहन सक्छ । हातमार्फत आँखा, नाक र मुखबाट शरीरभित्र प्रवेश गर्न पनि सक्ने भएकोले जनस्वास्थ्य विज्ञहरूले हात धुने कुरामा विशेष जोड दिँदै आएका छन् । कम्तीमा बीस सेकेन्ड साबुन पानीले मिचिमिची हात धोएमा वा स्यानिटाइजरको प्रयोग गरेमा संक्रमणको जोखिमलाई कम गर्न सकिन्छ । त्यसैगरी हातले अनुहार नछुने, भीडभाडमा नजाने, खोक्दा हाच्छ्युँ गर्दा नाक मुख छोप्ने, मास्कको प्रयोग गर्ने र व्यक्तिगत सरसफाइमा ध्यान दिने गरेमा आफू र अरूलाई पनि संक्रमण हुनबाट जोगाउन सकिन्छ ।

अहिले कोरोना भाइरसको रोकथाम र उपचार गर्ने उपायबारे विश्वव्यापी अध्ययन र छलफल चलिरहेको छ । समुदाय तथा सामाजिक सञ्जालमा थुप्रै भ्रामक जानकारीहरुको बाढी नै आइरहेको छ । द गार्डियन पत्रिकाका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वास्थ्यविद्को सिफारिसबिना हाइड्रोक्सिक्लोरोक्विन नामक औषधिले कोरोना भाइरस निको पार्छ भनेकाले एरिजोनामा एक व्यक्तिले भाइरस निको पार्न सो औषधि खाएर ज्यानै गुमाउनुपर्यो । यस्तो गम्भीर कुरामा हेल्चेक्रयाइँ गरेमा मानिसको ज्यानै जान सक्ने परिस्थिति नआउला भन्न सकिन्न । त्यसकारण सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस्ता जानकारीको सत्य, तथ्य र स्रोत बुझेर मात्रै सेयर गर्नुपर्छ ।

कोरोना भाइरसले राष्ट्र, वर्ण, जात र धर्म चिन्दैन । यसले धनी गरिब विभेद नगरी जोकसैलाई पनि संक्रमण गर्न सक्छ । तैपनि, यस महामारीको प्रत्यक्ष मारमा भने निम्न आर्थिकस्तर भएका, दैनिक ज्याला मजदुरी र साना व्यवसाय गरी खानेहरु परेका छन् । गास, बास र कपास हाम्रो नैसर्गिक अधिकार भए तापनि, गरिबीका कारण धेरैजना लकडाउनको अवस्थामा जोखिम मोलेर बेवारिस बस्न, हिँडेर सयौं किलोमिटरको दूरी पार गर्दै आफ्नो घर जान बाध्य भइरहेका छन् । गर्भवती, सुत्केरी, बालबालिका, वृद्धवृद्धा र फरक क्षमता भएका व्यक्तिहरु पनि अप्ठेरोमा पर्दैछन् । यस्तो अवस्था लम्बियो भने पोेषणको अभावमा दीर्घकालीन रुपमा व्यक्ति, समुदाय र राष्ट्रकै स्वास्थ्य, शिक्षा र आर्थिक क्षमतामा ह्रास आउने छ । देशको कूल ग्राह्यस्थ उत्पादनमा चरम असर पर्ने छ ।

धेरैले लकडाउनको घोषणा भएलगत्तै केही दिनलाई पुग्ने उपभोग्य सामान जोहो ग¥यौँ । कतिपयले फोनमार्फत डेलिभरी गर्न पनि लगायौँ । तर आपत्कालीन अवस्थामा सबैको यस्तो पहुँच कहाँ हुन्छ र ? त्यसकारण स्थानीय निकाय, समुदाय र संघसंस्था मिलेर निम्न आर्थिक अवस्था भएका श्रमजीवीको पहिचान गरेर खाद्य सामग्रीहरु सुरक्षित रुपमा उपलब्ध गराएमा भोकमरी, कुपोषण र यसले निम्त्याउन सक्ने अन्य रोगको भयानक चक्रलाई तोड्न सकिन्छ । कतिपयले त यस्तो अभियान आ–आफ्नो समुदायमा सुरु पनि गरिसक्नु भएको छ । यस्ता उल्लेखनीय कार्यहरुको प्रभावकारिता बढाउन हामी सबैले खाद्यवस्तुको उचित व्यवस्थापन गर्न जान्नु आवश्यक हुन्छ ।

आपत्‌कालीन अवस्थामा खाद्यवस्तु कसरी व्यवस्थापन गर्ने ?
लकडाउनको अवस्थामा हरेक दिन ताजा तरकारी र फलफूल उपलब्ध नहुन सक्छ । त्यसैले यस्तो बेलामा पिठो, च्यूरा, चामल र विविध गेडागुडीको सञ्चय गर्नुपर्छ किनभने यस्ता खानेकुरा छिटो बिग्रिन्न । गेडागुडीको क्वाँटी टुसा उमारेर तरकारी वा सलादको रुपमा प्र्रयोग गर्न सकिन्छ । यसबाट प्रशस्त प्रोटिन, भिटामिन, खनिज र फाइबर पाइन्छ ।

कतिपयले खाद्य राहतमा प्याकेटको चाउचाउ वा बिस्कुट बाँड्ने गरेको पाइन्छ । यस्ता पत्रु खानाले पेट भरिए पनि शरीरमा पोषण पुग्दैन । तर त्यति नै वा अझ कम खर्च लाग्ने पोषिला स्थानीय खाद्यान्न दिनु उचित हुन्छ । त्यसबाहेक राहत सामग्रीमा दाल, चामल/चिउरा/पिठो, गेडागुडी, नुन, तेल, साबुन, प्याड दिन सके अत्यन्तै राम्रो हुन्छ । यदि गर्भवती र सुत्केरी महिलाहरु छन् भने थप सातु, लिटो, चाकु, सख्खर, ज्वानो र मेथी दिनु उचित हुन्छ ।

कोरोना भाइरसले कुनै पनि उमेर समूहलाई असर गर्न सक्दछ, तर वृद्धवृद्धा र मधुमेह, मुटु र श्वासप्रश्वाससम्बन्धी रोग भएका व्यक्तिहरूमा भने संक्रमणको जोखिम झनै बढी हुन्छ । त्यसकारण राहत बाँड्दा यस्ता समूहको स्वास्थ्य तथा पोषण आवश्यकताहरूलाई उच्च प्राथमिकतामा राख्नुपर्दछ ।

खानेकुरा तथा इन्धनको अभाव हुन नदिन पोषिलो खिचडी र दूध भए खिर खान सकिन्छ । त्यसैगरी लकडाउनको बेला घरै बसिरहेको समयलाई सदुपयोग गरेर गुन्द्रुक, सिन्की र मस्यौरा पनि बनाउन सकिन्छ । यी खानेकुराहरु छिट्टै नबिग्रने हुनाले लामो समयसम्म प्रयोग गर्न मिल्छ र यसबाट पनि प्रचुर मात्रामा प्रोटिन, भिटामिन, खनिज तत्वहरु पाइन्छ ।

यी बाहेक लामोसमयसम्म टिक्ने मुला, काँक्रो, गोलभेडा, लसुन आदिको अचार पनि बनाउन सकिन्छ । यसले पेटलाई फाइदा गर्नुका साथै खानेकुरा पचाउँछ । र कहिलेकाँहीे अभाव हुँदा तिउनको रुपमा पनि काम गर्छ ।
गर्मीयाम सुरु भएकाले छिटो बिग्रन सक्ने खानेकुरालाई सुरुमा प्रयोग गर्नुपर्छ । कतिपय अवस्थामा भने खानेकुरा धेरै भएर मिल्काउनु पर्ने पनि हुन सक्छ । दूध छिटै बिग्रने भएकाले यसको व्यवस्थापन गर्न दही जमाएर वा पनिर बनाएर तरकारीको रुपमा प्रयोग गर्न सकिन्छ । धेरै माछा/मासु छ भने, त्यसलाई आगो वा घाममा सुकाएर सुकुटी बनाइ लामो समयसम्म प्रयोग गर्न सकिन्छ ।

त्यसैगरी केलाएर फ्याँकिएका तरकारी र खानेकुरालाई कुहाइ मल बनाएर त्यसलाई करेसाबारी वा गमलामा धनियाँ, पुदिना, खुर्सानी, प्याजलगायतका सागसब्जी रोप्न प्रयोग गर्दा घरैमा अर्गानिक उत्पादन गर्न सकिन्छ ।
खानेकुरा किन्दा सकेसम्म छिटो नबिग्रने छान्नुपर्छ र खाना बनाउँदा राम्ररी सफा गरी पकाउनुर्छ । तर चाहिनेभन्दा बढी समय पकाएर पौष्टिक तत्व नाश हुन भने दिनुहुन्न । यदि घरमा फ्रिज उपलब्ध भएमा बढी भएको खानेकुरा भण्डार गरी पुनः प्रयोग गर्न सकिन्छ र नभएमा खानेकुरालाई घाम नपर्ने ठाँउमा जोगाएर राख्न सकिन्छ ।

कुनै विशेष खाना खाँदैमा हामी कोरोना भाइरसबाट सुरक्षित हुन सक्ने भनेर हालसम्म कुनै पनि अध्ययनले प्रमाणित गरेको छैन । तर पर्याप्त पानी र सन्तुलित आहारले शरीरको प्रतिरक्षा प्रणालीको क्षमता बढाउँछ र रोगहरूविरूद्ध लड्न मद्दत गर्दछ । त्यसकारण दैनिक रुपमा समुदाय स्तरमा उपलब्ध हुने कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, खनिज र फाइबरहरु सबैले आफ्नो खानकीमा समावेश गरौँ ।

विशेषगरी भिटामिन ए (हरियो सागपात, पहेंलो फलफूल, गाजर, अण्डा, कलेजो), भिटामिन बी (अन्न, गेडागुडी, मासु, तरकारी), भिटामिन सी (भेडेखुर्सानी, अमला, गोलभेडा, कागती, निबुवा, अमला, भोगटे, सुन्तला), भिटामिन डी (घाम, अण्डा, माछा), भिटामिन ई (बदाम, तील, आलस) र आइरन (कर्कलो, कलेजो, सागपात, गेडागुडी, फर्सिको बियाँ), सेलेनियम (दूध, दही, माछा/मासु) तथा जिंकयुक्त (माछा/मासु, गेडागुडी) खानेकुराहरुमा जोड दिऔँ ।

यी बाहेक बेसार, अदुवा, लसुन, टिम्मुर, तेजपात, मेथी, जिरा, धनियाँ, ज्वानोलगायतका गरम मसला तथा जडिबुटीलाई पनि आहारमा समावेश गरौँ किनभने यी भिटामिन, खनिज र रोगसँग जुध्ने क्षमताले भरिपूर्ण छन् ।
आपत्कालीन परिस्थितिमा नआत्तिऔँ, नडराऔँ । सुरक्षित व्यवहार, स्वस्थ जीवनशैली र पौष्टिक आहारले हामी आफू र आफ्नाको रक्षा गर्न सक्छौं । सामाजिक दूरी कायम गर्नु परे तापनि सद्भाव र मानवताले नजिक रहौँ र मिलेर कोरोनासँग लडौँ ।

-लेखक, बीबीसी ‘ हन्ड्रेड वुमन २०१९’ विजेता युवा अभियन्ता हुन् ।

प्रकाशित : चैत्र २५, २०७६ १४:३१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×