२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

बागलुङमा विदेशबाट आएका ९ सय, क्‍वारेन्टाइनमा ४ जना मात्रै

प्रकाश बराल

बागलुङ — चैत १ गतेदेखि जिल्लामा भित्रिएका सबै मानिसको रेकर्ड स्थानीय तहले निकालेका छन् । अहिले ८ सय २३ जनाको तथ्यांक संकलन भएको छ । छिटपुट रुपमा आएर पत्ता नलागेको समेत ९ सय भएको अनुमान छ ।

बागलुङमा विदेशबाट आएका ९ सय, क्‍वारेन्टाइनमा ४ जना मात्रै

उनीहरुलाई क्वारेन्टाइनमा राख्नुपर्ने सर्वोच्च अदालतले आदेशसमेत जारी गरेको छ । तर बागलुङका सबै स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइन भने खाली छन् । उनीहरु होम क्वारेन्टाइनमा बसेको जिल्ला स्वास्थ्य कार्यालयले जनायो । ‘सबै होम क्वारेन्टाइनमा बसेको रेकर्ड मात्रै छ’ स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले भने, ‘आफू र आफ्नो परिवारको सुरक्षाका लागि उनीहरु क्वारेन्टाइन बस्नुपर्छ ।’


नवौं कोरोना संक्रमितसँगै भारतबाट आएको भनिएका चार जना युवा बरेङ गाउँपालिकाको क्वारेन्टाइनमा रहेको अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । अन्य सबैजना भने घरघरमै छन् । जिल्लाका १० वटै पालिकाले संकलन गरेको तथ्यांकमा भारतबाट ६ सय ४६ जना आएको भेटिएको हो । बाँकी तेस्रो मुलुकबाट आएका छन् । सबै पालिकामा गरी अहिले ८ सय ५ वटा क्वारेन्टाइन बनेका छन् ।


कोरोना भाइरसको संक्रमण परीक्षणको दायरा बढाउन नसक्दा क्वारेन्टाइनमा बसेकालाई सुरक्षित भए नभएको बताउन नसकिएको गुरौले बताए । स्वाब संकलन गरेर काठमाण्डौ पठाउने क्रम रोकिएको र जिल्लामा गर्ने भनिएको ‘द्रुत परीक्षण’ उपकरण नआएपछि रोकिएको छ ।


शनिबार निर्णय भएपनि मंगलबारसम्म उपकरण आएको छैन । उद्योग वाणिज्य संघ, स्थानीय तह र विभिन्न क्लबहरुले समेत सहयोग गरेर ती क्वारेन्टाइन बनेका थिए । अहिलेसम्म क्वारेन्टाइनमा बस्ने गरी कसैलाई पनि सिफारिस नगरिएपछि सबै घरघरमै बसिरहेका हुन् । लकडाउनको पहिलो दिनदेखि तेस्रो दिनसम्म सार्वजनिक संरचना, विद्यालय, युवा क्लबका भवन र केही स्वास्थ्यचौकी समेतलाई क्वारेन्टाइन बनाइएको थियो ।

प्रकाशित : चैत्र २५, २०७६ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?