कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कृषकको उत्पादन गाउँमै वितरण

सम्झना रसाइली

तनहुँ — लकडाउनका कारण कृषकहरु समस्यामा परेपछि शुक्लागण्डकी नगरपालिकाको १२ नम्बर वडाले कृषि उपज खरिद गरी गाउँमै वितरण थालेको छ।

कृषकको उत्पादन गाउँमै वितरण

‘कतै वडावासीले दूध र तरकारी खान पाएका छैनन् भने कतै खेर गइरहेको छ,' वडाध्यक्ष मनराज गुरुङले भने, ‘कृषकलाई कृषि उत्पादनमा थप हौसला र वडावासीलाई ताजा तरकारीको बन्दोबस्त गर्न लागि यो अभियान चलाइएको हो।’

वडाले चालु आर्थिक वर्षमा किसानलाई अनुदानस्वरुप विनियोजन गरेको २० लाख रुपैयाँ बजेटबाटै अभियान सञ्चालन गरेको हो। ‘वडाका किसानले उत्पादन गरेका दूध, हरियो तरकारी र अन्डा किनेर वडावासीलाई वितरण गरिएको छ,' वडाध्यक्ष गुरुङले भने, ‘प्रतिघर दैनिक आधा लिटर दूध र एक केजी तरकारी वा तीन वटा अन्डा उपलब्ध गराइएको हो।’

व्यावसायिक रुपमा उत्पादन गरिएको कृषि उपज बजार नजाँदा बिग्रने र कुहिने हुँदा वडामै यसको व्यवस्थापन गरिएको वडा कार्यालयले जनाएको छ। वडाले चैत १८ गतेदेखि खरिद गरी वडाका टोलटोल तथा घरघरमै पुगी निःशुल्क वितरण गरिरहेको हो।

प्रकाशित : चैत्र २२, २०७६ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?