संक्रमित पाँचौं युवतीको परिवारमा कोरोना देखिएन
बागलुङ — विदेशबाट आएका धनगढीका संक्रमित युवाका परिवारका एक सदस्यमा कोरोना संक्रमण देखिए पनि संक्रमित पाँचौं युवतीका परिवारका भने सबै सदस्यको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।
शुक्रबार दिउँसो सबैको रिपोर्ट आएको धौलागिरि अञ्चल अस्पतालका क्षयकुष्ठ सुपरभाइजर देवप्रकाश घिमिरेले जानकारी दिए। ‘त्रिभुवन विमानस्थलसम्म पुगेर ल्याउने आफन्तको पनि रिपोर्ट नेगेटिभ आयो,’ घिमिरेले भने। बागलुङ घर भएकी उनी चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजबाट काठमाडौं आएकी थिइन्। उनी हाल धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचार गरिरहेकी छिन्।
बिहीबार कोरोना पोजिटिभ भेटिएकी ६५ वर्षीया महिलाका परिवारको भने शुक्रबारबाट मात्र स्वाब संकलन थालिएको छ। उनीहरु दुवैजना बेल्जियमदेखि सँगै बाग्लुङ आएका थिए ।
जिल्लाबाट यसअघि नमुना परीक्षण गरिएका १२ जनामा २ जनाको पोजिटिभ र १० जनाको नेगेटिभ रिपोर्ट आएको छ। संक्रमित महिलालाई बिहीबार राति अञ्चल अस्पतालमा भर्ना गरिएको छ। यहाँ दुई वटामात्र आइसोलेसन वार्ड छन्। अन्य कक्षमा पनि आइसोलेसन बेडको व्यवस्था गरिने मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए।
अस्पतालमा भेन्टिलेटर
दुई जना कोरोना संक्रमितको उपचार भइरहेको धौलागिरी अञ्चल अस्पतालमा आईसीयू र भेन्टिलेटर थिएन। उपचारै अवरुद्ध हुन सक्ने भएपछि बिहीबार एउटा भेन्टिलेटर आइपुगेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले बताए। ‘संघीय सरकारबाट मगाएको आईसीयूसमेत अझै आएको छैन,’ उनले भने, ‘प्रदेशमार्फत बजेट पठाएको भने पनि अस्पतालको खातामा नआएकाले उपकरण खरिद र जडान गर्न पाएका छैनौं।’
अस्पतालमा विशेषज्ञसहित २३ जना डाक्टर कार्यरत छन्।
प्रकाशित : चैत्र २२, २०७६ १५:४३