स्थानीय तहका क्वारेन्टाइन खाली

आश गुरुङ

लमजुङ — कोरोना शंकास्पद व्यक्तिहरूलाई राख्न स्थानीय तहले बनाएका क्वारेन्टाइन धेरैजसो खाली पाइएका छन् । सरकारले नगरपालिकालाई एक हजार र गाउँपालिकालाई ५ सय बेडका क्वारेन्टाइन बनाउन निर्देशन दिएको थियो । सरकारको निर्देशनभन्दा कम क्वारेन्टाइन बने पनि तिनमा कोही बसेका छैनन् । 

स्थानीय तहका क्वारेन्टाइन खाली

बेंसीसहर नगरपालिकाले वडा नं. ७ सहजीस्थित सहरी विकास कार्यालयको भवनमा बनाएको ५० बेडको क्वारेन्टाइन अहिले रित्तो छ । यूएईबाट आएका २ जनालाई केही दिन राखिएकोमा कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनीहरूले क्वारेन्टाइन छाडेको बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले बताए । उनका अनुसार नगरपालिकाभित्र १ सय ६० बेडका क्वारेन्टाइन बनाइएका छन् ।

वडा नं. २ भकुन्डेको बालकल्याण मावि क्वारेन्टाइनमा ७ जना भारतीय र ३ जना भुटानी छन् । ‘हामी खोजिरहेका छौं, मान्छे नै भेटिएको छैन । केही फर्किएका पनि छन्,’ उनले भने, ‘केन्द्र सरकारले एक हजार बेड बनाऊ भनेकोमा अहिले १ सय ६० बेडमा राख्ने मान्छे पनि पाइएको छैन ।’


क्व्होलासोंथर गाउँपालिका–१ बागलुङपानीमा ४० बेडको क्वारेन्टाइन बनेकोमा त्यसहाँ बसेका ७ जना घर फर्किएपछि अहिले खाली छ । क्व्होलासोंथरका प्रमुख प्रशासकीय अधिकृत पीताम्बर सारूका अनुसार गाउँपालिकाभरि ४ सय ४४ क्वारेन्टाइन छन् । क्वारेन्टाइनमा २० जना बसेका छन् । ७ जना शुक्रबार मात्रै थपिएका हुन् । क्वारेन्टाइनमा बसेकामध्ये ४३ जना १४ दिन पूरा गरी घर फर्के । बिहीबार मात्रै ३० जना घर फर्किएका थिए । उनीहरू खाडी मुलुक र भारतबाट गाउँ आएका र तिनका परिवार हुन् । ९ वटा वडामध्ये १, २, ४, ५ र ६ नम्बरका क्वारेन्टाइन खाली छन् ।


क्विक रेस्पोन्स टिम (क्युआरटी) जिल्ला संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीका अनुसार ४ नगरपालिका र ४ गाउँपालिकामा ९ सय ४० बेड बनाइएका छन् । शुक्रबारको तथ्यांक अनुसार क्वारेन्टाइनमा बस्नेको संख्या ४८ जना छ । बेंसीसहर नगरपालिकामा १ सय ६० बेड रहेकोमा १० जना बसेका छन् । मध्यनेपाल नगरपालिकामा ४० बेड रहेकामा ३ जना छन् । राइनास नगरपालिकामा ६० बेड निर्माण गरिएकोमा एक जना पनि छैनन् । सुन्दरबजार नगरपालिकाका १ सय ३४ बेड पनि रित्तै छन् । मर्स्याङ्दी गाउँपालिकामा ६० बेडमा १४ जना छन् । क्व्होलासोंथरमा ४ सय ४४ बेडमा २० जना छन् । दोर्दीमा १४ बेडमा एक जना पनि छैनन् । दूधपोखरीमा २८ बेड बनाइएकोमा एक जना क्वारेन्टाइनमा छन् ।

प्रकाशित : चैत्र २२, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?