कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

व्यास नगरपालिकाको एक करोड राहत कोष

सम्झना रसाइली

तनहुँ — कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथामका लागि जिल्लाको व्यास नगरपालिकाले एक करोड रुपैयाँ बराबरको राहत कोष खडा गरेको छ । राहत तथा औषधि उपचारका लागि यस अघि २५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । 

व्यास नगरपालिकाको एक करोड राहत कोष

नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा शुक्रबार बसेको कार्यपालिकाको बैठकले उक्त कोषमा थप ७५ लाख रुपैयाँ विनियोजन गरी एक करोड रुपैयाँको राहत कोष खडा गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता एवं व्यास–५ का वडाअध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी गराए ।


उक्त बैठकमा नगरपालिकाको वडागत रुपमा संकलित श्रमिक कृषि मजदुर, असाहाय एवं आश्रमहरुमा आश्रित लगायत गरी करिब ३ हजार ५ सय घरपरिवारलाई राहत वितरण गर्ने बैठकले निर्णय गरेको छ । नगरपालिकाले राहत स्वरुप चामल, दाल, तेल र साबुन लगायतका खाद्यवस्तु वितरण गर्ने प्रवक्ता श्रेष्ठले जानकारी गराए ।


यस्तै, नगरपालिकामा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकमी, सरसफाई र सवारी चालकहरुको लकडाउनका अवसरमा प्रदान गरेको सेवालाई मध्यनजर गर्दै सुरु तलब मानमा ५० प्रतिशन थप प्रोत्साहन भत्ता उपलब्ध गराउने बैठकले निर्णय गरेको छ ।


शुक्लागण्डकी नगरपालिकामा ६० लाख रुपैयाँको कोष

जिल्लाको शुक्लागण्डकी नगरपालिकाले कोभिड–१९ को जोखिम नियन्त्रण र राहत सामग्री व्यवस्थापनका लागि ६० लाख रुपैयाँको कोष खडा गरेको छ । कार्यपालिकाको बैठकले प्रकोप व्यवस्थापन कोष खडा गरेर ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।


संक्रमण नियन्त्रणका लागि आवश्यक सामग्री खरिद, सचेतना, राहत वितरणलगायत लागि कोष बनाइएको नगरप्रमुख किसान गुरुङले जानकारी गराए । नगरपालिकाले विभिन्न व्यक्ति तथा संघसंस्थालाई आफूखुसी राहत वितरणमा रोक लगाएको छ । त्यस्ता व्यक्ति तथा संघसंस्थाले नगरपालिकासँग सहकार्य गरेर मात्रै राहत वितरण गर्न सकिने व्यवस्था मिलाइएको नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले बताए ।


यस्तै, नगरपालिकाले भाडामा लगाएको व्यावसायिक सटरको चैत महिनाको शुल्क छुट दिने निर्णयसमेत गरेको छ । नगरपालिकाले खैरेनीटार बजारमा ३५ सटर भाडामा लगाएको छ । नगरपालिकाको यो निर्णयअनुसार दुई लाख ८० हजार रुपैयाँ छुट भएको छ । नगरपालिकाले ज्याला मजदुरीको भरमा जीवन निर्वाह गरेका विपन्न वर्गलाई राहत वितरण गर्न नगरप्रमुख गुरुङको संयोजकत्वमा आपूर्ति समितिसमेत गठन गरेको छ ।


म्याग्दे गाउँपालिकामा पनि २५ लाख रुपैयाँको कोष

म्याग्दे गाउँपालिकाले विपद् व्यवस्थापन कोषमा २५ लाख रुपैयाँ विनियोजन गरेको छ । आवश्यक सामग्री खरिद, राहत वितरण लगायतका लागि उक्त कोष निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन् ।


यस्तै, जिल्लाका अन्य स्थानीय तहले पनि कोभिड–१९ संक्रमण फैलन नदिनका लागि विपद् व्यवस्थापन कोष खडा गरी कार्यक्रम अगाडि बढाएका छन् भने दैनिक मजदुरी गरी जिविकोपार्जन गर्ने वर्गको पहिचान गरी एकद्वार प्रणालीबाट राहत वितरण समेत गर्न थालेका छन् ।

प्रकाशित : चैत्र २१, २०७६ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?