छैटौं कोरोना पोजिटिभ : बेल्जियममा छोरी भेटेर बाग्लुङ फर्केकी थिइन्

पाँचौं र छैटौं संक्रमित बेल्जियमदेखि बाग्लुङसम्म थिए सँगै
प्रकाश बराल

बागलुङ — चैत ४ गते क्यु आर ६५२ नम्बरको जहाजमा सवार बागलुङकी अर्की महिलामा कोरोना भाइरस पोजेटिभ भेटिएको छ । बागलुङ नगरपालिका वडा नं. ३ की उनी ६५ वर्षकी हुन् ।

उनी बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन् । विदेशमा रहेका छोरीज्वाइ भेट्न गएकी थिइन् । छोरी ज्वाई भेट्नेक्रममै कान्छो छोरालाई विदेशमा छाडेर उनी फर्केकी थिइन् । उनले दुई साता मात्र विदेशमा बिताएको छिमेकीले बताए ।

बेल्जियमदेखि सँगै उडेका बागलुङकै अर्की संक्रमित (पाँचौं) र उनी एउटै फ्लाइटमा काठमाडौंबाट पोखरा आएका थिए । पोखराबाट पनि एउटै जीपमा बाग्लुङ आएका थिए । युवती र महिलालाई लिन गएका स्थानीय नातेदारको पनि स्वाब परीक्षणका लागि पठाइएको छ ।

फर्केपछि उनले कोरोना भाइरसबारे कुनै चासो राखेकी थिइनन् । उनले विदेशबाट ल्याएको चकलेट छिमेकीलाई बाँडेकी थिइन् । पाँचौ संक्रमितको पोजिटिभ रिपोर्ट आएपछि मात्र उनी क्वारेन्टाइनमा बसेकी हुन् । लकडाउन सुरु भएपछि उनमा ज्वरो र खोकीको लक्षण देखिएको थियो । उक्त लक्षणपछि उनको स्वाब परीक्षणका लागि ल्याइएको थियो । अहिलेसम्म उनी घरमै छिन् । ‘बजार घुम्न त जानु भएन, तर गाउँमा धेरैलाई भेट्नुभयो,’ छिमेकीले भने, ‘हामीलाई पनि थाहा भएन, उहाँले पनि सामान्य दिनचर्या गरिरहनुभएको थियो ।’

उनको घरमा ससुरा, कान्छी बुहारी र दुई नाती छन् । उनको कोरोना पोजेटिभ प्रमाणित भएपछि यो गाउँ नै त्रसित भएको छ । उनीसँग नजिकको व्यवहार गरेकाहरुको खोजी भइरहेको प्रहरी उपरीक्षक नवराज भट्टले बताए ।

‘तत्कालका लागि धौलागिरी अञ्चल अस्पतालमा उपचार गराउने तयारी छ,’ भट्टले भने, ‘त्रसित नहुन तर सचेत बन्न सबैलाई आग्रह गरेका छौं ।’ अस्पताल व्यवस्थापन समिति र मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले अस्पतालमा तत्काल सघन उपचार कक्ष संचालनका लागि माग गरेको बताए ।

‘बिरामीमा जटिल समस्या आयो भने उपचार गर्न समस्या छ,’ पोखरेलले भने, ‘दक्ष जनशक्तिको व्यवस्था छ तर आईसीयूका उपकरणहरु छैनन् ।’ तत्कालीन जिल्ला अस्पताल बढुवा भएर अञ्चल भएपछि यहाँ बिशेषज्ञ सेवा थपिएको छ । तर सघन उपचारकक्ष भने छैन ।

अस्पतालमा पर्याप्त पीपीई पनि छैन । ‘एकजना संक्रमित देखिने बित्तिकै दर्जनौंलाई परीक्षण गर्नुपर्छ,’ पोखरेलले भने, ‘पीपीई थपिहाल्नुपर्ने अवस्था छ ।’ अस्पतालमा यसअघि पोजिटिभ भेटिएकी एक युवती पनि उपचारमा रहेकी छन् । उनको भने स्वास्थ्य अवस्था सुधार भइरहेको छ । अस्पतालमा हाल दुईवटा मात्र आइसोलेसन कक्ष छ । उक्त कक्ष बढाएर सेवा थप गर्न अस्पताल व्यवस्थापनले तयारी गरेको अध्यक्ष केबी राना मगरले बताए ।

प्रकाशित : चैत्र २०, २०७६ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?