क्‍वारेन्टाइनमा बस्नेहरु धमाधम घर फर्किंदै

चारवटा स्थानीय तहबाट ५६ जना घरफिर्ता
आश गुरुङ

लमजुङ — घरमा बसेको समेत गरी १४ दिन क्वारेन्टाइनमा बिताएकाहरु स्वास्थ्य परीक्षणपछि धमाधम घर फर्किन थालेका छन् । कोरोना (कोभिड १९) संक्रमित मुलुक र भारतबाट आएकाहरु जोखिममा रहेको भन्दै उनीहरुलाई राख्न स्थानीय तहले क्वारेन्टाइन बनाएको थियो । 

क्‍वारेन्टाइनमा बस्नेहरु धमाधम घर फर्किंदै

विदेशबाट आएर पनि घर गएकाहरुलाई खोजी खोजी ल्याएर परिवारलाई समेत क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनको समयअवधि (घरमा बसेका समेत गरी) १४ दिन पूरा भएपछि विदेशबाट आएकाहरु परिवारका साथ घर फर्केको क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले बताए ।


लमजुङका ८ वटा स्थानीय तहमध्ये ४ वटा स्थानीय तहमा बसेका ५६ जना घर फर्केका छन् । यसअघि स्वास्थ्य जाँच गराएर क्वारेन्टाइनमा बसाएकाहरुलाई पुनः स्वास्थ्य परीक्षण गरी घर फर्काइएको हो ।


प्रमुख जिल्ला अधिकारी लक्षमणबहादुर खड्काका अनुसार चैत ६ गते यूएईको शारजाहबाट धादिङका कोरोना संक्रमित युवकसंगै एयर अरेबियाको जी ९५३७ को फ्लाइटमा आएकामध्ये ३ जनाको स्वाब परीक्षण गर्दा ‘नेगेटिभ’ देखिएपछि यी तिनैजना र उनका परिवारसमेत घर फर्केका छन् ।


क्व्होलासोंथर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारुका अनुसार गाउँपालिकाभर क्वारेन्टाइनमा बसेकामध्ये ४३ जना क्वारेन्टाइनमा बस्नुपर्ने अवधि १४ दिन पूरा गरी घर फर्केका छन् । बिहीबारमात्रै ३० जना घर फर्किएको र यसअघि बुधबार ८ जना र मंगलबार ५ जना घर फर्किएको उनले बताए ।


बिहीबार क्व्होलासोंथर ९, टक्सारको थल्जुकन्या आधारभूत विद्यालयमा दुबईबाट आएर क्वारेन्टाइन बसेका लोकबहादुर विकसहितको ८ जनाको परिवार घर फर्केको उनले बताए । ४ सय ४४ वेडको क्वारेन्टाइन निर्माण गरिएको क्व्होलासोंथरमा अब १३ जनामात्रै क्वारेन्टाइनमा छन् ।


बेंसीसहर नगरपालिकाभित्र निर्माण गरिएका क्वारेन्टाइनबाट ६ जना घर फर्किएको नगरप्रमुख गुमानसिंह अर्यालले बताए । सहजीस्थित सहरी विकास कार्यालयको भवनमा बसेका २ जना १४ दिन पूरा गरी घर फर्केका छन् । बेंसीसहर नगरपालिकाले १ सय ६० बेड क्षमताको क्वारेन्टाइन बनाएकोमा क्वारेन्टाइनमा बस्नेको संख्या १० जना रहेको छ ।


मध्यनेपाल नगरपालिकाबाट ५ जना क्वारेन्टाइनबाट फर्केका छन् । नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेका अनुसार क्वारेन्टाइनमा बस्नुपर्ने समय पूरा भएपछि स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गराएर उनीहरुलाई घर पठाइएको हो । मध्यनेपाल ७ को इशानेश्वर क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा बसेका ५ जना बाहिरिएका छन् । उनीहरु भारतबाट आएका स्थानीय हुन् । क्वारेन्टाइनमा अब ५ जना रहेको उनले बताए । नगरपालिकाले विभिन्न वडामा गरेर ४० बेडको क्वारेन्टाइन बनाएको छ ।


मर्स्याङदी गाउापालिका ६ को चन्द्रोदय मावि बाहुनडााडामा बनाइएको क्वारेन्टाइनमा बसेका २ जना घर फर्केका छन् । भारतबाट आएका उनीहरुको क्वारेन्टाइन बस्नुपर्ने समय सकिएपछि घर फिर्ता भएको गाउापालिका अध्यक्ष अध्यक्ष अर्जुन गुरुङले बताए । गाउापालिकाले ६९ बेड क्षमताको क्वारेन्टाइन बनाएकोमा अहिले १८ जना क्वारेन्टाइनमा छन् ।


क्वीक रेस्पोन्स टीम (क्युआरटी) का संयोजक सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीका अनुसार घर आएको समयसमेत गरी १४ दिन क्वारेन्टाइन पुगेकाहरुलाई स्थानीय तहले स्वास्थ्य जााच गराएर घर फर्किने वातावरण बनाएको छ ।

प्रकाशित : चैत्र २०, २०७६ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?