२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

क्‍वारेन्टाइनमा राख्‍नै मुस्किल, ३६१ शय्याको क्‍वारेन्टाइनमा ६ जना मात्रै

अगन्धर तिवारी

(पर्वत) — कोभिड–१९ को सम्भावित जोखिम रोक्न विदेश वा लामो यात्राबाट आएकाहरूलाई दुई साता छुट्टै राख्नलाई पर्वतमा बनाइएका क्‍वारेन्टाइन कक्ष रित्तै छन् ।

जिल्ला प्रशासन र स्थानीय तहका अनुसार चैत पहिलो सातायता कोभिड–१९ ले संक्रमित देशहरूबाट मात्रै फर्किएकाहरूको संख्या साढे दुई सयभन्दा बढी छ । अन्य जिल्लाबाट आउनेहरूको संख्या यकिन छैन ।


जोखिमयुक्त मुलुक र लामो यात्राबाट गाउँ आएकालाई अलग्गै राख्न सबैजसो स्थानीय तहले क्‍वारेन्टाइन कक्ष बनाएका छन् । जिल्लामा हालसम्म ३ सय ६१ शय्याका क्‍वारेन्टाइन बनिसकेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीका अनुसार कुश्मा नगरपालिकाले सबैभन्दा पहिला ३१ शय्याको क्‍वारेन्टाइन निर्माण गरेको थियो । लगत्तै अन्य स्थानीय तहले क्‍वारेन्टाइन बनाए । फलेबास नगरपालिकाले सबैभन्दा धेरै दुई सय १२ शय्याको क्‍वारेन्टाइन बनाएको छ ।


जलजलामा २८, मोदी र महाशिलामा छ–छ, पैयुँमा १८ र बिहादीमा ६० शय्याको क्‍वारेन्टाइन निर्माण गरिएको छ । जिल्लाभर क्‍वारेन्टाइनमा बस्नेहरूको संख्या भने जम्मा छ मात्रै छ ।


कुश्माका नगरप्रमुख रामचन्द्र जोशीले क्‍वारेन्टाइनमा बसेपछि मिडियामा समाचार आउँछ भनेर कोही नमानेको बताए । ‘कतिले त क्‍वारेन्टाइनमा जानेबित्तिकै कोरोना हुने डरसमेत फैल्याएका छन् । हामीले चार जना राखेको थियौं । ती पनि आज (बुधबार) घर जाँदै छन् ।’ उनका अनुसार नगरपालिकामा बढी संक्रमण भएका देशहरूबाट फर्किएकाहरूको संख्या ३६ छ ।


दुई सय १२ शय्याको क्‍वारेन्टाइन बनाइएको फलेबासमा अहिलेसम्म कोही बसेका छैनन् । त्यहाँ ६७ जना संक्रमण बढी फैलिएको देशबाट फर्किएका छन् । ‘लकडाउन भएयता कोही बाहिरबाट आएका छैनन् । त्यसअघि फर्किएका सबैको स्वास्थ्य अवस्था ठीक छ,’ नगरप्रमुख पदमपाणी शर्माले भने, ‘अब आउनेलाई राख्छौं ।’


महाशिलाका प्रशासकीय अधिकृत बुद्धिराम शर्माले क्‍वारेन्टाइनको अवधारणा ढिला गरी आएकाले कसैलाई राख्न नसकिएको बताए ।


सरकारले क्‍वारेन्टाइन सञ्चालनको मापदण्ड सहितको निर्देशिका जारी गरेपछि कतिपय स्थानीय तहमा मापदण्डविपरीत भएको भन्दै स्थगन गर्न प्रशासनले निर्देशन दिएको छ । अनुगमनका क्रममा जलजलाका छ स्वास्थ्य चौकीमा बनेका १२ शय्याको क्‍वारेन्टाइन कक्षको मापदण्ड नपुगेको भन्दै स्थगन गरिएको छ । ‘हामी अनुगमनकै क्रममा छौं,’ प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले भनिन्, ‘निर्देशिका बमोजिमको मापदण्ड नपुगेकालाई रोक्छौं ।’


कुश्मामा सञ्चालित २० शय्याको आइसोलेसन अस्पतालको व्यवस्थापना सबै पालिकाको सहयोगमा र स्थानीय तहमा सञ्चालित क्‍वारेन्टाइन कक्षको व्यवस्थापन तथा सञ्चालन सम्बन्धित स्थानीय तहले गर्ने निर्णय भएको छ ।

प्रकाशित : चैत्र १९, २०७६ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?