म्याग्दीमा ११० जना क्‍वारेन्टाइनमा

घनश्याम खडका,

(म्याग्दी) — छिमेकी जिल्ला बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभीड–१९) को संक्रमण पुष्टि भएपछि म्याग्दीमा थप त्रास बढेको छ ।



नेपालमा हालसम्म पत्ता लागेका पाँचै जना कोरोना संक्रमित विदेशबाट आएका रहेको प्रमाणित भएपछि यहाँ १५ दिनको बीचमा विदेशबाट घर फर्केकाहरुको पहिचान गरी बेनीमा स्थापना गरिएको क्वारेन्टाइन कक्षमा राखिएको छ ।

स्थानीय तहले संकलन गरेको तथ्यांकअनुसार विदेशबाट उक्त अवधिमा घर फर्किएका एक सय १० जनालाई ‘होम क्वारेन्टाइन’ मा मात्र राख्नु जोखिम हुने ठहर गरी सदरमुकामकै क्वारेन्टाइन कक्षमा राखिएको हो । शनिबार साँझसम्म क्वारेन्टाइनमा राखिएका सबैको श्वास्थ्य अवस्था सामान्य रहेको छ ।

‘विदेशबाट फर्केपछि स्वास्थ्य अवस्था ठिक भए होम क्वारेन्टाइनमा बस्न भनेका थियौं तर विदेशबाट फर्केकाहरुमा कोरना संक्रमणको जोखिम बढी रहेको पायौं । त्यसैले सबैलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णय गरेका हौं,’ प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले भने, ‘शनिबार आफैं क्वारेन्टाइनमा बस्न अनिच्छुकलाई आइतबार प्रहरी घरमै पुगेर ल्याएका हौं ।’

सदरमुकामस्थित बेनी अस्पतालमा समेत जिल्लाका सबै ६ स्थानीय तहमा एक–एक वटा क्वारेन्टाइन केन्द्र स्थापना गरिएको छ । त्यसैगरी, सम्भावित लक्षण देखिएका बिरामीलाई राख्न मालिका गाउँपालिकाको दरवाङ्ग र सदरमुकाम बेनीमा ६/६ बेड क्षमताको विशेष आइसोलेसन कक्ष स्थापना गरिएको छ ।

क्वारेन्टाइनमा राखिएका व्यक्तिमा कोरना भाइरस संक्रमणको लक्षण देखिए आइसोलेसन कक्षमा राख्ने, बिरामीको स्वाब परीक्षणका लागि पठाउने र संक्रमण पुष्टि भएमा बेनी अस्पतालमा तीन दिन उपचार गर्ने, त्यतिबेलासम्म स्वास्थ्यमा सुधार नभए पोखरा रिफर गर्ने योजना बनाइएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए ।

यसैबीच, ‘लकडाउन’ को कारण दैनिक ज्यालामजदुरी गर्नेको जीवनयापनमा परेको प्रभाव अध्ययन गरी खाद्यान्न सहयोग गर्न जिल्ला समन्वय समितिको नेतृत्वमा खाद्यान्न व्यवस्थापन कोष स्थापना गरिएको छ । म्याग्दी प्रशासनले भने जिल्लामा अझै एक महिनालाई पुग्ने खाद्यान्न, एलपी ग्यास, पेट्रोलियम पदार्थ मौज्दात रहेको जनाएको छ ।


प्रकाशित : चैत्र १६, २०७६ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?