गोरखा बजारमा ‘डिस–इन्फेक्टेन्ट’ छर्कियो
(गोरखा) — गोरखा नगरपालिकाले बजार क्षेत्रमा ‘डिस–इन्फेक्टेन्ट’ (क्लोरिन र पानीको घोल) छर्न थालेको छ । कोरोना भाइरस (कोभीड–१९) को सम्भावित जोखिम न्यूनीकरणका लागि खोलखोले, हरमटारी, बसपार्कलगायत क्षेत्रमा किटनाशक औषधि छर्किएको हो ।
शनिबार दिउँसो ३ बजेबाट ६ बजेसम्म औषधि छर्किएको गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले बताए । दुई हजार लिटर पानीमा क्लोरिन झोल राखेर बजार क्षेत्रमा छर्किएको हो । ‘आज बजार क्षेत्रमा छर्कियौँ, नगरका अन्य क्षेत्रमा पनि औषधि छकर्ने कार्यलाई निरन्तरता दिन्छौँ,’ पन्तले भने ।
औषधि छर्ने समयमा पूर्णरुपमा घरभित्र बस्न तथा खाद्य सामाग्री र लत्ताकपडा सुरक्षित राख्न पनि नगरवासीलाई नगरपालिकाले अनुरोध गरेको छ । किटनाशक औषधिले व्याक्टेरिया र भाइरस मर्ने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले दाबी गरे । ‘कोरना संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखेर रोकथामका लागी औषधि छर्किएका हौं,’ उनले भने ।