कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

पीपीई बनाउन ३३ महिला सक्रिय

प्रतीक्षा काफ्ले

(गण्डकी) — कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएका तथा शंकास्पद बिरामीको उपचारमा स्वास्थ्यकर्मीले लगाउनुपर्ने व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) को देशभरमै अभाव छ ।

पीपीई बनाउन ३३ महिला सक्रिय

प्रदेश र स्थानीय सरकारले संघीय सरकारसँग पीपीई, किट, मास्क, सेनिटाइजरलगायत सामाग्रीको माग गरेका छन् । तर, सरकारले उल्लेख्य मात्रा यस्ता सामग्री उपलब्ध गराउन सकेको छैन ।


हाल तीनवटै सरकारले पीपीई, मास्क, सेनिटाइजरको व्यवस्थापनसँगै क्वारेन्टाइन र आइसोलेसन कक्ष निर्माणलाई जोड दिइरहेका छन् । जसका लागि स्थानीय स्तरमै स्वास्थ्य सामग्री उत्पादन गर्ने क्रम समेत चलेको छ । यसैबीच पोखरा महानगरपालिका–५ का महिलाले आफैंले सिलाएर पीपीई तयार गरेका छन् । यसअघि मास्क बनाएर वितरण गरेका उनीहरुले पछिल्लो आवश्यकता हेरि पीपीई बनाएको बताएका छन् ।


हाम्रो रचनात्मक गार्मेन्ट उद्योगका महिलाहरुले लकडाउनका समयमा पनि घरमै सुरक्षित रहँदै सामूहिक रुपमा पीपीई बनाएको बताएका छन् । उद्योगकी संयोजक एवं वडा सदस्यसमेत रहेकी अन्जु क्षेत्रीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले महिला उद्यमीले बनाएको पीपीईको परीक्षण गरेको बताइन् । आचार्यले उद्योगबाट उत्पादित पीपीई प्रयोगको लागि उपयुक्त रहेको बताएका उनको भनाइ छ ।


सामान्यतया स्थानीय स्तरमा पीपीई बनाउँदा सिलाइएको भागबाट हावा छिर्ने भएकोले यस्ता पीपीई पूर्णरुपमा सुरक्षित नहुने चिकित्सकहरु बताउँछन् । तर, आवश्यक परीक्षणपछि चिकित्सकको सल्लाहमा नै थप पीपीई बनाउने क्रममा रहेको उद्योगकी संयोजक क्षेत्री बताउँछिन् । ‘डा आचार्यले अस्पतालका लागि एक हजार वटा पीपीई अर्डरसमेत गर्नुभएको छ,’ उनले भनिन्, ‘यसअघि हामीले बनाएका ६ सय थान मास्क सोही अस्पतालले किनेको थियो ।’


उनका अनुसार उद्योगबाट उत्पादित मास्क पोखराकै फेवासिटी अस्पताल र रुपा गाउँपालिकाको क्वारेन्टाइनमा बस्नेका लागि उपलब्ध गराइसकिएको छ । ‘संकटको बेला सानो सहयोग गरेका हौं । कोरोनाको संकट रहेसम्म यसरी नै नागरिक हुनुको दायित्व निभाउनेछौं,’ उनले प्रतिबद्धता जनाइन् ।


३३ जना महिलाको सक्रियतामा उक्त उद्योग सञ्चालनमा छ । उद्योगको प्रत्यक्ष रेखदेख भने वडा कार्यालयले गर्ने गरेको छ ।

प्रकाशित : चैत्र १५, २०७६ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?