लमजुङका अस्पतालमा ओपीडी सेवा ठप्प, बिरामीको संख्या घट्यो

ओपीडी सेवा ठप्प
आश गुरुङ

लमजुङ — कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढेपछि अस्पतालमा प्रवेश कडाई गरिएको छ । सरकारले लकडाउन गरेपछि अस्पताल आउने बिरामीको संख्या हृवात्तै घटेको छ । 

लमजुङका अस्पतालमा ओपीडी सेवा ठप्प, बिरामीको संख्या घट्यो

नियमित सेवा दिँदै आएका अस्पतालले ओपीडी सेवा बन्द गरेको छन् । हातखुट्टा भाँचिएका, अस्पताल भर्ना नै गर्नुपर्ने लगायतका बिरामी इमरजेन्सीमा गएर भर्ना भएका छन् । अस्पताल कडाइ गरेपछि बिरामी आएका छैनन् । प्रसूति सेवा खुला छ । चिकित्सकहरुले ओपीडी बाहिरबाटै सेवा दिइरहेका छन् । अस्पताल सुनसान बनेको छ ।


लमजुङ जिल्ला सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार इमरजेन्सीबाहेकका कसैलाई पनि अस्पताल भित्रन दिइएको छैन । गेटमा साबुनपानीले हात धुने र थर्मगनमार्फत ज्वरो नाप्‍ने गरिएको छ । स्यानिटाइजर प्रयोग गरेपछिमात्रै भित्र प्रवेश दिइएको छ ।


गेटबाटै डाक्टरले परामर्श दिन थालेका छन् । अस्पताल क्षेत्रमा हुलमुल नगर्न माइकिङ समेत गरिएको छ । कुनै समय ३ सय बढी बिरामी आउने अस्पतालमा अहिले २० जनाको हाराहारीमा विरामी भर्ना छन् । रुघाखोकी, ज्वरो, हाडजोर्नीका विरामी छन् । अत्यावश्यकबाहेकका कोही पनि नआउन अस्पतालले सूचना जारी गरेको छ ।


लमजुङ मोडेल अस्पतालमा भने बिरामी भर्ना गरिएको छैन । यसअघि दैनिक ४०/५० जनासम्म हुने अस्पतालमा अहिले इमरेजेन्सीमा ६/७ जना आउने गर्छन् । ओपीडी, वार्ड बन्द गरिएको छ । अस्पतालका निर्देशक डा. तिलक घिमिरेका अनुसार ज्वरो, रुघाखोकी र चोटपटक लागेका केही बिरामी आएपनि परीक्षण गरी औषधि दिएर पठाउने गरिएको उनले बताए ।


लमजुङका अन्य ठाउँमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थामा पनि बिरामी आउन छोडेका छन् । बेंसीसहरको बेंसीसहर हस्पिटल, सुन्दरबजारको सुन्दरबजार अस्पताल, नमुना सामुदायिक अस्पताल, कर्मदा अस्पताल, चन्द्रेश्वर प्राथामिक स्वास्थ्य केन्द्र, राइनासको सहोदर अस्पताल, दूधपोखरीको गौंडा प्राथामिक स्वास्थ्य केन्द्र, मध्यनेपाललगायत ठाउामा रहेका अस्पतालमा अहिले ओपीडी सेवा बन्द गरिएको छ । केही बिरामी आएपनि स्वास्थ्य जाँच गरी उनीहरुलाई घर पठाइएको छ ।

प्रकाशित : चैत्र १४, २०७६ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?