कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

गाउँ फर्केकाहरु कृषिकर्ममा

प्रतीक्षा काफ्ले

(स्याङ्जा) — स्याङ्जाको बिरुवा गाउँपालिका–६ चिन्नेबासका देवेन्द्र लम्साल यतिबेला घरको काममा व्यस्त देखिन्छन् । उनी पेसाले व्यवसायी हुन् । पोखरामा व्यवसायी गर्दै आएका उनी कोरोना भाइरस संक्रमणबाट जोगिन गाउँ गएका हुन् ।

गाउँ फर्केकाहरु कृषिकर्ममा

मुलुक लकडाउन भएपछि पेसा, व्यवसाय बन्द गरेर गाउँ आएका उनी दिनभरी घरमा बस्दैनन् । भन्छन्, ‘घर गाउँ आएको छु । कोरोनाबाट बच्न, सचेतना फैलाउनु र कसैलाई विपत्ति परे सघाउनु छ । अनि लकडाउन अवधिभर आफ्नो बाँझो जमिनलाई खनजोत गरी सिंगार्नु र खेतीयोग्य बनाउनु छ । भोलि कसलाई थाहा छ र ?’ उनले समयको सदुपयोग गर्दै गाउँ आएको बेला बाँझो रहेको जमिनमा खेती लगाउने काम सम्पन्न गर्ने योजना रहेको सुनाए ।


विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन सहरबाट गाउँ फिर्नेको संख्या बढ्दो छ । वर्षमा एकपटक मात्र दसैंमा चहलपहल हुने गाउँ अहिले बढी रमाइलो देखिएको छ । कतिपय बाँझो रहेका गाउँ खेतीको लागि परिणत भएका छन् । गल्याङ नगरपालिका–३ का भुपराज बस्याल पनि यतिबेला घरको काममा व्यक्त छन् । लकडाउनपछि घर आएका उनी यही बेला समयको सदुपयोग गर्दै घरका बाँकी काम सक्नुपर्ने बताउँछन् । यो मकै छर्ने, चैते धान रोप्न समय हो । सहर सुनसान भए पनि गाउँ चहलपहल छ ।


यसो त, गाउँ फर्किने क्‍वारेन्टाइन भन्दै कोठाभित्र मात्रै पनि बसेका छैनन् । बजार र राजमार्ग आसपासका बासिन्दालाई प्रहरी स्वयम्‌ले घरभित्र नै बस्न आग्रह गर्दै हिँडेको छ । तर, गाउँघरका बासिन्दालाई भने चैते धान रोप्ने चटारो छ । छोराछोरी घर फर्किएको बेला घरको काम सक्ने मौका छोपेर बाआमा बसेको बताउँछन् गल्याङका बस्याल ।


पारिवारिक जम्काभेट अनि घरायसी कामले पनि गाउँमा चहलपहल बढाएको बस्यालको भनाइ छ । ‘काम गर्दा पनि सचेत भएर परिवारका सदस्यले मात्र गरेका छौं’ उनले भने, ‘खेतीपाती लगाउँदा पनि बाहिरी मान्छे खोजेका छैनौं । फैलिँदै गरेको कोरोना भाइरसबाट पनि जोगिनुपर्छ भनेर सचेतपूर्वक काम गरिएको छ ।’ उनले ३ दिनको बसाईमा पनि घरका बाँकी काम गरिएको बताए ।


पुतलीबजार नगरपालिका–८ कोल्माका डिलकुमार भुजेलले पनि गाउँमा काममै व्यस्त रहेको बताए । भन्छन्, ‘चामल सकिन थाले गाउँतिर तरुल खन्ने, तरकारी लगाउने, गाउँमा सचेतना जगाउने गरेर दिन बितेको छ ।’

प्रकाशित : चैत्र १३, २०७६ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?