पुर्वी नवलपरासी ठप्प
नवलपरासी — कोभिड– १९ संक्रमणबाट जोगाउन घोषणा गरिएको लकडाउनको तेस्रो दिन पुर्वी नवलपरासीको जनजीवन ठप्प छ । सँधै सवारी साधानको चाप हुने पूर्व–पश्चिम राजमार्ग र बजारहरु चकमन्न छन् ।
सर्वसाधारण घरबाट निस्किएका छैनन् ।
प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले सर्वसाधारणलाई घरमै रहन प्रहरीले बिहान ५ बजेबाट माइकिङ गरेको र एफएमबाट समेत त्यस्तै सूचना प्रसारण गरिएकोले स्थानीयहरु बाहिर ननिस्केर ठूलो सहयोग गरेको बताए । घरबाहिर निस्किनेलाई पनि राजमार्गमा खटिएका प्रहरीले घर फर्काइदिने गरेका छन् । भित्रि चोकमा समेत मास्क र हातमा पन्जा लगाएका सुरक्षाकर्मी खटिएका छन् ।
औषधि पसल र खाद्यान्न पसलमा मोबाइल नम्बर र टेफिफोन बाहिर टाँस्न अनिवार्य गरिएको छ । प्रशासनले एम्बुलेन्सबाहेक कुनै पनि सवारीसाधन सडकमा देखिए प्रहरीलाई नियन्त्रणमा लिन आदेश गरेको छ । हाटबजार बन्द गरिएको छ । पैदल हिँडनसमेत प्रतिबन्ध लगाइएका कारण सर्वसाधारण घरमै थन्किएका छन् । गैंडाकोट, रजहर, प्रगतिनगर, कावासोती, डण्डा, चोरमारा, अरुणखोला, दुम्किबास, दाउन्ने सुनसान छन् ।
ज्वरो आएकाको जानकारी दिन आग्रह
प्रशासनले कुनै गाउँपालिकामा कसैलाई ज्वरो आउने, खोकी लाग्ने गरेको भेटिए तत्काल जानकारी दिन आग्रह गरेको छ । पालिका अध्यक्षहरुसँग समन्वय गरेर त्यस्तो देखिए त्यहींका स्वास्थ्यकर्मीले एम्बुलेन्स परिचालन गर्ने ब्यबस्था मिलाएको छ । जिल्लाका सबै एम्बुलेन्सलाई तम्तयार राखिएको छ । सरकारी अस्पतालका स्वास्थ्यकर्मीलाई बिदा नदिन आदेश गरेको प्रशासनले जनायो ।
रजहरको प्राकृतिक चिकित्सालय क्वारेन्टाइनमा परिणत
यहाँका ८ वटा पालिकाले आआफनो क्षेत्रमा बिदेशबाट फर्किएका र ज्वरो–खोकी लागेकालाई राख्न क्वारेन्टाइन बनाउन होडबाजी नै गरेका छन् । रजहरमा रहेको प्राकृतिक चिकित्सालयको ३ सय बेडलाई क्वारेन्टाइनमा परिणत गरिएको छ ।
गैंडाकोट, कावासोती र मध्यबिन्दु नगरपालिकाले आआफनो क्षेत्रका विद्यालय भवन र खाली रहेका सार्वजनिक भवनमा क्वारेन्टाइन बनाइएर तम्तयार राखिएको जनाएका छन् ।
वैदेशिक रोजगारीबाट फर्किएकाहरुको विवरण राख्न सुरु गरिएको छ । देवचुली नगरपालिकामा बुधबार साँझसम्म वैदेशिक रोजगारीबाट फर्किएकाहरुको संख्या १ सय ९ पुगेको त्यहाँका स्वास्थ्य शाखाका अधिकृत पिताम्बर भुर्तेलले जानकारी दिए ।
प्रकाशित : चैत्र १३, २०७६ ०९:३२