२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सुरक्षा सामग्री नभएको भन्दै अस्पताल बन्द

प्रकाश बराल

बागलुङ — कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला बागलुङको एक निजी अस्पताल बन्द भएको छ । सदरमुकामस्थित मुक्तिनाथ हस्पिटल एन्ड रिसर्च सेन्टर ‘सामग्री अभाव’ को कारण देखाउँदै बन्द भएको हो । अस्पतालले गेटमा सूचना टाँसेर केही दिनका लागि अस्पताल बन्द गरिएको जानकारी दिएको छ ।

अत्यावश्यक सामग्री नहुँदा सेवाप्रवाह गर्न नसकेर बन्द गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सन्तोष रावलले बताए । ‘अत्यावश्यक सुरक्षा सामग्री चार दिनदेखि मगाएको आएको छैन,’ उनले भने, ‘सामान आयो भने सञ्चालनमा ल्याउँछौं ।’


अस्पताल बन्द गरिएपछि चौतर्फी टिप्पणी हुन थालेको छ । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले उक्त कार्य खेदजनक र गैरजिम्मेवार भएको बताए । ‘सामग्री नभए इमरजेन्सी सेवा दिन सकिन्छ,’ उनले भने, ‘सेवा नै बन्द गर्नु मानवीयताविरुद्धको काम हो ।’ सामग्री अभावबारे नगरपालिकासँग समन्वय नगरेको भन्दै उनले कारबाही प्रक्रिया अघि बढाउने बताए ।


स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले पनि अस्पताल बन्द गरिनु आपत्तिजनक रहेको प्रतिक्रिया दिए । ‘यस्तो बेला आइसोलेसन कक्ष वा अन्य सेवाप्रवाहमा भए पनि साथ दिनुपर्ने थियो,’ उनले भने ।


२५ बेड क्षमताको अस्पतालमा एक डाक्टरसहित ११ जना कर्मचारी कार्यरत छन् । अध्यक्ष रावलले निजी अस्पतालका कर्मचारीलाई सुरक्षा सामग्री नभएको र बिमा रकम पाउने/नपाउने अन्योल भएकाले बन्द गर्नुपरेको बताए ।

प्रकाशित : चैत्र १२, २०७६ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?