सोमबारदेखि पर्वत लकडाउन

अगन्धर तिवारी

पर्वत — कोभिड–१९ को रोकथामका लागि पर्वत प्रशासनले सोमबार दिउँसो २ बजेदेखि जिल्लाका सबै नाका अनिश्चितकालीन बन्द गरेको छ । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको अध्यक्षतामा सोमबारै बसेको बैठकले यस्तो निर्णय गरेको थियो ।

सोमबारदेखि पर्वत लकडाउन

प्रजिअ नेपाल सहित तीन सुरक्षा निकाय, स्थानीय तहका प्रमुख लगायतको संयुक्त बैठकले सोमबार दिउँसो २ बजेपछि अत्यावश्यक बाहेकका पसल, सवारी लगायत बन्द गर्ने निर्णय गरेको हो । त्यस्तै पर्वत भित्रिने मध्य पहाडी लोकमार्ग, कुश्मा–बलेवा पुल, दक्षिणका पैयुं र महाशिला गाउँपालिका तथा फलेबास नगरपालिकाका विभिन्न नाकाहरुबाट आवागमन बन्द गरेको हो ।


अत्यावस्यक बाहेकका सवारी समेत सञ्चालन नगर्न सोमबार दिउँसो करिब १२ बजेदेखि प्रहरीको सवारी साधनले माइकिङ गर्दै डुलिरहेको छ । बाक्लो बस्ती हुने बजार क्षेत्रका सर्वसाधारणलाई सकेसम्म घरबाहिर ननिस्किन, भिडभाडमा नजान, जिल्ला बाहिरबाट आएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा नरहन सुचित गरेको छ ।


यसैबीच कोभिड–१९ को जोखिम कम गर्न कुश्मा बजार तथा आसपासमा विभिन्‍न राजनीतिक दल, भातृ संस्था तथा सामाजिक संघसंस्थाहरुले सचेतनामूलक ब्यानर, हात धुन साबुनपानी लगायतको व्यवस्था गरेका छन् ।


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुश्मा नगरकमिटिले कुश्मा बजारका पाँच स्थानमा हात धुने साबुनपानीको व्यवस्था गरेको नगर संयोजक शंकर गिरीले बताए । नेपाल तरुण दल फलेबास नगर समितिले नगरका विभिन्‍न गाउँमा पुगेर सचेतनामूलक सन्देश पर्वाह गरेको नगर सभापति दिनेश लामिछानेले बताए । उनका अनुसार जिल्ला बाहिरबाट गाउँमा आउनेहरु बढेका कारण ती व्यक्तिहरुसँग समेत टाढै रहेर कुराकानी गर्न समेत आग्रह गरिएको छ ।


नेकपा र कांग्रेसले कुश्माको गुप्तेश्वर क्याम्पसमा अस्थायी अस्पताल बनाउन सघाएका छन् । कुश्माको गुप्तेश्वर बहुमुखी क्याम्पसमा १५ शय्याको अस्थायी अस्पताल सोमबार तयार पारिएको छ । त्यस्तै पर्वत अस्पतालले सोमबारदेखि नै ज्वरो परीक्षण गर्नका लागि मात्रै छुट्टै ज्वरो क्लिनिक सञ्चालनमा ल्याएको छ ।

प्रकाशित : चैत्र १०, २०७६ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?