मासु र अण्डा उत्पादन वृद्धि

पशुपालनका सबै कार्यक्रम स्थानीय तहमा समावेश भएकाले छुट्टै तथ्यांक निकालिँदै
घनश्याम खड्का

म्याग्दी — भेडाबाख्रा र कुखुरापालन व्यवसाय फस्टाउँदै गएपछि जिल्लावासीले औसतभन्दा बढी मासु सेवन गर्न थालेका छन् । दूध र अण्डाको खपत पनि बढेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार चालु आवको ६ महिनामा भैसी/राँगो, खसी/बोका, भेडा, बंगुर/सुगुर, कुखुरा, हाँस र खरायोको मासु प्रतिव्यक्ति १० किलोग्राम सेवन गरेका छन् । यो परिणाम अघिल्लो वर्षको सोही अवधिभन्दा करिब २ केजी बढी हो । 

मासु र अण्डा उत्पादन वृद्धि

विश्व स्वास्थ्य संगठनका अनुसार प्रतिव्यक्ति वार्षिक १६ केजी मासु आवश्यक हुन्छ । नेपालको राष्ट्रिय मासु उपभोग दर प्रतिव्यक्ति वार्षिक १४ केजी छ । जिल्लामा राष्ट्रिय औसतभन्दा ४ केजी न्यून मासु उपभोग दर छ । तर सदरमुकाम क्षेत्रमा भने राष्ट्रिय औसतभन्दा भन्दा ७ केजी बढी प्रतिव्यक्ति २१ केजी मासु सेवन गर्ने गरेको केन्द्रले जनाएको छ ।

‘जिल्लामा बाख्रा, गाईभैंसीको संस्थागत रुपमै व्यावसायिक पालन सुरु भएको छ । त्यसैले दूध र मासु उत्पादन बढेको हो । जिल्लामा अण्डाको उत्पादन बढेसँगै खपत पनि बढेको छ,’ भेटेरिनरी अस्पतालका प्रमुख नारायण कुसुमले भने, ‘ग्रामीण बस्तीसम्म नमुना व्यावसायिक फार्म विकास हुन थालेको छ । अझै स्थानीय सरकारले कार्यक्रम विस्तार गर्नुपर्छ ।’


त्यसैगरी यस वर्ष जिल्लामा अण्डाको उत्पादन दोब्बर वृद्धि भएको छ । अघिल्लो वर्ष १ लाख ४६ हजारभन्दा बढी अण्डा उत्पादन भएकोमा यस वर्षको पहिलो ६ महिनामा ३ लाख ६ हजारभन्दा बढी उत्पादन भएको छ । माछाको पनि उत्पादन अघिल्लो वर्षको तुलनामा दोब्बरले बढेको छ । अघिल्लो वर्षको पहिलो ६ महिनमा ६ मेट्रिक टन माछा उत्पादन भएकोमा यस वर्षको सोही अवधिमा १३.५ मेटन उत्पादन भएको छ ।


उक्त अवधिमा कुखुराको मासु उत्पादन भने घटेको छ । गत वर्षको पहिलो ६ महिनामा २६२ मेटन कुखुराको मासु उत्पादन भएकोमा यस वर्षको सोही अवधिमा घटेर २४० मेटन भएको भेटेरिनरी अस्पतालले जनाएको छ । कृषक मासुका लागि ब्रोइलर कुखुरा पाल्नेभन्दा अण्डाका लागि कोइलर कुखरातर्फ आकर्षित छन् ।


केन्द्रका अनुसार चालु आवमा जिल्लामा बाख्राबोकाको ५०० टन, भेडाको ८४ मेटन, बंगुरको ३२ टन, कुखुराको ४८० टन र हाँस, खरायो समेत एक टन मासु उत्पादन हुने भएको छ । राँगा र भैसी भने तराईबाट आयात हुने गरेको छ । केन्द्रले बंगुर जोन बनाई पछिल्लो दुई वर्षदेखि व्यावसायिक बंगुर उत्पादन सुरु गरे पनि मासु उत्पादन र खपतमा वृद्धि नभएको तथ्यांकले देखाउँछ ।


जिल्लामा ३१ हजार ८६५ भैसी, ९१ हजार २१४ बाख्रा, २९ हजार भेडा, एक हजार २०० बंगुर र स्थानिय, लेयर्स तथा ब्रोइलरसमेत एक लाख ७८ हजार कुखुरा, एक हजार हाँस, ११ सय खरायो पालिएका छन् । ‘पशुपालनका सबै कार्यक्रम स्थानीय तहमा समावेश भएकाले यससम्बन्धी छुट्टै तथ्यांक संकलनमा छौं,’ केन्द्रका पशु प्राविधिक सुवास रेग्मीले भने, ‘यो वर्षको अन्त्यसम्म सहरी क्षेत्र र ग्रामीण क्षेत्रमा मासु, दूध र अण्डा सेवनको अनुपात आउनेछ ।’


मगर बाहुल्य, नेवार, छन्त्याल, गुरुङ र दलितको अधिक बसोबास रहेको म्याग्दीका हरेक टोलबस्तीमा लाग्ने मेलाजात्रा तथा धार्मिक स्थानमा पशुबली लगायतले माछामासुको खपत झनै बढाएको छ । अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा पर्ने खयरवराही मन्दिरमा मात्र ‘बली चढाउन’ का लागि अघिल्लो वर्ष ४४ लाखभन्दा बढीको भेडा/बोकाको व्यापार भएको थियो ।

प्रकाशित : चैत्र ८, २०७६ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?