कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरामा ६० शय्याको आइसोलेसन वार्ड तयार, क्वारेन्टाइनका लागि ठाउँ खोजिँदै

प्रतीक्षा काफ्ले

पोखरा — कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई मध्यनजर गर्दै गण्डकी प्रदेश सरकारले पूर्वतयारी गरेको छ । विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाको उच्च जोखिममा रहेको घोषणा गरेसँगै प्रदेशको ध्यानाकर्षण भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखराका विभिन्न अस्पतालमा ६० शय्याको आइसोलेसन वार्ड तयार पारिएको छ । निर्देशक डा. विनोदविन्दु शर्माले सञ्चारकर्मीसँग मंगलबार भेटघाट गर्दै आइसोलेसन वार्ड तयारी अवस्थामा रहेको र क्वारेन्टाइनस्थलको खोजी गरिरहेको जनाए । कोरोनाको संक्रमण रोक्न तथा सावधानी अपनाउन एक महिनाघि नै टास्क फोर्स गठन गरेको उनले बताए ।


उनका अनुसार शंकास्पद बिरामीलाई आइसोलेसन वार्डमा राखेर उपचार गर्नको लागि मणिपाल शिक्षण अस्पतालमा १५, गण्डकी मेडिकल कलेजमा १५, चरक मेमोरियल अस्पतालमा २७ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको क्षेत्रीय अस्पतालमा ३ वटा आइसोलेसन वार्ड तयारी अवस्थामा राखिएको छ । ‘क्वारेन्टाइनका लागि सम्भावित स्थलको खोजी भइरहेको छ,’ उनले भने, ‘साविकको लेखनाथ नगरपालिकाको भवन मर्ज भई गाभिएर खाली भएका विद्यालय वा अन्य हुन सक्ने ठाउँमा अध्ययन गरेका छौं ।’ प्रदेश सरकारले आइसोलेसन वार्ड तयार भएका अस्पतालमा चिकित्सकको समूह बनाउने छ । अस्पताल र ल्याबका चिकित्सकलाई विशेष प्रकारको तालिमको आवश्यक रहेको उनको भनाइ छ । गत माघ २२ मा सामाजिक विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा यस विषयमा छलफल गरेपछि पूर्वतयारी गर्न लागिएको उनको भनाइ छ ।


पोखरा र मुस्ताङमा हेल्थ डेस्क


कोरोना भाइरसलाई मध्यनजर गर्दै प्रदेश स्वास्थ्य निर्देशनालयले पोखरा र मुस्ताङमा हेल्थ डेस्कको स्थापना गरिएको बताएको छ । हवाइयात्रामा आउने पर्यटकको अवस्था बुझ्न पोखरा विमानस्थलमा हेल्थ डेस्क राखिएको डा. शर्माले बताए । निर्देशनालयका अनुसार दुवै ठाउँबाट स्वास्थ्य अवस्था बुझ्ने कार्य भइरहेको छ । हेल्थ डेस्कमा विशेषत ज्वरो नापिन्छ । चीनसँग सीमाना जोडिएकाले मुस्ताङलाई पनि ख्याल गरिएको शर्माले बताए । उनका अनुसार हेल्थ डेस्कमा पोखरामा २ र मुस्ताङमा १ जनालाई खटाइएको छ ।


निर्देशनालयले चिनियाँ नागरिकलाई विशेष निगरानी गरेको बताएको छ । यसो त निर्माणाधीन पोखरा विमानस्थलमा कार्यरत कामदारको दैनिक स्वास्थ्य परीक्षण भइरहेको छ । निर्देशक शर्माका अनुसार उत्तरी लमजुङको ङादीखोलामा निर्माणधीन ३० मेघावाटको न्यादी जलविद्युत्त आयोजनामा कार्यरत चिनियाँ कामदारहरु रातारात आएका छन् भन्ने सूचना प्राप्त भएअनुसार पोखरामा तत्काल चिकित्सकसहितको टोली खटिएर यर्थाथ बुझ्ने कार्य भएको पनि शर्माले बताए ।

प्रकाशित : फाल्गुन २०, २०७६ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?