२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

विद्युत् ‘ट्रिप’ले हैरानी

दैनिक दर्जनौं पटक बत्ती जाँदा व्यवसाय प्रभावित
घनश्याम खड्का

(म्याग्दी) — व्यवस्थित प्रसारण लाइन नहुँदा पटकपटक विद्युत् ‘ट्रिप’ हुने समस्याबाट म्याग्दीका उपभोक्ता हैरान भएका छन् । दैनिक ३०–४० पटकसम्म विद्युत् सेवा अवरुद्ध हुँदा व्यापार व्यवसाय पनि प्रभावित भएको छ । 

विद्युत् ‘ट्रिप’ले हैरानी

पर्वतको मोदी सबस्टेसनदेखि म्याग्दीबाट उत्तर मुस्ताङसम्म ८२ किलोमिटर लामो र म्याग्दीका विद्युतीकरण भएका सबै बस्तीसम्म एउटै ११ केभीए फिडर लाइन हुँदा कहीँकतै ‘फल्ट’ आउनासाथ विद्युत् ट्रिप हुने गरेको छ । मर्मत गर्न फेरि उत्ति नै पटक विद्युत् अवरुद्ध गर्नुपर्ने बाध्यता रहेको विद्युत् प्राधिकरणले जनाएको छ ।


छुट्टै ३३ केभीए क्षमताको मोदी–म्याग्दी–मुस्ताङ समानान्तर अर्को प्रसारण लाइनमा पनि पटकपटक ‘फल्ट’ आउँदा घराप सबस्टेसन, मिलनचोक सबस्टेसन र मोदी सबस्टेसनमा लाइन ट्रिप हुँदा ११ केभीए फिडर लाइनमा पनि विद्युत् ट्रिप हुने गरेको छ । ११ केभीए फिडरलाइनले ५ सयभन्दा बढी सानाठूला ट्रान्सफर्मरको लोड धानेको छ । प्रसारण लाइनका पोलमा तारलाई अड्याउन प्रयोग भएका अधिकांश इन्सुलेटर (माटोका सामग्री) जीर्ण भई चर्किएका छन् । पानी पर्दा यस्ता इन्सुलेटरबाट विद्युत् पोलमा लिकेज भई लाइन फल्ट हुने गरेको छ । यसले मानवीय जोखिम पनि उत्तिकै छ । पर्वतको मिलनचोक सबस्टेसनका अनुसार पर्वत, बाग्लुङ फिडरको कारणले दैनिक कम्तीमा ६ पटक र म्याग्दी, मुस्ताङ फिडरको कारण दैनिक थप ६ पटक विद्युत् ट्रिप हुन्छ । चैत–भदौ हावाहुरी र झरीपहिरोको सिजन भएकाले विद्युत् ट्रिप अत्यधिक हुन्छ ।


‘८२ किमीसम्म ३३ केभीए लाइन वन वे भएकाले विद्युत् ट्रिप हुने समस्या भइरहन्छ,’ म्याग्दी वितरण केन्द्रका इन्जिनियर हेमराज चापागाईंले भने, ‘दाना (म्याग्दी)–खुर्कोट (पर्वत) मा सबस्टेसन र २२० केभीए प्रसारण लाइन नबनेसम्म समस्या यथावत् रहन्छ ।’


लामो दूरी भएकाले ‘फल्ट’ पत्ता लगाई छिटो विद्युत् नियमित गर्न दर्जनभन्दा बढी ठाउँमा सेक्सन छुट्याइएको छ । ‘फल्ट’ पत्ता लगाउन हरेक सेक्सनमा लाइन काट्दै हेर्दै गर्नुपर्छ । भौगोलिक कठिनाइले फल्ट पत्ता लागे पनि मर्मत गर्न जान नै समय लाग्ने र लामो समय विद्युत् आपूर्ति अवरुद्ध हुने गरेको प्राधिकरण म्याग्दी केन्द्र प्रमुख माधव महतले बताए ।


प्राधिकरणले विद्युत् ट्रिपको समस्या हल गर्न रघुगंगा गाउँपालिका–१ तिप्ल्याङमा फिडर लाइन काटी उत्तरी भेगको अन्नपूर्ण र मुस्ताङमा घराप सबस्टेसनबाट विद्युत् दिने योजना बनाइएको छ । पश्चिम म्याग्दीको दरबाङमा छुट्टै सबस्टेसन राखी विद्युत् लाइन छुट्याउने भने पनि काम भएको छैन ।

प्रकाशित : फाल्गुन १६, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?