कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजारमा मुस्ताङी स्याउ

असोज–कात्तिकतिर कोल्डस्टोरमा राखिएका ३०० टन मुस्ताङी स्याउ अहिले धमाधम बिक्री
कान्तिपुर संवाददाता

(पोखरा) — मध्य फागुनमा मुस्ताङी स्याउ ! विक्रेताले मुस्ताङको अर्गानिक स्याउभन्दा पनि ग्राहकले हत्तपत्त पत्याउँदैनन् । नपत्याएर के गर्नु यतिबेला पोखरालगायत बजारमा मुस्ताङको स्याउ बिक्री भइरहेको छ । 

बजारमा मुस्ताङी स्याउ

सामान्यतया हरितालिका तिजलगत्तै पूर्ण रूपमा पनि नपाक्दै मुस्ताङको स्याउ बजारमा आउँछ, तिहार आसपाससम्म पाइन्छ । त्यसपछि भने चीन र भारतबाट ल्याइएको स्याउले बजार ढाक्छ । पोखरा–२६ बुढीबजारस्थित मालिका एग्रो ग्रुपको कोल्डस्टोर (शीतभण्डार) मा राखिएको मुस्ताङी स्याउ यतिबेला बजारमा बिक्री भएको हो । कोल्डस्टोरमा गत असोज/कात्तिकमा ३०० टन स्याउ राखिएको थियो ।


मुस्ताङको स्याउ पोखरामा कोल्डस्टोरमा राखेर बेसिजनमा बिक्री भएको यो पहिलो हो । ‘सिजनमा मात्रै मुस्ताङी अर्गानिक स्याउ पाइने तर बेसिजनमा नपाइने उपभोक्ताको गुनासोपछि कोल्डस्टोरमा राखेका थियौं,’ सञ्चालकमध्येका एक दलराज पुनले झने, ‘अहिले धमाधम बेचिरहेका छौं । सुरुसुरुमा वित्रेताले समेत नपत्याएर स्याउ खरिद गरेनन् । अहिले भने माग आइरहेको छ ।’


ग्रुपले पोखराबाहेक पर्वत, बागलुङ, बेनी, काठमाडौं, चितवन र बुटवलसम्म स्याउ पुर्‍याएको छ । प्रतिकिलो डेढसय रुपैयाँका दरले बजारमा पठाइएको कोल्डस्टोरका अर्का सञ्चालक बेगप्रसाद गर्बुजाले बताए । ‘कोल्डस्टोरमा राखेर मुस्ताङी स्याउ बेसिजनमा उपभोक्ताकामा पुर्‍याउने उद्देश्यले पहिलो अभ्यास गरेका हौं,’ उनले भने, ‘स्याउसहित आलु, तरकारीलगायत कृषिजन्य उत्पादन कोल्डस्टोरमा राख्छौं ।’ अहिलेसम्म १०० टन स्याउ बिक्री भएको छ ।


कोरोना भाइरसका कारण चीनबाट स्याउ आयात रोकिएकाले बिक्री बढेको छ । कोल्डस्टोरमा मुस्ताङको मार्फा बागवानी केन्द्र र केही किसानको स्याउ ल्याएर भण्डारण गरिएको थियो । बेसिजनमा मुस्ताङको स्याउ खान नपाइने अवस्थाको यो कोल्डस्टोरले अन्त्य गरिदिएको उपभोक्ता बताउँछन । ‘सुरुमा मुस्ताङको स्याउ भन्ने पत्यारै लागेन’ पोखरा–८ की प्रतिभा गौतमले भनिन्, ‘थोरै किनेर चाख्दा स्वादिलो भयो । मुस्ताङको भन्ने पक्का भएपछि अहिले खोजीखोजी किन्ने गरेको छु ।’ यसअघि पोखरामा केही व्यवसायीले कोल्डस्टोरमा राखेर मुस्ताङी स्याउन बेच्ने प्रयास पनि गरेका थिए । तर पुरानो प्रविधिका कारण सफल भने भएन । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदान र ६ उद्यमीको ५ करोड लगानीमा वर्षअघि कोल्डस्टोर बनेको हो । कोल्डस्टोरमा फलफूल, तरकारीलगायतको भण्डारण गर्न मिल्छ । स्टोरमा प्रदेश सरकारको साढे २ करोड रुपैयाँ लगानी छ । सञ्चालक गर्बुजाले प्रदेशका किसानलाई लाभ पुग्ने गरी शीतभण्डार सञ्चालनमा ल्याएको बताउँछन् । उत्पादन धेरै हुँदा कहाँ राख्ने भन्ने किसानको चिन्ता हटेको उनको भनाइ छ ।


कोल्डस्टोर बनाउँदै प्रदेश सरकार

खर्च संचित नमिल्दा रोकिएको कोल्ड स्टोर निर्माणको काम पुन: सुचारु भएको छ । साउनदेखि माघसम्म रोकिएको कामको गत सातादेखि प्रक्रिया अघि बढाइएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।


प्रदेश सरकारले गत वर्ष २ कोल्ड स्टोर बनाएको थियो । चालु वर्ष ६ बनाउने योजना अघि सारेअनुसार अहिले १४ आवेदन दर्ता भएका मन्त्रालयको योजना महाशाखा प्रमुख ग्रीष्म न्यौपानेले बताए । प्रदेशभरि उत्पादन हुने फलफूललाई मध्यनजर गर्दै कोल्ड स्टोरमा लगानी बढाएको मन्त्रालयको भनाइ छ ।


६ वटै कोल्ड स्टोर १०० टनभन्दा माथिको क्षमताका हुने छन । नवलपुर, गोरखा, कास्की, स्याङ्जा र तनहुँबाट मात्र आवेदन परेको छ । कोल्डस्टोर चालु आवभित्र सम्पन्न हुने गरी काम भएको मन्त्रालयले बताएको छ । मन्त्रालयले एउटा कोल्ड स्टोरलाई डेढ करोड रुपैयाँ अनुदान दिनेछ ।


‘कोल्ड स्टोर निर्माणको लागि स्थानीय तह, प्राइभेट कम्पनी, सहकारी तथा समूहरूले प्रस्ताव हालेका छन्,’ न्यौपानेले भने, ‘स्थानीय तहले आफूले पनि लागत हाल्ने गरी प्रस्ताव गरेको छ ।’ गतबर्ष मन्त्रालयले २५ वटा कोल्ड स्टोरको योजना अघि सारेको थियो । जसमध्ये २ वटा ठूला र अन्य मध्यम साथै साना थिए । पोखरा–२६ बुढीबजार र १४ चाउथेमा निर्माण गरिएका दुई ठूला कोल्ड स्टोर सञ्चालनमा आइसकेका छन् । दुवै स्टोरको क्षमता ५ सय टन रहेको छ । अन्य साना भनिएका जम्मा १० टनका छन् । कोल्ड स्टोरको अभावमा उत्पादन भएका वस्तु सस्तो मूल्यमा फाल्नुपर्ने र बजार अभावका कारण बारीमै सुकाउनुपर्ने अवस्था रहेकाले सरकारले योजना बनाएर नै काम गरेको महाशाखा प्रमुख न्यौपानेले बताए । प्रदेशका ११ वटै जिल्लामा सरकारको कोल्ड स्टोर निर्माण गर्ने लक्ष्य रहेको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले बताए ।

प्रकाशित : फाल्गुन १५, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?