कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

पढ्दै र कम्प्युटर सिक्दै आमाहरू

घनश्याम खड्का

(म्याग्दी) — सदरमुकाम बेनीको पश्चिम म्याग्दीखोला किनारमा उज्यालो बैकल्पिक विद्यालय छ । विद्यालयको ३ कक्षाकी नियमित विद्यार्थी हुन बेनी नगरपालिका–३ भकिम्लीकी ७० वर्षीया दिलमाया पुन । ३ वर्षअघि भर्ना भएर उनले पढ्न सुरु गरेकी थिइन् ।

पढ्दै र कम्प्युटर सिक्दै आमाहरू

‘कखरा, एबिसी र हिसाबका जोडघटाउ सिकें । भागा र गुणन गर्न अलि अप्ठेरो लागेको छ,’ उनले भनिन्, ‘यो उमेरमा पढ्न पाउँदा खुसी छु ।’ उनी विद्यालयकै जेठी विद्यार्थी हुन् ।


पुनमात्र होइन, पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीकी ६० वर्षकी रेनु मल्ल, मालिका–७ की ५० वर्षीया तुलकुमारी मल्ल, बेनीकी ५३ वर्षीया लालकुमारी सापकोटा, ५६ वर्षकी भुलमायाँ तिलिजा, ६० वर्षकै राधिका आचार्य र ४३ वर्षकी देवी सुवेदी विद्यार्थी हुन् । सुवेदी त एकघन्टा पैदल हिंडेर स्कुल पुग्छिन । ‘चार वर्षअघि ३ कक्षामा भर्ना भएर पढ्न थालेकी थिए अहिले ८ कक्षामा पुगे’ रेनुले भनिन, ‘सामान्य अंग्रेजी पनि जानेको छु । क्याल्कुलेटरमा भागा र गुणनको हिसाब पनि गर्छु । अझ ठूलो कुरा त कम्प्युटरमा आफ्नो नाम टाइप गर्न जानेको छु ।’ पढ्ने उमेरमा नपाएको र अहिले छोराछोरी हुर्केपछिको फुर्सद समयमा पढेर धोका मेटाएको बताउने उनी साना बालबालिकालाई पढाउन सक्ने हैसियत बनाएको भन्दै दंग छिन् ।


औपचारिक शिक्षाबाट वञ्चित वयस्कलाई शिक्षाको मूलधारमा ल्याउन सञ्चालित उज्यालो विद्यालयमा अहिले ९ कक्षासम्मको पढाइ हुन्छ । पढ्ने इच्छा भए उमेरले छेक्दैन भन्ने गतिलो अवसर विद्यालयले दिएको छ । विद्यालयमा १५ देखि ६० वर्ष समूहका ६८ आमा अध्ययनरत छन् । केही ६० वर्षमाथिका पनि छन् । नाम मात्र लेख्न सक्ने धोकाले पढ्न थालेका आमाहरूले अहिले नेपाली, अंग्रेजी, गणित विषय पढ्दै, लेख्दै र कम्प्युटर पनि चलाउन सिकिरहेका छन् ।


तत्कालीन जिल्ला शिक्षा कार्यालयको विद्यालय क्षेत्र विकास कार्यक्रमअन्तर्गत ०७३ देखि विद्यालय सञ्चालनमा छ । ‘बाल्यकालमा भाइबहिनी स्याहार्न र किशोरावस्थामा गोठ स्याहार्दै बित्यो । उतिबेला पढ्न नपाएकाले दाँतमा ढुंगो लागेझै भएर पढ्न थालेकी’ ५६ वर्षकी भुनुमाया तिलिजाले भनिन्, ‘अनपढ हुँदा सामाजिक तथा राजनीतिक क्षेत्रमा पछि परेको महसुस पनि भयो ।’ उनी ९ कक्षामा पढ्छिन् ।


विद्यालयमा अक्षर चिन्न गएकालाई पहिलो तहमा, ३ कक्षा पढ्दै छाडेका दोस्रो तह र ५ कक्षासम्म पढेर विद्यालय छाडेकालाई तेस्रो तहमा राखेर पढाइन्छ । ५ कक्षामाथि पढ्ने आमाका लागि छुट्टै कम्प्युटर कक्षा थपिएको छ । ‘मागअनुसार ५ कक्षामाथिका आमा विद्यार्थीलाई कम्प्युटरको आधारभूत विषय पढाउँछौं,’ विद्यालयकी संयोजक रीता गर्बुजाले भनिन् ।

प्रकाशित : फाल्गुन १५, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?