कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गाउँ आयो सडक, घरघरै आए पसल

‘एक भारी नुन घर ल्याइपुर्‍याउँदा ज्यानको एकसरो छाला खुइलिन्थ्यो, निको हुन महिना दिन लाग्थ्यो,’ चार दशकअघिको त्यो बेला सम्झँदै उनी भन्छन्, ‘बाटो आयो, गाडी आयो । घरघरै बजार आयो । अहिले के दुःख छ र ।’ 
प्रकाश बराल

बागलुङ — गाउँघरमा सडक, पाइलैपिच्छे पसल र पसलमा चाहिने सबै सामान सजिलै पाइएको अवस्था देख्ता उनलाई त विगत सम्झेर सुख अनुभूति हुन्छ । उमेर १४ वर्षमात्र पुगेको थियो । २०२९ मा गाउँलेले अब तन्नेरी भयो भनेर नुन बोकाउन बटौली लगेको अझै बिर्सेका छैनन् ।

गाउँ आयो सडक, घरघरै आए पसल

ढोरपाटन नगरपालिका–६ का ६१ वर्षीय तालबहादुर छन्त्याल भन्छन्, ‘ती दिन सपना जस्तै लाग्छन् । अहिले आकाश–पाताल फरक जमाना आयो ।’ एक दशकसम्म लगातार नुन बोकेका उनी उज्यालो नहुँदै खाजाको पोको झोलामा राखेर हिँडेपछि पाँचौं दिनको बास बस्न बुटवल पुगेको अनुभव सुनाउँछन् । अहिले नुनतेल छन्त्यालको घरछेउमै पाइन्छ । सडक घरनजिकै पुगेको छ । बजार निस्किएर फर्किंदा जिप चढेर घर पुग्छन् ।


बटौलीका साहुले नुन खेप्न आउनेलाई एकरात बास बस्न कोठा राखिदिएका हुन्थे । गाउँबाट ४/५ दिनको हिँडाइले थाकेकाहरू १०/१५ जनासम्म एउटै कोठामा सुत्थे । गुन्द्री र एउटा तन्ना पाएपछि राम्रो निद्रा लाग्थ्यो । बुटवल बजारमा बस, जिप र ट्रक गुडेको देखेर उनी दंग हुन्थे । ती गाडी आफ्नो गाउँमा आउँछन् भन्ने उनले सोचेका पनि थिएनन् । २०६० तिर बुर्तिबाङसम्म सडकको ट्र्याक खुल्यो । डोजरले बाटो खनेको हेर्न उनी पनि पुगे । त्यसपछि बल्ल गाउँमा मोटर आउने विश्वास पलायो । अहिले बुर्तिबाङसम्म कालोपत्रे सडक पुगेको छ ।


पछि पाल्पाका साहुबाट नुन किन्दा १० दिनमा घर फर्कने बाध्यता आठ दिनमा छोट्टिँदा उनी धेरै खुसी भएका थिए । बिस्तारै दुई दिन छोटिएर रिडीमा बजार आइपुग्यो । बुर्तिबाङमा आउँदा एकैदिनमा सामान किनेर घर फर्कने सुविधा मिल्यो । खच्चरमा बोकाएर पनि उनीहरूले सामान गाउँमा ल्याए । ३६ किमि पश्चिमको ढोरपाटन खण्ड कच्ची सडक छ । गाउँगाउँमा सडक लैजाने चुनौती बाँकी छ । तैपनि आफ्नै पालामा ढोरपाटनसम्मको सडक कालोपत्रे हुने भयो भनेर उनी खुसी छन् । ‘अब गाडी आइसक्यो, सबैको पहलले सडक कालोपत्रे गर्नैपर्छ,’ उनले भने, ‘यस्ता पहाडमा पनि गाडी आएरै छाड्यो ।’ उनको गाउँ घैयाखानीमा जिप चढेर सहजै पुग्न सकिन्छ ।


ढोरपाटन जाने मूल सडकको सहीखोलाबाट गाउँलेले सडकको ट्र्याक खोलेका छन् । नगरपालिकाले चार लाख लगानी गर्दा गाउँलेले ६ लाखको काम गरे । सडकसँगै गाउँमै पसल खुलेका छन् । नुनको पोकामात्र होइन, खाद्यान्न, लत्ताकपडा पनि पुगेको छ । त्यसैले छन्त्याल जस्ता धेरैलाई सहज भएको छ । मोटरबाटो पुगेपछि अरू विकास पनि भित्रिएको छ । ‘बुटवल पुगेर नुन ल्याउँदा जिउको एकपत्र छाला जान्थ्यो, निको हुन महिना दिन लाग्थ्यो, अहिले के दुःख छ र,’ स्थानीय सर्वजित छन्त्यालले भने, ‘बुटवलको सुख गाउँमै आयो ।’ बिहान, बेलुकी घाँसको भारी खेप्ने र बिरामी हुँदा बुर्तिबाङ झर्नुपर्ने बाध्यता मात्र अब दुःखको कुरा भएको उनले बताए । गाउँमा पानीको दुःख पनि हटेको छ । घरघरै धारा छन । दाताले दिएको रकममा श्रमदान जोडेर ३५ लाखमा खानेपानी आयोजना निर्माण भयो । खोलाखोल्सी पुगेर गाग्रीमा पानी खेप्ने दुःख पनि उनीहरूले हटाए । ‘घरैमा पानी आएको छ, अब डोको र गाग्री बोक्न नपर्ने भयो,’ स्थानीय सुनिता सुनारले भनिन्, ‘विकासले गति लिएको छ ।’


तालबहादुर सामाजिक अभियन्ता हुन् । २०५४ सालमै वडाध्यक्ष भएकाले उनी विकास निर्माणमा चासो राख्छन् । उनले ढोरपाटनमा आलु र स्याउ लगाएका छन् । अहिले एकदिन पैदल हिँडेर ढोरपाटनको बारी पुगिन्छ । त्यहाँ पुग्ने सडकको ट्र्याक खुलिसकेको छ । ‘ढोरपाटनमा कालोपत्रे सडक छिट्टै पुग्ला,’ उनले भने, ‘अब बसाइँ सर्नु पर्दैन, गाउँमै बसेर बटौलीको सुविधा पाइन्छ ।’ गाउँमा स्वास्थ्यचौकी बनाउने र नियमित स्वास्थ्यकर्मी बसिदिने सुविधा भए पुग्ने उनले बताए । सडकै नभएका बेला उपभोग्य सामान बोक्न बुटवल पुगेका दिन उनले बिर्सेका छैनन् । रित्तै जान पाउँदैनथे । टिनभरि घिउ बोक्नुपर्थ्यो । बुटवलका साहुले घिउ राखेर नुन दिन्थे । छन्त्यालले २८ केजीसम्म नुन बोकेका थिए । ‘तन्नेरीले धेरै बोक्थे । बुढापाकाले थोरै बोकेर बाटो देखाउने र हौसाउने काम गर्थे,’ छन्त्यालले भने, ‘त्यो दुःख र इतिहास छोराछोरीको पालामा मेटियो ।’ बुटवल पुग्दा एक वर्षका लागि घरका सबै सन्तानलाई कपडा ल्याउने बाध्यता थियो । ‘दसैंतिहार भनेर कपडा किन्न सकिंदैनथ्यो, बुटवलबाट आउँदा ल्याएकोले वर्षभरि पुर्‍याउनु पर्थ्यो,’ उनले भने, ‘अहिले सबैको हातमा पैसा छ, चाहेको लाउन खान पाइन्छ ।’


गाउँगाउँमा बिजुली पनि बलेको छ । भुजीखोलामा एक दर्जन लघु जलविद्युत् छन् । बालबालिकाले पढ्ने अवसर पाएका छन् । लघुविद्युत्सँगै घैयाखानीका ८५ घरमा सुधारिएको चुलो पनि छ । धेरैजसोले खाना पकाउन एलपी ग्यास प्रयोग गर्छन् । शुद्ध पानीका कारण बालबालिका बिरामी भएका छिटपुट मात्रै सुनिएको जनता प्राविकी शिक्षक कृष्णकुमारी छन्त्यालले बताइन् । ‘सुधारिएको चुलोले बुढाबुढीमा रुघाखोकी पनि कम भएको छ,’ उनले भनिन्, ‘गाउँ अब दुःखको भारी नभई, सुखले रमाउने ठाउँ बनेको छ ।’ सडकको स्तरोन्नति, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरका लागि पनि तालबहादुरले आवाज उठाइरहेका छन् ।

प्रकाशित : फाल्गुन १४, २०७६ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?