ठाडोभाका सर्जकको स्मृतिमा संग्रहालय

कान्तिपुर संवाददाता

लमजुङ — लोपोन्मुख ठाडोभाका गीतका सर्जक देउबहादुर दुराको स्मृतिमा संग्रहालय निर्माण गरिएको छ । विसं १९४७ फागुन ८ मा जन्मेका दुरा र उनका सहयात्री पञ्चैसुब्बा गुरुङ ठाडोभाकाका सर्जक हुन् । दुराकै गाउँ मध्यनेपाल नगरपालिका–१० हाँडीखोला नास्केवर्धनमा नगरपालिकाको १८ लाख रुपैयाँ र १० लाख रुपैयाँ बराबरको श्रमदानबाट संग्रहालय बनाइएको हो ।

परम्परागत घुमाउने खरको छानो भएको घरमा देउबहादुर दुरा, ठाडोभाका गीत र दुरा जातिसँग सम्बन्धित सामग्री संग्रह सुरु गरिएको छ । संग्रहालयकै माध्यमबाट उनका विषयमा थप जानकारी संकलन गर्ने स्थानीय अगुवा डीलबहादुर दुराले बताए । मध्यनेपाल नगरप्रमुख रमेशकुमार पाण्डेले दुराकै स्मृतिमा देउबहादुर दुरा मार्ग निर्माणको प्रक्रिया अघि बढेको जानकारी दिए ।


नेपाली लोकगीत क्षेत्रको पुरानो र मौलिक ठाडोभाका गीतलाई पछिल्लो समय ठाडोभाका शिरोमणि भेडीखर्के साइँला (दीर्घराज अधिकारी) ले संरक्षण र संवर्द्धन गर्दै आएका थिए । उनको २०७४ भदौ २६ मा ८४ वर्षको उमेरमा निधन भएपछि भाका जोगाउन विभिन्न रचनात्मक काम हुँदै आएको छ । ठाडोभाका लोककला प्रतिष्ठानका संरक्षक बुद्धिमान दुराले नेपाली गीत–संगीत क्षेत्रलाई देउबहादुर दुराले ठुलो गुन लगाएको बताए ।

प्रकाशित : फाल्गुन १३, २०७६ १०:०४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

झुक्याउला दलालले !

सुम्निमा चाम्लिङ

(इटहरी) — भोजपुरकी सपना कार्की (नाम परिवर्तन) वैदेशिक रोजगारीको क्रममा तीन वर्षअघि बेचिन पुगेकी थिइन् । निम्न आर्थिक अवस्था भएकाले कक्षा ८ को पढाइ छाडेर घरेलु कामदारका रूपमा धरान झर्न पर्‍यो ।

थोरै तलब, घरमा दुईचार पैसा पठाउन नपुग्ने । त्यसैले घरको काम छाडेर रेडिमेड कपडा पसलमा काम सुरु गरिन् । मासिक ५ हजार तलब कोठा भाडा र खानामा ठिक्क ।

दुखका साथ परिवार चलेको थियो । कमाउने जिम्मेवारी उनकै काँधमा थियो । एक दिन छिमेकी दिदीले उनलाई विदेशको मोहमा फसाइन् । उनले घरेलु कामदारका लागि साउदी अबर जाने निधो गरिन् । आमाबुवाले ऋण खोजेर पठाएको ७५ हजार रुपैयाँ एजेन्टलाई दिइन् ।

भारत तथा अन्य तेस्रो मुलुकको बाटो भएर वैदेशिक रोजगारीमा जान मिल्दैन । यसबारे सामान्य जानकारीसमेत नभएकाले उनलाई दलालले झुक्याउन सफल भए ।

एक साताभित्र साउदी पुर्‍याउने आश्वसन दिएका दलालले बम्बई र दिल्लीमा पाँच महिनासम्म बन्धक बनाए । उनीसहित अन्य नेपाली र भारतीय महिलालाई तेस्रो मुलुकका लागि बेचिएको थियो । ‘आफू बेचिएको थाहा पाउँदा कस्तो भयो, म बताउन सक्दिनँ,’ उनले भनिन्, ‘दुर्व्यवहार सहन परेन तर बन्धक हुनुको पीडा नमिठो हुन्छ ।’

परिवारबाट सम्पर्कविहीन हुनुपर्दा उनलाई बाँच्ने इच्छा हराएको रहेछ । यस्तै अवस्थामा बन्धकमा रहेका उनी र अन्य दुई जनाले भाग्ने योजना बनाए ।

धेरै दिनको प्रयासपछि राति १२ बजे शौचालय जाने बहानामा जोखिम मोलेर एकतले भवनबाट हामफालेर भाग्न सफल भएका थिए ।

बन्धकमा परेका दिदीको छोरा यतै बस्ने भएकाले उनीहरूलाई सजिलो भयो । दिल्लीमा रहेका नेपालीहरूले पैसा संकलन गरेर उनीहरूलाई नेपाल फर्काउने वातावरण तयार गरिदिएका थिए ।

अचेल उनले बराहक्षेत्रमा चटपटे पसल खोलेकी छन् । त्यति मात्र होइन, विदेश जाने बहानामा आफूजस्तै ठगिन नपरोस् भनेर अरू महिलालाई सजिलो अप्ठ्यारो अनि आफूले भोगेको कुरा बताउने गरेकी छन् ।

सुरक्षित आप्रवासन परियोजना सुनसरीका संयोजक श्रवण राजधामीले खुल्ला सीमाको कारण मानव तस्करी मौलाउँदै गएकाले उनीजस्ता महिलाले निकै दुःख पाउने गरेको बताए ।
‘वैदेशिक रोजगारीमा जान परे श्रम स्वीकृति लिएरमात्र जानुपर्छ’, उनले भने, ‘यसबारे जानकारी नहुँदा धेरैले दुःख पाउँदै आएका छन् ।’

प्रकाशित : फाल्गुन १३, २०७६ १०:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×