मकैको बिहे !

कान्तिपुर संवाददाता

(गोरखा) — जैसी (ज्योतिषी) ले निकालेको साइत शुभ भएको र सबै गाउँले भेला हुनैपर्ने भन्दै कटुवालले गाउँभरि घोक हाल्दै निम्तो बाँडे । धार्चे गाउँपालिका–४, लाप्राकवासीलाई मकैको बिहेको चटारो सुरु भयो । बुधबार अपराह्न ४ बजे मनिडाँडामा मकैको घोगो गाडियो । यहीं मकैको बिहे हुँदै थियो ।

बिहीबार बिहानको साइतमा उक्त मकै मनिडाँडाबाट निकालियो । गाडिएको मकै नझिक्दासम्म भुट्न, गाउँमा होहल्ला, खनजोत गर्न, जाँतो चलाउन र लुगा धुनसम्म पाइँदैन । बिहानै ठूलो आँगन (लाप्राकको पुरानो गाउँ) मा भेला भएका स्थानीय दुई समूहमा बाँडिए– बेहुला पक्ष र बेहुली पक्ष ।


बेहुली पक्ष एक घण्टाको पैदल दूरीमा रहेको पुराडाँडा पुग्यो । बेहुला पक्ष गाउँमै बसेर डोली सिँगार्न थाल्यो । करिब ११ बजेतिर जन्ती गाउँ परिक्रमा गर्दै बेहुली लिन पुरातर्फ हिँडे । उनीहरूलाई बेहुली पक्षले चौतारा नजिकै रोके र खाजा बाँडे । ‘भुटेको मकै खाजाका रूपमा दिइन्छ, नभुटेको मकै बीउ राखिएको डालीमा मिसाइन्छ,’ स्थानीय बिसबहादुर गुरुङले भने । त्यसरी आएका जन्तीबाट बेहुली पक्षले केही पैसासमेत लिए । ‘जन्तीले केही पैसा दिएपछि छाड्ने गर्छौं,’ उनले मकैको बिहे गर्ने परम्पराबारे सुनाए ।


बेहुला पक्ष पुराडाँडा पुगेपछि बेहुली फकाउन थाले । बिहानै पुगेको बेहुली पक्षले त्यहाँ छेस्काहरूले बारेर घर बनाएका थिए । जन्ती पुगेपछि बेहुली पक्षले ‘सम्पत्ति कति छ, छोराले कति पढेको छ’ भन्दै सोधीखोजी गरे । अनेक तवरले फकाएपछि अन्ततः केटी पक्ष विवाहका लागि राजी भयो ।


मकैको बिहेमा अविवाहित केटाकेटीलाई प्रतीकात्मक बेहुलाबेहुली बनाइएको थियो । डोलीमा बोकेर लैजानुपर्ने भएकाले बेहुलाबेहुली प्रायः १०/१२ वर्ष उमेरका छान्ने गरिन्छ । ‘यो पहिलेदेखि चलिआएको चलन हो,’ उनले भने ।


बेहुली लिएर आएका जन्तीले बाजा बजाउँदै गाउँ परिक्रमा गरे । बिहेका दिन स्थानीयले सामूहिक रूपमै केही मकै जम्मा गरेका थिए । त्यसपछि उक्त मकैलाई सुनपानी, गाईको गोबर पानीले चोख्याइयो । यति गरेपछि साँझ घाटु नाचेर यो वर्षको मकै बिहे समापन गरिएको गुरुङले बताए ।


लाप्राकमा धान खेती हुँदैन । यहाँको मुख्य खाद्य बाली मकै हो । मकै छर्ने बेला यसरी बिहे गर्दा उब्जनी राम्रो हुने विश्वास रहेको अर्का स्थानीय राज गुरुङ बताउँछन् । ‘यो प्रकृति पूजा हो,’ उनले भने । यो परम्परा १६ औं शताब्दीबाट सुरु भएको स्थानीयको अनुमान छ । ‘असिनापानीले बालीलाई असर नगरोस्, राम्रो फलोस्, किरा नलागोस् भनेर पूजा गरिन्छ,’ उनले थपे ।

प्रकाशित : फाल्गुन ११, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?