कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

घरपझोंगमा मिनी मुस्ताङ

कान्तिपुर संवाददाता

(पोखरा) — मुस्ताङ सदरमुकाम जोमसोम रहेको घरपझोंग गाउँपालिकाले जिल्लाभर रहेका धार्मिक तथा पर्यटकीयस्थल, रहनसहन, संस्कार, संस्कृति, भूगोल, सम्पदा झल्कने गरी ‘मिनी मुस्ताङ पार्क’ बनाउने भएको छ । विश्वविख्यात अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने मुस्ताङको सौन्दर्य र विशेषता एकै ठाउँमा हेर्न मिल्ने अवधारणाका साथ पार्क बनाउन लागिएको हो ।

घरपझोंगमा मिनी मुस्ताङ

हिमालपारिको मुस्ताङ पर्यटकीय जिल्ला हो । मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड, रहस्यमयी गुफा, गुम्बा, बालुवाको थुप्रो वा माटोको सहर यहाँ पाइन्छ । यतिमात्र होइन, मान्छेले कुँदेर बनाएको जस्तो नांगो राता पहाडले पनि पर्यटकको ध्यान आकर्षित गराउँछ । यस्ता स्थलहरुको प्रतिमूर्ति पार्कमा देख्न पाइने बताइएको छ ।


‘गाउँपालिका, प्रदेश र संघ सरकार तथा अन्य दाताको सहयोगमा पार्क बनाउने योजना हो,’ प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले भने, ‘अहिले डीपीआर बनाइरहेका छौं । दुई सातामा डीपीआर सकिएर निर्माणको चरणमा जान्छौं ।’ प्रारम्भिक प्रतिवेदनअनुसार पार्क करीब ३ सय ३५ रोपनी जग्गामा बन्नेछ । यसका लागि ४० करोड ३ लाख रुपैयाँ लाग्ने अनुमान छ । मुस्ताङ पुग्नेमध्ये ७५ प्रतिशत पर्यटकले पार्कको अवलोकन गर्ने र यसबाट वार्षिक ३ करोड आम्दानी र ७५ लाख रुपैयाँ खर्च हुने अनुमान छ ।


‘मुस्ताङका महत्वपूर्ण चिजलाई एकै ठाउँमा देखाउने योजना हो,’ गाउँपालिका अध्यक्ष आसबहादुर थकालीले भने, ‘आवश्यक परे ऋणसमेत लिएर आयोजना सफल पार्छौं ।’ उपाध्यक्ष शर्मिला गुरुङले पार्कमा जिल्लाका पाँच वटै गाउँपालिकाका महत्वपूर्ण स्थान, गुम्बा, ताल, मन्दिर, कुण्ड, बस्ती, काठेपुललगायतको प्रतिमूर्ति राखिने बताइन् । पार्क सशुल्क हुनेछ । त्यहाँ रेष्टुराँ र स्थानीय उत्पादनको पसल पनि रहनेछ ।


पार्कको प्रारम्भिक मोडेल हेरेपछि प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यो योजना प्रदेशकै गौरव हुनसक्ने बताए । ‘संघीयता कार्यान्वयनसँगै एउटा पालिकाले जिल्लाकै नेतृत्व गर्नसक्छ भन्ने यो एउटा उदाहरण पनि हो,’ उनले भने, ‘अन्यत्र सामान्य भए पनि यस्तो पार्क नेपालमै नौलो हो । गाउँपालिकाले आफ्नो सामर्थ्य देखाउने प्रयास गरेको छ ।’ पार्कका लागि बजेटको अभाव हुन नदिने उनले आश्वासन दिए ।

प्रकाशित : फाल्गुन ११, २०७६ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?