पोलले सडक निर्माणमा अवरोध

कान्तिपुर संवाददाता

पर्वत — सदरमुकाम कुश्माबजारलगायत पर्वतका विभिन्न सडकछेउमा रहेका विद्युतीय पोलका कारण सडक विस्तारमा समस्या परेको छ । पोल सार्न विद्युत् प्राधिकरणले चासो नदिएको सरोकारवालाले बताएका छन् । यतिबेला जिल्लामा करिब २ दर्जन सडक स्तरोन्नतिको चरणमा छन् ।

पोलले सडक निर्माणमा अवरोध

सिंगल ट्र्याकका सडक विस्तार गरेर २ लेनको बनाउन लागिएको छ । तर, पोल नहटाउँदा कामले गति लिन सकेको छैन । कुश्मा नगरपालिकाले अस्पतालचोक–बन्जीजम्प–हाइवे र भित्री सडक विस्तार गरिरहेको छ । अस्पतालचोक सडकमै करिब २ दर्जन पोल सडकको बीच भागमा छन् । भित्री बजारका सडकमा पनि त्यस्तै हालत छ । पोललाई समयमै व्यवस्थापन गर्नसके सडकको काम समयमै सकिने मात्रै नभई गुणस्तरीय समेत हुने भएकाले उपभोक्ता र निर्माण व्यवसायीले प्राधिकरणलाई आग्रह गरेका छन् ।


तर, प्राधिकरणको पर्वत वितरण कार्यालयले काम अघि बढाएको छैन । ‘हामीले धेरैपटक विद्युत्मा अनुरोध गर्‍यौं,’ कुश्मा–५ का ताराबहादुर थापाले भने, ‘कहिले के कहिले के भनेर टारिएको छ । बाटो बन्दै गर्दा पोल सार्न पाए दुवै काम पक्का हुने थियो ।’ सडक बनिसकेपछि पोल सार्नुपर्दा आसपासका जग्गाधनीले पोल गाड्ने जग्गा नदिने, सडक भत्किनेलगायत समस्या हुने उनले बताए । ‘हामीले पनि धेरैपटक आग्रह गरेका छौं,’ कुश्मा–५ की वडाध्यक्ष चित्रकला शर्माले भनिन्, ‘प्राधिकरणका कर्मचारी हेर्न पनि आएका छैनन् ।’


व्यवसायी भास्कर जोशीले पोल व्यवस्थापनमा सहयोगको आग्रहलाई प्राधिकरणले बेवास्ता गरेको गुनासो गरे । कालोपत्र सुरु हुने बेलासम्म पोल नसार्दा काम सक्न समस्या भएको उनले बताए । पोल नसारेकै कारण दुई साताअघि कुश्मा–५ कै गुम्बामा पोलमा टिपर ठोकिएको थियो । दुर्घटनामा चालक घाइते भएका थिए भने २ दिनसम्म विद्युत् अवरोध भएको थियो । ‘प्राधिकरणले समयमै पोल सारेर सहयोग गर्नुपर्छ,’ स्थानीय बलबहादुर पाठकले भने, ‘एकपटक सारिदिए काम छिटो हुन्थ्यो ।’


चालु वर्षमात्रै २ सयभन्दा बढी पोल सार्नुपर्ने भए पनि प्राधिकरणले तदारुकता देखाएको छैन । प्राधिकरण वितरण केन्द्र प्रमुख ललितनारायण चौधरीले एकैपटक सबै पोल सार्न सम्भव नभएको बताए । ‘पहिला नयाँ पोल तयार पारेर सिफ्ट गर्ने हो,’ उनले भने, ‘एकैसाथ सम्भव छैन । विस्तारै गर्ने हो ।’ उनले पोल सार्ने बजेट प्राधिकरणसँग नभएकोले सम्बन्धित निर्माण व्यवसायीले पनि सहयोग गर्नुपर्ने बताए ।

प्रकाशित : फाल्गुन ११, २०७६ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?