शाश्‍वतधाममा घुइँचो [तस्बिरहरु]

नारायण शर्मा

नवलपरासी — महाशिवरात्रि पर्वका अवसरमा यहाँको शाश्‍वतधाममा शुक्रबार बिहानैदेखि घुइँचो छ । धाम परिसरमा रहेका एकाम्बरेश्वर मन्दिर, एक सय ८ शिवलिंगमा जल चढाउने र पूजा गर्नेको भीड छ । आगन्तुकहरुलाई पञ्‍चेबाजा, बुद्धधर्मावलम्बीहरुको सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।

मन्दिर व्यवस्थानपनले भक्तजनहरुको सुविधाको लागि प्रवेशद्‍वारमै बेलपत्र, फूल प्रसादको व्यवस्था गरेको छ।


शिवलिंगमा बेलपत्र, दूध, जल चढाउनेहरुको समूहले छुट्टाछुट्टै भजनकीर्तन नाच गरेर श्रद्धा व्यक्त गर्नेहरुको लस्कार दिउँसोसम्मै देखिन्थो। शाश्‍वतधाम तेस्रो वर्ष प्रवेश गरेको अवसरमा शिवलिंग राखिएको स्थानमा महारुद्री अभिषेक, पूजा गरिएको थियो। एकैथलोमा हिन्दुधर्मका सबै देवीदेवताको पूजागर्न पाइने भएकाले भक्तजनहरुको विशेष श्रद्धा रहेको छ।


मन्दिरको मुख्य प्रदेशद्‍वारमा १२ वटा ओम लेखिएको झन्डा शुक्रबार फहराइएको छ। पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी लगायत शन्तमहन्तहरुले महाशिवरात्रिका अवसरमा एक वर्षसम्म राखिने झण्डोत्तलन गरेका थिए। शुक्रबार राति १० बजेसम्म पूजा भइरहने शाश्‍वतधाम व्यवस्थान समितिका रामचन्द्र धितालले जानकारी दिए। उनका अनुसार३३ महिनामा ३३ लाखले शाश्‍वतधाम दर्शन गरेका छन् ।








प्रकाशित : फाल्गुन ९, २०७६ १३:३३

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गल्ली ब्वाईको ताकत

मुम्बईको अँध्यारो गल्लीमा हुर्किएको र्‍यापरको कथा आइतबार भएको प्रतिष्ठित फिल्मफेयर अवार्डको १३ विधामा कसरी उत्कृष्ट भयो त ?
गोकर्ण गौतम

समीक्षकमाथि आरोप लागेको थियो– ‘गल्ली ब्वाई’ को चाहिनेभन्दा बढी गुनगान गाइयो । समीक्षकले पनि एकै स्वरमा जवाफ फर्कार्एका थिए– बलिउडको मूलधार मसालेदार सूत्रले ग्रस्त छ । त्यो हूलमा रणवीर सिंह, आलिया भट्टजस्ता ठूला स्टारलाई लिएर भुइँमान्छेको कथा उनीहरूकै भाषामा भन्नु साहस हो । त्यसैले यस्ता फिल्मको लिगेसी निर्माण गर्नु आवश्यक हुन्छ । 


सायद यस्तै केही सोचेर हुनुपर्छ, फिल्मफेयर अवार्डका निर्णायकले ‘गल्ली ब्वाई’ लाई बढ्तै माया गरेका छन् । फिल्मफेयरको ६५ औं संस्करणमा गल्ली ब्वाई १३ विधामा उत्कृष्ट ठहरियो । अर्थात् यसले कुन अवार्ड पायो होइन, कुन पाएन भन्नुपर्ने भएको छ । उत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, सह–अभिनेता, सह–अभिनेत्री, पटकथाजस्ता मुख्य सबै विधामा कब्जा गर्‍यो । यससँगै फिल्मफेयरको इतिहासमा सर्वाधिक अवार्ड चुम्ने रेकर्ड बनेको छ । सञ्जयलीला भन्सालीको ‘ब्ल्याक’ ले १४ वर्ष अगाडि राखेको ११ विधाको अवार्डको कीर्तिमान यसले तोडेको हो ।

भारतमा अनेकौं फिल्म अवार्ड हुन्छन्, त्यसमध्ये फिल्मफेयरको बेग्लै सान छ । तर, ‘गल्ली ब्वाई’ ले ‘क्लीन स्वीप’ गरेसँगै विवाद पनि निम्तियो । फिल्मफेयरमाथि अवार्ड बेचेको आरोप लागेको छ । बलिउडका ठूला हस्तीले यसबारे प्रतिक्रिया दिएका छैनन् । किनबेच भएको हो/होइन, आयोजक वा फिल्म युनिटलाई नै थाहा होला । तर, ‘गल्ली ब्वाई’ यो हदसम्मको सम्मानका लागि लायक रहेकोमा चाहिँ शंका छैन । उहीमाथि भन्याजस्तै यो एउटा ‘ट्रेन्ड सेटर्स’ फिल्म हो । र, यसले बलिउडको फिल्म मेकिङ शैलीमात्र होइन, वर्गीय विभेदलाई प्रश्रय दिइरहेको भारतीय राज्य व्यवस्थामाथि आक्रोश पोखेको छ, गल्लीको एउटा र्‍यापरमार्फत ।

नेपाली फिल्मकर्मी बलिउडबाट धेरै कुरा सिक्छन्, चोर्छन् पनि तर जे सिक्नुपर्ने हो, त्यो अक्सर सिक्दैनन् । आइटम डान्स, रोमान्स, फाइट र रोनाधाना नै सर्वोपरि ठान्ने फिल्मकर्मीको बाहुल्य छ यहाँ ।
यो सफलताको पहिलो हकदार हुन्, निर्देशक जोया अख्तर । फिल्म हेरेपछि थाहा हुन्छ, जोयाका लागि सिनेमा मनोरञ्जनात्मक उत्पादन होइन, सामाजिक अव्यवस्थाप्रति खरो सवाल गर्ने माध्यम हो । यसको पटकथा जोया र रीमा काग्ती मिलेर लेखेका हुन् ।

त्यसो त ‘गल्ली ब्वाई’ जोयाको कोरा काल्पनिक कथा होइन, दुई स्ट्रिट र्‍यापर डिभाइन र नाजीको जीवनसँग निकै नजिक छ । अभावलाई चिर्दै चम्किएका यी र्‍यापरको सामाजिक सञ्जालमा ठूलो फयान फलोइङ छ । चरित्रमा आफूलाई रूपान्तरण गर्न रणवीर सिंहले डिभाइन र नाजीसँगै मुम्बईका अन्डरग्राउन्ड र्‍यापरसँग लामो संगत गरेका थिए । यसको भिडियो फुटेज युट्युबमा प्रशस्त भेटिन्छ । त्यो मिहिनेत पर्दामा देखिन्छ पनि ।

फिल्ममा मुरद अहमद अर्थात् रणवीरका बाबु ड्राइभर छन्, चरम गरिबीबाट गुज्रिएकाले छोरा पनि आफूजस्तै काममा लागोस् भन्ने चाह राख्छन् । तर, मुरदले र्‍याप गाउन थालेपछि घरमा तनाव बढ्छ । बाबु–छोराको यही टकरावलाई केन्द्रमा राखेर जोयाले जातीय र वर्गीय असमानतामाथि कटाक्ष गरेकी छन् । विपन्नताले कतिसम्म दबाएको छ भने सपना देख्न र संघर्ष गर्नसमेत छुट छैन । झन्डै आफ्नो उमेरकी सौतेनी आमासँगको मुरदको सम्बन्धलाई जोयाले बडो संवेदनशील ढंगले व्यक्त गरेकी छन् ।


र्‍याप आफैंमा विद्रोहको संगीत हो । चर्को स्वरमा आक्रोश ओकलिन्छ । मुरद अहमदले आफूलाई अभिव्यक्त गर्न यही बाटो रोज्छ । उनलाई बिथोल्ने पात्र अनेक छन् तर यहीबीच प्रेरणा दिन आइपुग्छन्, र्‍यापमा धेरथोर नाम कमाइसकेका एमसी शेर (सिद्धान्त चतुर्वेदी) । उनी आफैं पनि अभावबाट पिल्सिएका हुन्छन् । रमाइलो तथ्यचाहिँ फिल्मभित्र सिद्धान्त रणवीरको ‘मेन्टर’ थिए, बाहिर ठ्याक्कै उल्टो । सिद्धान्तले रणवीरलाई टक्कर दिएका छन् । कतिले त सिद्धान्त नै स्वाभाविक देखिएको दाबी गरेका छन् । जबकि सुटिङ सुरु हुनु महिना दिन अगाडिमात्र उनी ‘गल्ली ब्वाई’ मा जोडिएका थिए । तर, पर्दामा एक्टर होइन, खाँटी र्‍यापर लाग्छन् । यतिबेला उनी ‘बन्टी और बब्ली २’ मा व्यस्त छन् ।

नेपाली फिल्मकर्मी बलिउडबाट धेरै कुरा सिक्छन्, चोर्छन् पनि तर जे सिक्नुपर्ने हो, त्यो अक्सर सिक्दैनन् । आइटम डान्स, रोमान्स, फाइट र रोनाधाना नै सर्वोपरि ठान्ने फिल्मकर्मीको बाहुल्य छ यहाँ । सानो पात्रको कथा ठूलो क्यानभासमा भन्ने आँट गर्दैनन्, जसरी ‘गल्ली ब्वाई’ ले भन्यो । यस्ता हेपिएका चरित्रले हाम्रो मूलधारका फिल्ममा मुख्य भूमिका पाउँदैनन्, पाइहाले पनि त्यसलाई जीवन्त बनाउन मिहिनेत गरिन्न । पात्र उभ्याइदिए पुग्छ भन्ने भ्रम छ । फेरि अचेल हामी फिल्मका लागि ‘कला’ ठूलो कि ‘व्यापार’ भनेर अलमलिरहेका छौं । तर, सिनेमा सशक्त हुने हो भने प्रशंसा र पैसा एकसाथ आर्जन हुन सक्छ भन्ने प्रमाण ‘गल्ली ब्वाई’ नै हो । यो फिल्मले भारतको घरेलु बजारमा भारु २३८ करोड ग्रस संकलन गर्‍यो, जबकि यसको लगानी ४० करोडमात्र थियो । अवार्डको वर्षात् त फिल्मफेयरबाट सुरु भइहाल्यो ।

प्रकाशित : फाल्गुन ९, २०७६ १३:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×