रबर उद्योगका संरचना जीर्ण

बजेट अभावसँगै भारतीय टायरसँग प्रतिस्पर्धा गर्न नसक्दा पाँच वर्षयता उद्योग बन्द 
हरिराम उप्रेती

(गोरखा) — पहिलो उत्पादन प्रवेशद्वारको सामुन्ने मन्दिरभित्र जस्ताको तस्तै छ । २०४९ मंसिर २९ मा यही ‘नमुना’ बाट गोरखा नगरपालिका–१३ मझुवा देउरालीस्थित गोरखकाली रबर उद्योगले नेपालमै पहिलोपटक टायरको व्यावसायिक उत्पादन सुरु गरेको थियो । ‘टायर राखेको मन्दिरको गजुर म आफैले बनाएको हुँ,’ उद्योगका पूर्वकर्मचारी हरेराम पोखरेलले भने । सुरुवातको चरणमा उद्योग तीन ‘सिफ्ट’ सम्म चलेको उनलाई सम्झना छ ।

दैनिक पौने सात बजे साइरन बज्थ्यो । सात बजे कर्मचारी उद्योग छिरिसक्थे । उद्योग चल्दा दैनिक सरदर ३० लाख रुपैयाँसम्मको कारोबार हुने गरेको पूर्वकर्मचारी ईश्वर परियारले बताए । गोरखकालीको टायर नेपालका विभिन्न सहरको अलावा बंगलादेश, भारत, श्रीलंकासम्म पुग्ने गरेको उनले सुनाए । ‘म फाइनल फिनिसिङ इन्चार्ज थिएँ, २३ वर्ष तीन दिन काम गरेँ,’ परियारले भने, ‘एकै दिन सानाठूला गरेर ५९८ पिससम्म टायर उत्पादन भएको थियो, उत्पादन गर्न सके बिक्रीको समस्या थिएन ।’ तर अहिले उद्योगबाट टायर उत्पादन हुँदैन । ‘आयो गोरखकाली’ कुनै बेलाको विज्ञापन अहिले रेडियो टेलिभिजनमा पनि बज्दैनन् । ‘देख्दा–देख्दै उद्योग यो अवस्थामा पुग्यो, एक स्थानीयले भने, ‘अब आयो होइन, गयो गोरखकाली ।’

रकम अभावमा २०५६ सालमा उद्योग सञ्चालनमा समस्या देखिएपछि तत्कालीन सरकारले ऋण सहयोग गरेको थियो । त्यसयता उद्योग झन्झन् संकटमा पर्‍यो । ‘२०७१ चैत २३ गते साँझ सात बजेसम्म काम गर्‍यौं,’ परियारले भने, ‘त्यो नै अन्तिम दिन रहेछ, भोलिपल्टबाट उद्योग चलाउन कच्चापदार्थ थिएन ।’ त्यसयता उद्योग बन्द भयो । बजेट अभावसँगै भारतीय टायरसँग प्रतिस्पर्धा गर्न नसक्दा उद्योग बन्द भएको हो । उद्योग नचल्दा दुई वर्षसम्म यहाँ कार्यरत दुई सय ५० कर्मचारी बेरोजगार बने । सरकारले २०७५ माघ ३ गते उनीहरूलाई अवकाश दिने निर्णय गर्‍यो ।

सञ्चालन नहुँदा उद्योगका संरचना जीर्ण बन्दै गएका छन् । भएका सवारीसाधन झाडीमा अलपत्र छन् । मेसिनरी सामग्रीमा खिया लाग्न थालेको छ । उद्योगभित्र माकुराका जाला मात्र भेटिन्छन् । ‘मेसिन ठीक छ कि छैन हेर्न २०७५ वैशाखमा चलायौं,’ परियारले भने, ‘यतिका समय चलेन, अब उद्योग चलिहाले पनि यसलाई मर्मतमै बढी खर्च लाग्छ ।’ उद्योग मन्त्रालयले सुरक्षाकर्मी खटाएको छ । सरसफाइ नहुँदा उद्योग परिसर झाडीले ढाकेको छ । त्यहाँ साँझमा स्याल र दिनभर बाँदर देखिन्छन् । उद्योगले ६ सय ६८ रोपनी क्षेत्रफल ओगटेको छ । उद्योग पुनः सञ्चालन गर्नुपर्ने स्थानीय र पूर्वकर्मचारीको माग छ । राज्यशक्तिले इच्छाशक्ति देखाए उद्योग सञ्चालनमा समस्या नरहेको परियारले बताए । ‘अहिले उत्पादन हुने वायस ट्रयाल टेक्नोलोजी हो, अब यसलाई रेडियल टेक्नोलोजीमा लैजानुपर्छ,’ उनले भने ।

पुरानो टेक्नोलोजी भएकाले अपग्रेड गरेर उद्योग चलाउनपर्ने उनको बुझाइ छ । उद्योग चले कर्मचारीको कारण अन्य क्षेत्र पनि चलायमान हुने उनले बताए । ‘यहाँबाट उत्पादन हुने वाहेस टायर हुन्, जुन कच्ची सडकका लागि राम्रो मानिन्छ,’ पूर्वकर्मचारी पोखरेलले भने, ‘नेपालका सडक कच्ची भएकाले यही प्रविधि प्रयोग गरेर केही वर्ष टायर उत्पादन गरे पनि हुन्छ ।’ अवकाशप्राप्त कर्मचारीलाई रकम वितरणपछि दोस्रो फेजमा उद्योग सञ्चालनको तयारी थाल्नुपर्ने उनले बताए । अवकाश पाएका कर्मचारीले वैकल्पिक पेसा अपनाएका छन् । २३ वर्ष रबर उद्योगमै बिताएका परशुराम श्रेष्ठले दुई किस्ता पाइसके । अन्तिम किस्ताको पर्खाइमा छन् । ‘अहिले स्टेसनरी चलाएको छु,’ उनले भने, ‘अरुले पनि अन्य पेसा सुरु गरिसकेका छन् ।’

हालसम्म उद्योगका कर्मचारीले दोस्रो किस्ता पाइसकेका छन् । ३ सय ५२ कर्मचारीलाई ६० करोड रुपैयाँ वितरण भइसकेको संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलले बताए । ३४ करोड रुपैयाँ बाँड्न बाँकी रहेको र यही महिनाभित्र वितरण गरिसक्ने उनले जानकारी दिए । उद्योग सञ्चालनको विषयमा भने उनले खुलाउन चाहेनन् ।

प्रकाशित : फाल्गुन ९, २०७६ ०९:५०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कैदीबन्दीमा बढ्दै स्वास्थ्य समस्या

कान्तिपुर संवाददाता

(लमजुङ) — बेंसीसहरस्थित जिल्ला कारागारका कैदीबन्दीलाई रुघाखोकी र ज्वरोको समस्या देखिएको छ । यसैगरी छाला, मधुमेह र उच्च रक्तचापका दीर्घरोगी पनि उत्तिकै रहेको कारागारले जनाएको छ । 

स्वास्थ्य कार्यालयले जिल्ला सामुदायिक अस्पताल र कारागारको समन्वयमा कारागारभित्रै बिहीबार स्वास्थ्य शिविर गर्‍यो । स्वास्थ्य परीक्षण साथै एचआईभी र क्षयरोग नमुना संकलन शिविरमा गरिएको स्वास्थ्य परीक्षणमा सहभागी कैदीबन्दीमा केही न केही स्वास्थ्य समस्या देखिएको चिकित्सकले बताएका छन् । डा. हेमा छन्त्यालका अनुसार कैदीबन्दीमा धेरैजस्तो रुघाखोकी र सामान्य ज्वरो आएका बिरामी छन् । सुगर र प्रेसरका बिरामी पनि छन् । बिरामीलाई स्वास्थ्य जाँचसँगै परामर्श दिएको उनले बताइन् ।

लमजुङ मोडेल हस्पिटलका डा. अनिल थापाका अनुसार कैदीबन्दीमा रुघाखोकी र सामान्य ज्वरोका अलावा छालासम्बन्धी समस्या देखिएको छ । ‘दाद, लुतोजस्ता छालाको समस्या देखियो । दमको बिरामी होलान् भनेको थिएँ, यहाँ चुरोट खैनी बन्द रहेछ,’ उनले भने, ‘फोहोर पानी प्रयोग, सफासुग्घर नहुनु र साँघुरो ठाउँमा धेरै जना भएकाले कैदीबन्दीमा बिरामी हुने समस्या देखियो ।’ ३५ जनाको क्षमतामा अहिले कारागारमा ७४ जना राखिएको छ । सुत्ने ठाउँ आडैमा शौचालय छ । ट्यांकीको पानी सफा छैन । कारागारको चौघेरोभित्र रहे पनि भीडभाड बढी भएकाले उनीहरूमा संक्रमण फैलिएको अनुमान छ ।

स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरोजकुमार श्रेष्ठका अनुसार सबै कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको थियो । यीमध्ये ३१ जनाको सुगर, क्षयरोग र एचआईभीको परीक्षणका लागि रगत संकलन गरिएको छ । कार्यालयका स्वास्थ्य अधिकृत अमर दवाडीका अनुसार बिरामीलाई स्वास्थ्य कार्यालयले औषधि वितरण गरेको थियो । ‘आवश्यकताअनुसार हामीले औषधि वितरण गर्‍यौं,’ उनले भने । उनका अनुसार स्वास्थ्य कार्यालय, लमजुङ जिल्ला सामुदायिक अस्पताल र लमजुङ मोडेल हस्पिटलका १२ जना स्वास्थ्यकर्मी शिविरमा खटिएका थिए । ‘कारागारभित्र बस्ने ठाउँ सानो भएकाले स्वास्थ्य समस्या हुने गरेको छ । हुलमुलमा क्षयरोगजस्ता संक्रमणको जोखिम छ । शारीरिक व्यायाम छैन । सुगरजस्ता समस्या देखिएका छन । रुघाखोकी, सामान्य ज्वरो, छालासम्बन्धी समस्या बारम्बार देखिन्छन् । यसैले स्वास्थ्य शिविर आवश्यक भयो,’ उनले भने ।

कारागारका चौकिदार दिनेश परियारले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले पनि स्वास्थ्य समस्या देखिइरहने बताए । ‘कहिलेकाहीं यहींबाट बिरामीलाई अस्पताल लानुपर्छ,’ उनले भने । कारागारका नाइके राजन पोखरेलका अनुसार शिविर सञ्चालनले सबैभन्दा बढी नियमित औषधि सेवन गर्ने बिरामीलाई सहज भएको छ । ‘अहिले स्वास्थ्यकर्मी आउनुहुन्छ । यहीं जाँच्नु हुन्छ । औषधि दिनुहुन्छ,’ उनले भने, ‘कहिलेकाहीं भाइरलको समस्या हुन्छ । बिरामी भइरहेका हुन्छन् । अहिले सजिलो भएको छ ।’

कारागारका शाखा अधिकृत जेलर विष्णुप्रसाद पौडेलका अनुसार कारागारमा रहेका ७४ जनामध्ये ४९ जना कैदी छन् । बाँकी २५ जना पुर्पक्षका लागि थुनामा छन् । महिला ६ जना कैदी र १ थुनुवा गरी महिला ७ जना छन् । थुनामामध्ये २४ पुरुष र १ महिला हुन् । सबैभन्दा बढी कर्तव्य ज्यान मुद्दा र जबर्जस्ती करणी मुद्दाका कैदीबन्दी छन् । ‘कैदीबन्दी क्षमताभन्दा धेरै छन् । सामान्य बिरामी भइरहन्छन् । हामीले बेलाबेला स्वास्थ्य शिविर गर्दै आएको छौं,’ उनले भने ।

प्रकाशित : फाल्गुन ९, २०७६ ०९:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×