कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कैदीबन्दीमा बढ्दै स्वास्थ्य समस्या

कान्तिपुर संवाददाता

(लमजुङ) — बेंसीसहरस्थित जिल्ला कारागारका कैदीबन्दीलाई रुघाखोकी र ज्वरोको समस्या देखिएको छ । यसैगरी छाला, मधुमेह र उच्च रक्तचापका दीर्घरोगी पनि उत्तिकै रहेको कारागारले जनाएको छ । 

कैदीबन्दीमा बढ्दै स्वास्थ्य समस्या

स्वास्थ्य कार्यालयले जिल्ला सामुदायिक अस्पताल र कारागारको समन्वयमा कारागारभित्रै बिहीबार स्वास्थ्य शिविर गर्‍यो । स्वास्थ्य परीक्षण साथै एचआईभी र क्षयरोग नमुना संकलन शिविरमा गरिएको स्वास्थ्य परीक्षणमा सहभागी कैदीबन्दीमा केही न केही स्वास्थ्य समस्या देखिएको चिकित्सकले बताएका छन् । डा. हेमा छन्त्यालका अनुसार कैदीबन्दीमा धेरैजस्तो रुघाखोकी र सामान्य ज्वरो आएका बिरामी छन् । सुगर र प्रेसरका बिरामी पनि छन् । बिरामीलाई स्वास्थ्य जाँचसँगै परामर्श दिएको उनले बताइन् ।


लमजुङ मोडेल हस्पिटलका डा. अनिल थापाका अनुसार कैदीबन्दीमा रुघाखोकी र सामान्य ज्वरोका अलावा छालासम्बन्धी समस्या देखिएको छ । ‘दाद, लुतोजस्ता छालाको समस्या देखियो । दमको बिरामी होलान् भनेको थिएँ, यहाँ चुरोट खैनी बन्द रहेछ,’ उनले भने, ‘फोहोर पानी प्रयोग, सफासुग्घर नहुनु र साँघुरो ठाउँमा धेरै जना भएकाले कैदीबन्दीमा बिरामी हुने समस्या देखियो ।’ ३५ जनाको क्षमतामा अहिले कारागारमा ७४ जना राखिएको छ । सुत्ने ठाउँ आडैमा शौचालय छ । ट्यांकीको पानी सफा छैन । कारागारको चौघेरोभित्र रहे पनि भीडभाड बढी भएकाले उनीहरूमा संक्रमण फैलिएको अनुमान छ ।


स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरोजकुमार श्रेष्ठका अनुसार सबै कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको थियो । यीमध्ये ३१ जनाको सुगर, क्षयरोग र एचआईभीको परीक्षणका लागि रगत संकलन गरिएको छ । कार्यालयका स्वास्थ्य अधिकृत अमर दवाडीका अनुसार बिरामीलाई स्वास्थ्य कार्यालयले औषधि वितरण गरेको थियो । ‘आवश्यकताअनुसार हामीले औषधि वितरण गर्‍यौं,’ उनले भने । उनका अनुसार स्वास्थ्य कार्यालय, लमजुङ जिल्ला सामुदायिक अस्पताल र लमजुङ मोडेल हस्पिटलका १२ जना स्वास्थ्यकर्मी शिविरमा खटिएका थिए । ‘कारागारभित्र बस्ने ठाउँ सानो भएकाले स्वास्थ्य समस्या हुने गरेको छ । हुलमुलमा क्षयरोगजस्ता संक्रमणको जोखिम छ । शारीरिक व्यायाम छैन । सुगरजस्ता समस्या देखिएका छन । रुघाखोकी, सामान्य ज्वरो, छालासम्बन्धी समस्या बारम्बार देखिन्छन् । यसैले स्वास्थ्य शिविर आवश्यक भयो,’ उनले भने ।


कारागारका चौकिदार दिनेश परियारले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले पनि स्वास्थ्य समस्या देखिइरहने बताए । ‘कहिलेकाहीं यहींबाट बिरामीलाई अस्पताल लानुपर्छ,’ उनले भने । कारागारका नाइके राजन पोखरेलका अनुसार शिविर सञ्चालनले सबैभन्दा बढी नियमित औषधि सेवन गर्ने बिरामीलाई सहज भएको छ । ‘अहिले स्वास्थ्यकर्मी आउनुहुन्छ । यहीं जाँच्नु हुन्छ । औषधि दिनुहुन्छ,’ उनले भने, ‘कहिलेकाहीं भाइरलको समस्या हुन्छ । बिरामी भइरहेका हुन्छन् । अहिले सजिलो भएको छ ।’


कारागारका शाखा अधिकृत जेलर विष्णुप्रसाद पौडेलका अनुसार कारागारमा रहेका ७४ जनामध्ये ४९ जना कैदी छन् । बाँकी २५ जना पुर्पक्षका लागि थुनामा छन् । महिला ६ जना कैदी र १ थुनुवा गरी महिला ७ जना छन् । थुनामामध्ये २४ पुरुष र १ महिला हुन् । सबैभन्दा बढी कर्तव्य ज्यान मुद्दा र जबर्जस्ती करणी मुद्दाका कैदीबन्दी छन् । ‘कैदीबन्दी क्षमताभन्दा धेरै छन् । सामान्य बिरामी भइरहन्छन् । हामीले बेलाबेला स्वास्थ्य शिविर गर्दै आएको छौं,’ उनले भने ।

प्रकाशित : फाल्गुन ९, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?