कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२१ करोड लागतमा चिस्यान केन्द्र

कान्तिपुर संवाददाता

नवलपरासी — पूर्वी नवलपरासीको कावासोतीमा निजी लगानीमा चिस्यान केन्द्र बन्ने भएको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवाको २१ करोड रुपैयाँको लागतमा केन्द्र बनाउन लागिएको हो । 

केन्द्रमा ३ हजार मेट्रिक टन खाद्यान्न राख्न मिल्नेछ । आठ फरकफरक कोठामा फलफूल, तरकारी, मासु राख्न मिल्ने गरी अत्याधुनिक स्टिल स्ट्रक्चरको केन्द्र बन्नेछ । कावासोती–१४ अर्ग्यौलीमा बन्न लागेको चिस्यान केन्द्र अत्याधुनिक सुविधाको हुने डिजाइनकर्ता एरिकन प्रालिका प्रबन्ध निर्देशक लोना घर्तीमगरले बताए । उनका अनुसार त्यहाँ राखिने खाद्यान्नको सबै काम मेसिनले गर्नेछ । मेसिनले खाद्यान्न राख्ने, झिक्ने गर्ने भएकाले छिटोछरितो हुने उनको भनाइ छ । चिस्यान केन्द्रका लागि आवश्यक सबै मेसिन जर्मन प्रविधिमा आधारित छन् । ती उपकरण चीन र भारतमा अर्डर भइसकेको उनले बताए । रिटर्नी माइग्रेट नेपालको कृषि तथा पशुपालन समूहले चिस्यान केन्द्र बनाउन लागेको हो । केन्द्रमा १ सय १५ जनाको लगानी रहेको रिटर्नी माइग्रेट गण्डकी प्रदेशका अध्यक्ष नेत्र थनेतले जानकारी दिए ।


केन्द्र र प्रदेश सरकारको पनि लगानी रहेको छ । केन्द्र सरकाले ५० प्रतिशत, प्रदेश सरकारले २० प्रतिशत सहयोग गर्ने गरी कृषि मन्त्रालयसँग सम्झौता भइसकेको थनेतले जनाए । १८ कठ्ठा जग्गा बन्ने केन्द्रको सञ्चालनको जिम्मेवारी रिटर्नीले लिएको हो । केन्द्र डेढ वर्षमा बनिसक्नेछ । केन्द्रमा राख्नका लागि स्थानीय तहबाट ठूलो परिमाणमा अर्ग्यानिक उत्पादनमा जोड दिने तयारी रिटर्नी नेपालको छ । महेन्द्रराजमार्गको डण्डा बजारबाट डेढ किलोमिटर दक्षिणमा केन्द्र निर्माण भइरहेको हो । राजमार्ग नजिक भएकाले धेरै जिल्लाका उत्पादन चिस्यान केन्द्रमा राख्न सजिलो हुने निर्माणकर्ताको विश्वास छ । प्रकाशित : फाल्गुन ९, २०७६ ०९:४३

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सानीभेरीमा गाउँपालिका अस्पताल

गाउँपालिकाले संवैधानिक व्यवस्था कार्यान्वयन गर्दै छोटेबगरस्थित स्वास्थ्यचौकीलाई १५ शरयाको अस्पतालमा रुपान्तरित गरेको हो
हरि गौतम

रुकुम पश्‍चिम — सानीभेरी गाउँपालिकाले १५ शय्याको अस्पतालबाट उपचार सुरु गरेको छ । ७ नम्बर वडाको छोटेबगरस्थित सिम्ली स्वास्थ्यचौकीलाई स्तरोन्नति गरेर अस्पताल बनाइएको हो । 

अस्पतालमा डा. कविन बस्नेत नेतृत्वमा स्वास्थ्यकर्मीले अस्पतालमा उपचार थालेका छन् । अस्पताल सञ्चालनका लागि गाउँपालिकाले करारमा केही स्वास्थ्यकर्मी र प्राविधिक जनशक्ति नियुक्त गरेका छ । गत आर्थिक वर्षबाट थालिएको पूर्वाधार निर्माणको काम सकिएपछि गत शुक्रबार प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले अस्पतालको उद्घाटन गरे ।

‘नेपालको संविधानमा हरेक गाउँपालिकामा १५ र नगरपालिकामा २५ शय्याको अस्पताल हुने व्यवस्था गरिएको छ,’ गाउँपालिका अध्यक्ष नरबहादुर पुनले भने, ‘अस्पताल सञ्चालनका विधि प्रक्रियाबारे स्थानीय सरकार सञ्चालन ऐनमा प्रष्ट छ । सोही ऐनका आधारमा अस्पताल सञ्चालनको प्रक्रिया अघि बढाइएको हो ।’ उनका अनुसार अस्पताल सञ्चालन कार्यविधि लागू गरी अस्पताल सञ्चालनका लागि आवश्यक दरबन्दी संख्या पनि एकीन गरिएको छ ।

गाउँपालिकाका स्वास्थ्य संयोजक छवीलाल केसीले १५ शय्याको अस्पताल सञ्चालनका लागि ३२ जनाको दरबन्दी स्वीकृत गरिएको जानकारी दिए । उनका अनुसार अस्पतालका लागि स्त्री, बालरोग र हाडजोर्नीका एक/एक जना विशेषज्ञ चिकित्सकको व्यवस्था गरिएको छ भने ३ जना एमबीबीएस डाक्टरको दरबन्दी कायम गरिएको छ । कार्यविधिअनुसार स्वास्थ्यकर्मीबाहेक प्रशासक, कार्यालय सहयोगी र पालेसमेत गरी ३२ जनाको दरबन्दी स्वीकृत गरिएको उनको भनाइ छ । ‘अस्पताल भर्खरै सञ्चालनमा आएकाले सबै दरबन्दीमा स्वास्थ्यकर्मी भर्ना गर्न सकिएन,’ संयोजक केसीले भने, ‘पहिलो चरणमा एमबीबीएसको नेतृत्वमा स्वास्थ्यकर्मी परिचालन गरी उपचार सुरु गरिएको हो ।’ उनले गुणस्तरीय उपचार प्रवाह गर्नका लागि छिट्टै विशेषज्ञ चिकित्सक र अन्य स्वास्थ्यकर्मीको व्यवस्था गर्न लागिएको जनाए ।

अस्पतालमा एक चिकित्सकसहित एक/एक स्टाफ नर्स, अहेब, रेडियोग्राफर, ल्याब टेक्निसियन, ल्याब असिस्टेन्ट र दुई कार्यालय सहयोगीले सेवा प्रवाह थालेका हुन् । अस्पतालबाट बहिरंग, अन्तरंग, प्रयोगशाला, आकस्मिक, प्रसूति, एक्सरे र सामान्य सल्यक्रिया सेवा सुरु गरिसकिएको गाउँपालिकाले जनाएको छ । अध्यक्ष पुनले प्रतिकारात्मक, प्रवर्द्धनात्मक, परिवार नियोजन, क्षय–कुष्ठरोग निवारण, फार्मेसी, एम्बुलेन्सलगायत सेवा पनि प्रवाह भइरहेको जानकारी दिए । उनका अनुसार सुलभ शुल्कमा गुणस्तरीय उपचार प्रवाह हुन थालेपछि उपचारका लागि बाहिर जानुपर्ने बाध्यता टरेको छ । वडा वडामा सामुदायिक स्वास्थ्य इकाई स्थापनापछि अस्पतालबाट उपचार सुरु गरिएको उनको भनाइ छ । ‘स्वास्थ्य जनताको आधारभूत आवश्यक्ता हो र संविधानबाट प्रदत्त अधिकार पनि,’ उनले भने, ‘त्यसैलाई मूर्तरुप दिन अस्पताल निर्माणको प्रयास थालेका थियौं, सफल पनि भइयो ।’ उनले सीमित स्रोत साधनबाट अस्पतालको सेवा सुरु गरेको भन्दै क्रमशः सुविधा थपिने जानकारी दिए । गाउँमै अस्पताल स्थापना भएपछि कुनै रोग वा चोटपटक लागेमा जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय कमल केसीले बताए । ‘सडक पुगेका वडाबाट बिरामी बोक्न एम्बुलेन्सको व्यवस्था गरिएको छ, वडा वडामा सामुदायिक स्वास्थ्य इकाई छन्,’ उनले भने, ‘अस्पताल पनि सुरु भएपछि स्थानीय सरकारको अनुभूति भएको छ ।’ जिल्लाका ६ स्थानीय तहमध्ये अस्पताल सुरु गर्ने सानीभेरी दोस्रो स्थानीय तह हो । यसअघि आठबीसकोट नगरपालिकाले नगर अस्पताल सञ्चालनमा ल्याएको थियो ।

जिल्ला अस्पताल प्रदेशमा रूपान्तरित
वीरेन्द्रनगर– कुनै समय मुस्किलले एक जनामात्र डाक्टर हुने सुर्खेत जिल्ला अस्पताल अहिले कर्णाली प्रदेश अस्पतालमा रुपान्तरित भएको छ । खरले छाएको दुईतले भवन (स्वास्थ्य तालिम केन्द्र भएको स्थान) मा स्वास्थ्यकर्मी र औषधि नहुँदा बिरामीलाई उपचारका लागि नेपालगन्ज, काठमाडौं र भारतको लखनउसम्म पुर्‍याउनुपर्ने बाध्यता थियो । प्रदेश अस्पतालमा अहिले १६ जना विशेषज्ञ चिकित्सक कार्यरत छन् भने डाक्टरको संख्या २२ छ ।

२०२९ सालदेखि ६२ सालसम्म १५ शय्याको जिल्ला अस्पतालले पूर्वाधार, उपकरण र औषधिको अभाव झेलिरह्यो । ०६२ फागुन ७ गते ५० शय्याको बनेपछि सोही अस्पतालले क्षेत्रीय अस्पतालको मान्यता पायो । क्षेत्रीय अस्पताल भएलगत्तै सरकारले अस्पतालमा स्वीकृत गरेका २४ जना चिकित्सकको दरबन्दीले कहिल्यै पूर्णता पाएन । आव ०६२/६३ देखि ०७१/७२ सम्म ११ जना चिकित्सक मात्रै सरकारले तथ्यांक अस्पतालसँग छ । ‘बिरामीलाई सहज सेवा दिन नसकेको गुनासो सधैं सुनिन्थ्यो,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्मर खड्काले भने, ‘अस्पतालले उपचारमा लापरवाही गरेको भन्ने आरोप पनि पटकपटक लाग्यो ।’ विभिन्न आरोहअवरोह पार गर्दै अस्पताल केही सन्तोषजनक अवस्थामा पुगेको उनी बताउँछन् ।

गत कात्तिक १३ गतेदेखि क्षेत्रीय अस्पताल प्रदेश अस्पतालको रुपमा सञ्चालित छ । करिब चार वर्षयता अस्पतालले गुणात्मक र भौतिक रूपमै सेवा सुधार्दै लगेको छ । डा. खड्काले दक्ष जनशक्ति तथा अत्याधुनिक उपकरणको व्यवस्थापन तथा प्रभावकारी सेवाले अस्पतालप्रति विश्वास बढेको बताए । उनका अनुसार कुनै समय विशेषज्ञ चिकित्सकै नबस्ने अस्पतालमा अहिले स्वास्थ्यकर्मी अभाव छैन । १६ जना विशेषज्ञ चिकित्सक छन् । तीमध्ये १२ जना कर्णालीवासी भएकाले दक्ष चिकित्सकको अभाव नभएको उनले जनाए । अस्पताल प्रशासनका अनुसार अहिले २२ एमबीबीएस र एमडी डाक्टरले बिरामीको उपचार गरिरहेका छन् । उनका अनुसार प्रदेश सरकारले सेवाविस्तार गर्ने योजना बनाएपछि थप राहत मिलेको हो  ।

प्रदेश मातहत गएपछि सरकारले अहिले एक सय २५ जना स्वास्थ्यकर्मीको दरबन्दी कायम गरेको छ । त्यसमध्ये चिकित्सकको दरबन्दी ७७ जना छ । अस्पतालका अनुसार अहिले सरकार र आन्तरिक स्रोतबाट एक सय १५ शय्यामा बिरामीको उपचार भइरहेको छ । भौतिक पूर्वाधारमा पनि अस्पतालले फड्को मारेको डा. खड्काको भनाइ छ । उनका अनुसार करिब ५५ करोड रुपैयाँ लागतमा तीन सय शय्या क्षमताको भवन निर्माण भएको छ । उक्त भवनमा वैशाखदेखि तीन सय शय्याको सेवा दिनेगरी तयारी भइरहेको उनले जानकारी दिए ।

प्रकाशित : फाल्गुन ९, २०७६ ०९:४२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×