१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सालझण्डी–ढोरपाटन सडक : वर्षौंदेखि जोखिमपूर्ण यात्रा

प्रकाश बराल

(बागलुङ) — दशकअघि रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँची हुँदै बागलुङको ढोरपाटन जोड्ने सडकको रेखांकन भयो । तराईदेखि पहाड जोड्ने उक्त सडकको ट्र्याक खुलेको ७ वर्ष बिते पनि बागलुङको खण्डको अझै स्तरोन्नति हुन सकेको छैन ।

सालझण्डी–ढोरपाटन सडक : वर्षौंदेखि जोखिमपूर्ण यात्रा

बागलुङको राजकुत, दर्लिङ र ढोरपाटन क्षेत्रमा पर्ने सडकको दुरवस्थाका कारण स्थानीयले जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । पर्यटकीयस्थल र मुलुककै एकमात्र शिकार आरक्ष भए पनि ढोरपाटन पुग्न अझै सास्ती खेप्नुपर्छ । बुर्तिवाङदेखि ३६ किमी पश्चिममा ढोरपाटन छ । बुर्तिवाङसम्म मध्यपहाडी लोकमार्गको सडकले सहज यात्रा भए पनि त्यसपछि जोखिमको यात्रा गर्नुपर्छ ।


‘ढोरपाटन आउन खोज्ने पर्यटक सडक अप्ठ्यारो भएकै कारण कार्यक्रम रद्द गर्छन्,’ ढोरपाटन नगरप्रमुख देवकुमार नेपालीले भने, ‘गौरवको आयोजनामा नगरले लगानी गर्न नमिल्ने, उनीहरूले काम नगर्ने प्रवृत्तिले दुःख पाइयो ।’ हरेक वर्षात्मा खाल्डाखुल्डी पुर्ने काममा नगरपालिकाले लगानी गरिरहेको उनले बताए । सडक अप्ठयारो भएपछि बोबाङ, फलेघर र देउरालीमा यात्रा गर्न सास्ती छ । ढोरपाटनमा झण्डै १ हजारभन्दा बढी घर छन् । उनीहरूको दैनिक खाद्यान्न ढुवानी बुर्तिवाङबाटै गर्नुपर्छ । ‘हिउँदका दिनमा बल्लबल्ल पुगिन्छ, हिउँ र पानी पर्दा चिप्लो र उकालो बाटोले सवारी फस्छन्,’ बोबाङका शिक्षक यामबहादुर कायतले भने, ‘ढोरपाटन घुम्न आएका धेरै पर्यटक बोबाङबाटै फर्कन्छन् ।’ यहाँका किसानलाई कृषि उत्पादन बजार पुर्‍याउन समस्या भइरहेको छ ।


यही हिउँदमा स्तरोन्नति गर्ने भने पनि अहिलेसम्म सुरु भएको छैन । आयोजना प्रमुख जयलाल मरासिनीले बजेट अभावमा ढिलाइ भएको बताए । ‘दुई सय किमी सडकमा २५ करोड बजेट छ । कता खर्चने ?’ उनले भने, ‘यो बजेटले भत्केका स्थानमा मर्मत गर्दैमा ठिक्कै छ ।’ उक्त बजेटमध्ये अर्घाखाँचीतर्फ बढी खर्च गरिएको उनले जनाए । ‘पाल्पा खण्डमा केही लगानी गरेका छौं, बागलुङका लागि २ करोड बजेट छ,’ उनले भने, ‘आयोजनाको तर्फबाट ३ अर्ब ९८ करोडको बजेट माग भएकोमा विनियोजन नभएर काम नभएको हो ।’ बागलुङ खण्डको केही स्थानमा ट्र्याकसमेत परिवर्तन गर्नुपर्ने भएको छ ।

प्रकाशित : फाल्गुन ८, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?