कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्वतमा स्वास्थ्य बिमा

पाँच जनासम्मको परिवारले वार्षिक तीन हजार पाँच सय रुपैयाँ बिमा शुल्क तिर्नुपर्ने
अगन्धर तिवारी

(पर्वत) — पर्वतमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । जिल्लाका ७ वटा पालिकाका ६१ वटै वडा समेट्ने गरी सोमबारदेखि कार्यक्रम लागू भएको हो । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले ज्येष्ठ नागरिक लोकनाथ आचार्य र जिल्ला समन्वय समितिका प्रमुख मनोहर विश्वकर्मा पौडेललाई बिमा कार्ड वितरण गरेर कार्यक्रमको प्रारम्भ गरे । सोही अवसरमा कार्यक्रममा सहभागी जिल्लाका सबै स्थानीय तहका प्रमुखहरूलाई समेत बिमा कार्ड वितरण गरियो ।

पर्वतमा स्वास्थ्य बिमा

स्वास्थ्य बिमा सुरु गर्नेमा पर्वत ५२औं जिल्ला बनेको छ । गण्डकी प्रदेशमा सातौं जिल्लाका रुपमा पर्वतमा सुरु गरिएको निर्देशक पोखरेलले बताए । ४ वर्षअघि सुरु भएको बिमा कार्यक्रममा हालसम्म एक लाख ४२ हजार परिवारका २६ लाख १७ हजार सदस्य सहभागी भएको उनले बताए । तीमध्ये ७५ प्रतिशतले नवीकरण गरेको भन्दै पोखरेलले आगामी वर्षभित्र देशका ७७ वटै जिल्लामा यो कार्यक्रम पुर्‍याउने लक्ष्य रहेको बताए ।


‘बिमा कार्यक्रमबारे अनावश्यक टिप्पणी भएका छन्,’ उनले भने, ‘त्यस्ता हल्लाको पछि नलाग्नुस् ।’ केही सूचीकृत अस्पतालमा डाक्टरहरूले कमिसनको लोभमा परेर बिमाले समावेश गरेका औषधि सिफारिस नगरेका गुनासा आएको भन्दै उनले त्यस्ता चिकित्सकलाई कारबाही गरिने बताए । स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनका लागि प्रत्येक वडामा एक जना दर्ता सहयोगी परिचालन गरिएको छ । दर्ता सहयोगीले घरघरै पुगेर हरेक परिवारलाई बिमामा आबद्ध गराउने जनाइएको छ । २०६८ को जनगणना अनुसार पर्वतको जनसंख्या एक लाख ४६ हजार ५ सय ९० छ, जसमध्ये चालु वर्ष दुई तिहाइ जनसंख्यालाई समेट्ने लक्ष्य राखेको बोर्डको गण्डकी प्रदेश प्रमुख जीवलाल खरेलले बताए ।


उनका अनुसार परिवार पाँच जनासम्मको परिवार हुनेले वार्षिक तीन हजार पाँच सय रुपैयाँ बिमा शुल्क तिर्नुपर्ने व्यवस्था छ । त्यसभन्दा बढी प्रतिसदस्य सात सयका दरले थप रकम तिनुपर्नेछ । बीमित परिवारलाई सूचीकृत अस्पतालबाट एक लाख रुपैयाँसम्मको उपचार सेवा उपलब्ध हुने कार्यक्रममा जानकारी गराइयो । ७० वर्ष माथिका ज्येष्ठ नागरिक, अति विपन्न परिवार, एचआईभी लगायत गम्भीर रोग लागेका परिवारलाई निःशुल्क बिमा गराइने बताइएको छ ।


कार्यक्रममा सहभागीले यसको निरन्तरता र नवीकरणको प्रभाव बढाउन सेवामा गुणस्तर आवश्यक हुनुपर्ने बताए । यसअघि बागलुङबाट बिमा गरेका राष्ट्रिय जनमोर्चा पर्वतका अध्यक्ष धनबहादुर सुनारले सूचीकृत अस्पतालहरूमा उपचार नपाइएको, स्वास्थ्यकर्मीले औषधि दिन नमानेको लगायतका समस्या रहेको औंल्याए । नेपाली कांग्रेसका सचिव अशोक उचै ठकुरीले बिमाको प्रभावकारिता नवीकरण गर्ने परिवारको संख्याले निर्धारण गर्ने बताए । नेकपाका नेता एवं अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले आगामी जेठदेखि सेवा दिन अस्पताल तयार रहेको दाबी गरे ।

प्रकाशित : फाल्गुन ७, २०७६ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?