कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

एबीसीमा हेलिकप्टरको व्यावसायिक उडानमा निषेध

अन्नपूर्ण संरक्षण क्षेत्रमा अत्यधिक हेलिकप्टर उडानले पर्यावरण तथा पदयात्रा पर्यटनमा असर पुर्‍याएको र हिमपहिरोको जोखिम बढाएको भन्दै व्यावसायिक उडानमा प्रतिबन्ध
दीपक परियार

(पोखरा) — अन्नपूर्ण आधार शिविर (एबीसी) मा हेलिकप्टरको व्यावसायिक उडानमा रोक लगाइएको छ । गत माघ ३ मा एबीसी ट्रेकअन्तर्गत देउरालीमा गएको हिमपहिरोमा हराइरहेकाहरुको उद्धार बाहेकका उडानमा रोक लगाइएको हो ।

एबीसीमा हेलिकप्टरको व्यावसायिक उडानमा निषेध

कास्कीको अन्नपूर्ण गाउँपालिकाले गत वर्ष साउनमा भएको चौंथो नगरसभाबाटै हेलिकप्टर निषेध गर्ने निर्णय गरेको थियो । तर, कार्यान्वयन हुन सकेको थिएन । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र पर्ने एबीसीमा हेलिकप्टर उडाउन निश्चित शुल्क तिरेर अनुमति लिनुपर्ने भएपछि हवाई कम्पनीले लिएका थिएनन् ।


हिमपहिरोपछि भने गाउँपालिकाको वडा नम्बर ११ ले जिल्ला प्रशासन कार्यालयलाई सहजीकरण गरिदिन निवेदन पठायो । अन्नपूर्ण संरक्षण क्षेत्रमा अत्यधिक हेलिकप्टर उडानले पर्यावरण तथा पदयात्रा पर्यटनमा असर पुर्‍याएको र हिमपहिरोको जोखिम बढाएकोले व्यावसायिक उडान रोक्नुपर्ने वडाको माग थियो । वडाको माग बमोजिम जिल्ला प्रशासनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेखेको थियो । जथाभावी हेलिकप्टर उडान रोकी नियमन गनुपर्ने प्रशासनको राय थियो ।


अन्नपूर्ण–११ का अध्यक्ष हिमबहादुर गुरुङ अव्यवस्थित उडानले वातावरणीय असर गरेको बताउँछन् । ‘पहिले डाँफे, मुनाल, घोरल, कस्तुरी घर नजिकै आउँथे,’ उनले भने, ‘हेलिकप्टर धेरै उडेपछि त्यसकै आवाजले तर्सिएर ती पशुपंक्षी कतै देखिँदैन । उनीहरूको बासस्थानमा धावा बोल्ने काम भएको छ ।’ हेलिकप्टरको कम्पनले एबीसीमा हिमनदीको कटान बढिरहेको उनको दाबी छ । सरंक्षित क्षेत्रभित्र उद्धारबाहेक व्यावसायिक उडान गर्न नपाइने भएकोले रोक लगाउनुपरेको उनी बताउँछन् ।


कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी पूर्णरुपमा निषेध नभई नियमन गर्नुपर्ने पक्षमा छन् । ‘भ्रमण वर्ष २०२० चलिरहेको छ । खर्च गरेर जान्छु भन्ने पाहुनालाई रोक्न पनि भएन,’ उनी भन्छन्, ‘बरु पर्यटकलाई महँगो शुल्क लगाउने र राजश्व संकलन गर्नेबारे सोच्नुपर्छ ।’ व्यावसायिक उडानमा महँगो शुल्क तोकिए उडान स्वतः कम हुने उनको बुझाइ छ ।


देउरालीमा हिमपहिरो जानुअघि पोखरा विमानस्थललाई आधार बनाएर पाँच हवाई कम्पनीले व्यावसायिक उडान गर्दै आएका थिए । प्रभु हेली, एअर डाइनेस्टी, सिम्रिक, फिस्टेल र अल्टिच्युड एयरका हेलिकप्टर एबीसी पुग्थे । पर्यटकीय मौसममा दिनमा ५० वटासम्म उडान हुने गरेका नागरिक उड्डयन प्राधिकरण पोखरा कार्यालयका प्रवक्ता देवराज सुवेदीले बताए । चार कोरियाली र तीन जना नेपाली बेपत्ता हुनेगरी गएको हिमपहिरोपछि उद्धारको अनुमति लिएर मात्रै हेलिकप्टर उडेको उनले जानकारी दिए । ‘एक्याप, गाउँपालिका र स्थानीय व्यवसायीको माग बमोजिम रोक्न उपुयक्त देखिएको व्यहोरासहितको जिल्ला प्रशासनको पत्र आइपुगेको छ,’ उनले भने, ‘मन्त्रालयले आधिकारिक रुपमा रोक्न भनिसकेको छैन ।’


एक्याप, गाउँपालिका र प्राधिकरणको मौखिक आग्रहमाहेलिकप्टर कम्पनीले व्यावसायिक उडान रोकेका हुन् । एबीसीबाहेक एक्यापमै पर्ने मर्दी हाई क्याम्पमा भने अहिले पनि हेलिकप्टरहरूले व्यावसायिक उडान गरिरहेका छन् । एबीसीमा पर्यटकको उद्धारका लागि मात्रै हेलिकप्टर प्रयोग भएको कम्पनीले जनाएका छन् । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरका अनुसार वार्षिक १५ हजार पर्यटक हेलिकप्टरबाट एबीसी पुग्छन् । पदयात्रा पर्यटनलाई नै धरापमा पार्नेगरी हुने हेलिकप्टर उडानको आफू विपक्षमा रहेको उनले बताए ।


अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन नियमावलीको अनुसूची १ अनुसार संरक्षण क्षेत्रमा हेलिकप्टर ल्यान्ड गर्न एक्यापको अनुमति चाहिन्छ । उद्धारबाहेक संरक्षण क्षेत्रमा एकपटक हेलिकप्टर अवतरण गर्दा तीन हजार रुपैयाँ बुझाएपछि मात्रै एक्यापले अनुमति दिन्छ । तर हेलिकप्टर कम्पनीले हालसम्म एक्यापको अनुमति लिने गरेका छैनन् । हेलिकप्टरमार्फत एबीसी पुग्ने विदेशी पर्यटकले एक्यापलाई बुझाउनुपर्ने प्रवेश शुल्क समेत बुझाउँदैनन् । विमानस्थलमा एकपल्टको अवतरण शुल्कवापत डेढ सय रुपैयाँ मात्रै बुझाउँछन् ।


हवाई कम्पनीलाई पटक–पटक आग्रह गरे पनि अटेर गरेको एक्याप प्रमुख राजकुमार गुरुङले बताए । ‘हिमपहिरो जानुअघिसम्म हेलिकप्टरको उडान नियमानुसार भएनन्,’ उनले भने, ‘सन् २०१९ मा कति उडान भए भन्ने तथ्यांक कम्पनीसँग मागेका छौं । कसरी नियमन गर्न सकिन्छ भनेर प्राधिकरणसँग पनि छलफल अगाडि बढेको छ ।’


एबीसीमा सिधै हेलिकप्टर अवतरण हुँदा पदयात्रा व्यवसाय धरासायी भएको पर्यटन व्यवसायीको गुनासो छ । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चल च्याप्टर अध्यक्ष हरि भुजेल अव्यवस्थित हेलिकप्टर उडानले पदयात्रा पर्यटनको भविष्य अन्योलमा परेको बताउँछन् । ‘आधार शिविर पुग्न एक साताभन्दा लामो समय र लाखौं रुपैयाँ खर्च गर्नेगरी पर्यटक नेपाल आउँछन्,’ उनले भने, ‘तिनै पर्यटकलाई १/१ सय डलर लिएर आधा घण्टामै एबीसी पु‍र्‍याएर ल्याएपछि हाम्रो पर्यटन व्यवसाय कहाँ जान्छ ?’


अन्नपूर्ण सेन्चुरी ट्रेकमा पर्ने होटल व्यवसायीको संस्था छोम्रोङ पर्यटन व्यस्थापन समितिका अध्यक्ष बुद्धिमान गुरुङपदयात्रा पर्यटनबाट गाइड, भरिया, होटल, रेस्टुरेन्ट तथा स्पा मजदुर, किराना पसल लगायत थुप्रै व्यवसाय चलिरहेको बताउँछन् । ‘हेलिकप्टरबाट ओसार्दा विदेशी पर्यटक खर्च गर्नबाट पनि वञ्चित हुन्छन्, हामी व्यवसायीलाई समेत कमाउने बाटो बन्द हुन्छ ।’

प्रकाशित : फाल्गुन ६, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?