कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

समयमै योजना सक्न अनुगमन

काम नसक्दा बजेट फिर्ता हुने समस्या दोहोरिन थालेपछि गाउँपालिकाले चासो देखाएको हो 
अगन्धर तिवारी

(पर्वत) — विकास आयोजना समयमै सक्न जलजला गाउँपालिकाले ठेकेदार तथा उपभोक्ता समितिलाई सचेत गराउने अभियान थालेको छ । विगतमा आर्थिक वर्षभित्र विकास आयोजना सक्न मुस्किल भएपछि विकास बजेट फिर्ता गएको भन्दै गाउँपालिकाले यस वर्ष सतर्कता र अनुगमन थालेको हो । 

समयमै योजना सक्न अनुगमन

गाउँपालिकाले चालु आर्थिक वर्षमा गाउँसभाबाट विनियोजन गरेका विकास योजनाको कार्यान्वयनलाई तीव्रता दिने र समयमै सक्न सम्बन्धित उपभोक्ता समिति, निर्माण व्यवसायी लगायतलाई सचेत गराउन थालेको हो । पालिकाभित्र सञ्चालित सडक, सिँचाइ, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत पूर्वाधारतर्फका योजना तोकिएको समयभित्रै सक्नेगरी विभिन्न समिति र व्यवसायीलाई सचेत गराउन जनप्रतिनिधि र कर्मचारी खटिएका छन् ।


समितिमार्फत काम भइरहेको योजनाको उपभोक्ता समितिलाई सम्बन्धित स्थानमै पुगेर समयमै सक्न सचेत गराइएको गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले बताए । ‘समितिले काम गर्न समस्या भए त्यसको कारण खोज्नसमेत लागेका छौं,’ मल्लले भने, ‘समयमै काम नसक्दा एकातिर विकासमा पछि पर्ने, अर्कोतिर बजेट फिर्ता हुने र अर्को वर्ष त्यही योजनालाई बजेट नपर्ने हुन्छ ।’ विकासका काम जति छिटो सक्यो उति बजेट बढ्ने भएकोले यो वर्ष सतर्कता अपनाइएको उनले बताए ।


प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माका अनुसार गाउँसभाबाट विनियोजन भएका २३६ योजना मध्ये हालसम्म करिब दुई सय योजनाको उपभोक्ता समिति गठन भई सम्झौता भइसकेको छ । सम्झौता भएकामध्ये ४९ योजनाको काम सम्पन्न भइसकेको छ । ११० बढी योजना कार्यान्वनयको चरणमा छन् । गापाको योजना शाखाका अनुसार ५० लाख माथिका २, १० देखि ५० लाखसम्मका १५ योजना विनियोजन भएकामा ११ सम्झौता भई १० वटा कार्यान्वयनको चरणमा छन् । ठूला योजनामध्ये एउटा सम्पन्न भइसकेको छ । पाँचदेखि १० लाख बजेटसम्मका ३० योजना छन् । तीमध्ये २३ वटा योजनाको सम्झौता भएर काम अघि बढेको छ । अरु १९ योजना कार्यान्वयनका लागि सम्झौता भएका छन् ।


सम्झौता भएका मझौला योजनामध्ये चारवटा सम्पन्न भइसकेको गाउँपालिकाका प्रवक्ता एवं वडा ३ का अध्यक्ष देवेन्द्रबहादुर भण्डारीले बताए । ‘विगतमा समयमा काम नसकेर केही योजनाको पैसा फिर्ता भयो,’ उनले भने, ‘त्यही भएर यो वर्ष कडाइ गरिएको छ ।’ पाँच लाखसम्मका एक सय ८९ योजना रहेकोमा एक सय ३० भन्दा धेरै योजना सम्झौता गरी कार्यान्वयनको चरणमा छन् । तीमध्ये ४४ वटा योजना सम्पन्न भइसकेको अधिकृत शर्माले बताए ।


वडाबाट सिफारिस भएका योजनाको अनुगमन तथा सुपरिवेक्षणको जिम्मा सम्बन्धित वडाध्यक्षलाई दिइएको छ । त्यस्तै गाउँसभाबाट विनियोजन भएका योजनाहरूको अनुगमन गर्न अध्यक्ष, उपाध्यक्ष तथा आवश्यकताअनुसार कार्यपालिका सदस्य समेत खट्ने गरेका छन् । असारे विकासलाई नियन्त्रण गर्नेगरी योजना कार्यान्वयनलाई अहिलेदेखि प्राथमिकतामा राखेको अध्यक्ष मल्लले बताए । पालिकाले सञ्चालन गरेका विकास आयोजना तथा कार्यक्रमका लागि १४ करोड ६७ लाख ७५ हजार रुपैयाँ विनियोजन भएको थियो । त्यसमध्ये हालसम्म करिब चार करोड अर्थात् २६.३९ प्रतिशत खर्च भएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : फाल्गुन ६, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?