कैदीबन्दीको मुडाले पाएन बजार

कान्तिपुर संवाददाता

(तनहुँ) — बाँसको मुडाले बजार नपाउँदा जिल्ला कारागार तनहुँका कैदीबन्दी चिन्तित भएका छन् । सुरुमा नियमितजस्तो बिक्री हुँदै आएकोमा पछिल्लो समय भने बजार नपाएको उनीहरूले बताए । ‘तालिमपछि मुडा बनाउने सीपलाई निरन्तरता दिएका छौं,’ ६५ वर्षीय विष्णुहरि घिमिरेले भने, ‘पहिले बिक्री हुन्थे, अहिले भने गाह्रो छ । मुडा नबिक्दा आम्दानी टुटेको छ ।’ करिब २ सय मुडा नबिकेर ‘स्टक’ रहेको उनले बताए । 

कैदीबन्दीको मुडाले पाएन बजार

कारागारमा तीन प्रकारको मुडा बनाइन्छ । सानोलाई २५०, मझौलालाई २७५ र ठूलोलाई ३७५ रुपैयाँमा स्थानीय बजारमै बिक्री गर्दै आएको उनले बताए । कुनै बेला मुडा बेचेर एकै सिजनमा ७/८ हजार रुपैयाँसम्म कमाएको कैदीबन्दी बताउँछन् । उक्त आम्दानी घर खर्चस्वरुप पठाएको सुनाउने उनीहरूले अहिले बिक्री नहुँदा समस्यामा परेको गुनासो गरे । मुडाका लागि आवश्यक बाँस र धागो स्थानीय बजार र टायर चितवनबाट ल्याउने गरिन्छ ।


दशैंतिहारको समयमा मुडा बेचेर एउटैले ७/८ हजारसम्म कमाएका थिए । १४१ कैदीबन्दीमध्ये ५५ जनाले नियमित रुपमा मुडा बनाउने सहायक चौकीदार तेजकुमार श्रेष्ठले बताए । मुडा बनाउँदा टायर बाँध्ने, बिट हान्ने, बुट्टा भर्ने काम भिन्दाभिन्दै व्यक्तिले गर्छन् । उनले भने, ‘प्रतिव्यक्ति दैनिक २ सयदेखि ३ सय रुपैयाँसम्म कमाउने गरेका छन् ।’


कारागारमा दैनिकजसो मुडा बुनिन्छ । बजार व्यवस्थापन राम्रो भए महिनामै ७ सयदेखि ८ सयसम्म बनाउन सकिने घिमिरेले बताए । उत्पादित मुडा कैदीबन्दीले नै व्यवसायीसँग समन्वय गरेर कारागारबाटै बेच्दै आएका थिए । तर पछिल्लो समय बिकेको छैन । अन्य सीप पनि सिक्न इच्छुक रहेको घिमिरेले बताए । उनले भने, ‘कैदसजाय सकिएपछि स्वरोजगार भएर बस्न मन छ । अन्य सीप पनि सिक्न पाए कारागारबाट निस्केपछि आफैले कमाएर हातमुख जोड्न सक्थेँ ।’


कारागारमा निर्माण भएका बाँसका मुडा बजारमा पाइने भन्दा बलियो र आकर्षक रहेको जिल्ला कारागारका शाखा अधिकृत विजयराज पौडेलले बताए । उनले भने, ‘कैदीबन्दीले निकै मिहिनेतसाथ बलियो तथा बुट्टेदार मुडा तयार गर्छन् । उनीहरूले बुनेका मुडा स्थानीय बजारमै बिक्री हुने गरेको छ ।’ कारागार साँघुरो भएको कारण पनि चाहेअनुसारको सीपमूलक तालिम कैदीबन्दीहरूलाई दिन नसकेको अधिकृत पौडेलले बताए । कारागारमा ६६ थुनुवा र ७५ कैदी गरी १४१ पुरुष कैदीबन्दी छन् ।

प्रकाशित : फाल्गुन ६, २०७६ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?