कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

‘संघले अधिकार नदिँदा उपलब्धि कम’

कान्तिपुर संवाददाता

गण्डकी — मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक संघीयतामा गइसक्दा पनि अधिकांश अधिकार संघले नै राखेको बताएका छन् । प्रदेश सरकार गठन भएको आइतबार दुई वर्ष पुगेको अवसरमा आयोजित वार्षिकोत्सव कार्यक्रममा उनले संघले अधिकार नदिँदा प्रदेशले देखिने गरी काम गर्न नसकेको र उपलब्धि कम भएको बताएका हुन् ।

‘संघले अधिकार नदिँदा उपलब्धि कम’

संघले जग्गाको भोगचलन र स्वामित्व हस्तान्तरण नगरेकाले बजेट खर्च पनि न्यून भएको र काम पनि देखाउन नसकिएको उनको भनाइ थियो । संघीयतासँगै फेरिएको व्यवस्थामा प्रदेश सरकार नयाँ रहेकाले चुनौती पनि उत्तिकै रहेको उनले जनाए । ‘जनतालाई करमात्र बढायो भन्ने भ्रम फैलिएको छ, यो गलत हो,’ उनले भने, ‘सरकारले कर बढायो भन्नेहरू नै संघीयता विरोधी हुन् । संघीय शासन प्रणालीमा प्रदेशले शून्य तहबाट काम गरेको छ ।’ सरकारको एक वर्ष कार्यालय, कर्मचारी व्यवस्थापन र कानुन निर्माणमै बितेको उनले बताए ।


पछिल्लो एक वर्षमा भौतिक निर्माणमा जोड दिएकाले विकास निर्माणले गति लिएको उनको दाबी छ ।संघले आशीर्वाद मात्र दिए गण्डकीलाई पुग्ने भन्दै उनले काम गर्न गण्डकी प्रदेश सरकार सक्षम रहेकाले जनताको आवश्यकता र मागलाई सम्बोधन गर्दै गएको बताए । प्रदेश सरकार सुशासन, आर्थिक अनुशासन, विधि र प्रक्रियामा प्रतिबद्ध रहेको उनको भनाइ छ । ‘अहिले हामीसँग कर्मचारी छन्, अस्थायी भए पनि कार्यालय छन्, कानुन निर्माण गरिएको छ काम देखाउने बेला बल्ल आएको छ,’ उनले थपे, ‘प्रदेश लोकसेवा आयोग गठन गरेर पनि हामी कर्मचारी नियुक्ति गर्छौं र काम अवरोध हुन दिन्नौं ।’ गण्डकी पर्यटनको प्रचुर सम्भावना रहेको प्रदेश भएकाले पनि सरकारले पर्यटनमा बढी जोड दिएको बताए । उनले ढुंगा, गिट्टी र बालुवामा बढी ब्रह्मलुट रहेको बताउँदै यसलाई व्यवस्थापन गर्न तीनवटै सरकार समन्वय गरी अघि बढ्ने बताए । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले संघीयता कार्यान्वयन गर्न एकता आवश्यक रहेको बताए । ‘संघीयता साझा योग्दानबाट आएकाले सामुहिक रुपमा जोगाउन जरुरी छ,’ उनले भने ।


कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव दलबहादुर अधिकारी सर्वोत्कृष्ट कर्मचारीका रुपमा १ लाख नगदसहित पुरस्कृत भएको जानकारी गराइयो । यसैगरी ७५ हजार पुरस्कार राशिसहित औषधि आपूर्ति व्यवस्थापन केन्द्र प्रमुख खिमबहादुर खड्का पुरस्कृत भए । अन्य २७ कर्मचारीलाई ५० हजार र ७ जनालाई जनही २५ हजार रुपैयाँको पुरस्कार घोषणा गरियो ।

प्रकाशित : फाल्गुन ५, २०७६ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?