कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गण्डकी विश्वविद्यालयको कुलपतिमा गुरुङ

कान्तिपुर संवाददाता

गण्डकी — मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार गण्डकी विश्वविद्यालयको कुलपतिमा गणेशमान गुरुङलाई नियुक्त गरेका छन् । संघीय सरकारअन्तर्गतका विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था छ । तर प्रदेशमा भने विज्ञबाट कुलपति छनोट गरिएको हो ।

गण्डकी विश्वविद्यालयको कुलपतिमा गुरुङ

कुलपति नियुक्तिका लागि उच्चस्तरीय न्यायिक समिति गठन भइसकेको छैन । सोही कारण सिफारिस समितिको सिफारिसका आधारमा गुरुङ नियुक्त भएका हुन् । यसपछि भने न्यायिक समितिले कुलपति नियुक्त गर्ने प्रदेशका प्रमुख सचिव एवं कुलपति सिफारिस समितिका सदस्य हरिप्रसाद बस्यालले बताए ।


प्रदेशसभाबाट विश्वविद्यालयसम्बन्धी विधेयक पारित भई ऐन बनिसकेको छ । प्रदेश सरकारले सामाजिक विकासमन्त्री नरदेवी पुनको अध्यक्षतामा नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधारी शर्मा पौडेल र बस्याल सदस्य रहनेगरी कुलपति सिफारिस समिति गठन गरेको थियो । समितिले गुरुङसहित हेमराज सुवेदी र वासुदेव काफ्लेलाई कुलपतिमा सिफारिस गरेको थियो । गुरुङलाई मुख्मन्त्रीले आइतबारै पद तथा गोपनीयताको सपथ खुवाए । विश्वविद्यालय सञ्चालनका लागि प्रदेशले तनहुँको बेलचौतारास्थित भानुभक्त क्याम्पससँगैको ५ सय रोपनी जग्गा संघसँग मागेको छ । तर अहिलेसम्म संघले स्वीकृति दिएको छैन । विश्वविद्यालय स्थापना र सञ्चालनका लागि सुरुमा ७ अर्ब ९४ करोड ८० लाख रुपैयाँ लाग्ने अनुमान छ । विश्वविद्यालयले प्रदेश बाहिर सम्बन्धन दिन पाउँदैन ।


प्राकृतिक विज्ञान, प्राविधिक तथा व्यावहारिक व्यवस्थापन, समाजशास्त्र, मानवशास्त्र, प्रविधि, आविष्कार र शिक्षामा स्नातक, स्नातकोत्तर, एमफिल र पीएचडीको पढाइ हुनेछ । आयोग उपाध्यक्ष शर्माले ३ सयभन्दा बढी विश्वविद्यालयको विधान अध्ययन गरेर गण्डकी विश्वविद्यालय स्थापना र सञ्चालन गर्न लागिएको बताए ।


को हुन् गुरुङ ?


स्याङ्जाको आँधीखोला गाउँपालिका–१ सिरुबारीमा २००५ सालमा जन्मिएका गुरुङ २०७० को संविधानसभा सदस्य थिए । समाजशास्त्रमा विद्यावारिधि गरेका उनी २०६७ देखि २०६९ सम्म विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष भएका थिए । २०५८ देखि २०६४ सम्म लोकसेवा आयोगको सदस्य रहेका उनी त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभागका प्रमुख बनेका थिए । गुरुङले विश्वविद्यालय सरकारको नहुने दाबी गरे । ‘छिटै उपकुलपति नियुक्ति गर्नेछु । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा काम लाग्ने गरी गुणस्तरीय जनशक्ति उत्पादनको लागि पाठ्यक्रम निर्माणमा लाग्नेछु,’ उनले भने, ‘पढाइ सञ्चालन गर्ने उपयुक्त ठाउँको खोजी र भवनको डिजाइनमा लाग्नेछु ।’

प्रकाशित : फाल्गुन ५, २०७६ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?