२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

खेती पढाउँदै सामुदायिक विद्यालय

सम्झना रसाइली

(तनहुँ) — शुक्लागण्डकी नगरपालिका–४ स्थित पञ्चमुनिदेव माविको ९ कक्षाका पदम पराजुली विद्यालयमै च्याउ खेती गर्छन् । विद्यालयले कक्षा ९ देखि १२ सम्म प्राविधिकतर्फ पशुविज्ञान विषय सञ्चालन गरेपछि च्याउ खेतीलगायतका प्रयोगात्मक शिक्षामा विद्यार्थीहरू समावेश भएका हुन् । ‘प्रयोगात्मक शिक्षाले सिकाइमा सहज हुनुका साथै आफैले केही गर्न सक्ने आँट आइसकेको छ,’ उनले भने । 

खेती पढाउँदै सामुदायिक विद्यालय

अर्का विद्यार्थी विवेक खत्रीले व्यावहारिक शिक्षासँगै कृषि तथा नयाँ प्रविधिको ज्ञान लिन पाएको बताए । भविष्यमा रोजगारी पाइएन भने पनि निराश हुनु नपर्ने र आफ्नै बारीबाट आम्दानी गर्न सकिनेमा उनी ढुक्क छन् । विद्यार्थीले एक महिनामै ८० केजी च्याउ उत्पादन गरेको शिक्षक एवं सूचना अधिकारी लक्ष्मण पुरीले बताए । उनले भने, ‘विद्यार्थीलाई कृषि उत्पादन मात्र नभएर त्यसको संरक्षण, बजार व्यवस्थापन, प्याकिङ र ग्राहकसँग कसरी बोल्ने भन्ने पनि सिकाइन्छ ।’ एक केजी च्याउ साढे २ सय रुपैयाँमा विद्यार्थीले नै बिक्री गर्ने उनले बताए ।


पढाइसँगै च्याउखेती, दूधबाट खुवा बनाउने विधि, बजारीकरण, पशुपक्षीको स्वास्थ्य परीक्षण, बाली विज्ञानजस्ता विषयवस्तुको व्यावहारिक रूपमै अभ्यास गर्दा सिकाइ र बुझाइ प्रभावकारी भएको विद्यार्थीको अनुभव छ । प्रधानाध्यापक ध्रुव मल्लले सिकाइ प्रभावकारी बनाउन व्यावहारिक तथा अतिरिक्त क्रियाकलापमा जोड दिएको बताए । उनका अनुसार पशु विज्ञानमा ६६ छात्र र ५७ छात्रा गरी १२३ विद्यार्थी अध्ययनरत छन् ।


जिल्लाका १५ सामुदायिक विद्यालयले व्यावसायिक तथा रोजगारमूलक शिक्षा सुरु गरेका छन् । व्यास नगरपालिकास्थित सत्यवति मावि, आँबुखैरेनीस्थित रामशाह मावि र शुक्लागण्डकीको पञ्चमुनिदेव माविले क्रमशः कम्प्युटर साइन्स, सिभिल इन्जिनियरिङ र पशुविज्ञानका कक्षा सञ्चालन गर्दै आएका छन् । व्यासको उदय र निर्मल मावि, घिरिङको चन्द्रज्योति मावि, भानुस्थित होमराज लोहनी शारदा शिक्षा सदन मावि, बन्दीपुरको पवित्र माविमा सिभिल इन्जिनियरिङको पढाइ हुन्छ ।


भिमादको सिद्धार्थ मावि, शुक्लागण्डकीको गाउँफर्कोदय मावि, भानुको भानु संस्कृत मावि, त्रिभुवन मावि र चोक माविमा कृषि तथा बाली विज्ञान विषय पढाइन्छ । म्याग्देको जनगणपति माविमा पशुविज्ञान र घिरिङको कालिगण्डकी बहुप्राविधिक शिक्षालयमा वन विज्ञान कार्यक्रम सञ्चालन गरिएको छ । स्थानीय विद्यालयमै प्राविधिक शिक्षा सुरु भएपछि विद्यार्थीलाई अन्यत्र जानुपर्ने समस्या हटेको गाउँफर्कोदय माविका प्रअ अम्बिका घिमिरेले बताए ।


विद्यार्थीलाई व्यवसायी, स्वावलम्बी, आत्मनिर्भर बनाउने उद्देश्यसाथ प्राविधिक शिक्षामा जोड दिइएको म्याग्दे गाउँपालिकाका शिक्षा शाखा प्रमुख बुद्धिसागर खनालले जनाए । ‘पढाइ पूरा भएपछि विद्यार्थीलाई रोजगारीको चिन्ता नहुने अपेक्षा गरेका छौं,’ उनले भने ।

प्रकाशित : फाल्गुन २, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?