विदेश छाडेर च्याउखेती

हरिराम उप्रेती

(गोरखा) — व्यवस्थित फर्मभित्र लामबद्घ कटुसका मुढा । यिनै मुढामा उम्रन्छ सिताके च्याउ । उत्पादित च्याउको बजार पनि सहजै उपलब्ध छ । गोरखा नगरपालिका–९ लक्ष्मीबजार शिखरका नारायणबाबु थापाको दैनिकी यतिबेला मुढामा सिँचाइ गर्दै बित्ने गरेको छ । दुई वर्ष वैदेशिक रोजगारीका लागि इराक गएर फर्किएका उनी विदेशी कमाइभन्दा आफ्नै भूमिमा पसिना बगाउँदा सन्तुष्ट छन् । भन्छन्, ‘विदेशको कमाइ भनेको भलपानी रहेछ, यहाँको सदाबहार ।’

यही च्याउबाटै उनले दैनिक ५ हजारसम्म आम्दानी गर्छन् । ‘दुइ हजार मुढा छन्,’ थापाले भने, ‘दैनिक १० केजीसम्म च्याउ टिप्ने गरेको छु ।’ च्याउको मागसँगै मूल्य पनि राम्रो पाएको र माग धान्नै मुस्किल भएको उनले सुनाए ।


मुग्लिन, गोरखा, दाङ, काठमाडौंको बजारमा थापाले च्याउ पुर्‍याउँदै आएका छन् । फार्ममै पुगेर ग्राहकले प्रतिकेजी ५०० सय रुपैयाँमा खरिद गर्छन् । ‘यसलाई मुढे च्याउ पनि भनिन्छ,’ थापाले भने । १० लाख रुपैयाँ लगानी गरेर च्याउ खेती थालेका थापाले गत कात्तिकबाट बिक्री सुरु गरेका हुन् । कात्तिकबाट अहिलेसम्म ४०० केजी च्याउ बिक्री गरिसकेका छन् । खेती गर्न बैंकबाट ५ लाख ऋण लिएका थिए ।


काठमाडौंको गोदावरीबाट बीउ ल्याएको उनले सुनाए । कटुसका मुढामा प्वाल बनाएर बीउ हालेको ६ देखि १० महिनामा च्याउले उत्पादन दिन्छ । एक पटक बीउ राखेपछि ३ देखि ६ वर्षसम्म उत्पादन दिन्छ । च्याउ खेतीका लागि ३ रोपनी जग्गा वार्षिक २० हजार भाडा तिर्ने गरी लिएका छन् । कटुसको रूख भएको ठाउँ आसपास सिताके च्याउको खेती राम्रो हुने थापाले बताए । ‘१८/१९ सेल्सियस तापक्रम चाहिन्छ,’ उनले भने, ‘एउटा मुढाबाट ५ वर्षसम्म च्याउ उम्रन्छ ।’ एउटा मुढाबाट मासिक २ किलोसम्म च्याउ उत्पादन हुन्छ । टेलिभिजनको कृषि कार्यक्रम हेरेर खेतीमा होमिएका थापाले ६ महिने तालिम पनि लिएका छन् । ‘यसलाई रोग पनि कम लाग्छ, अरु खेतीमा भन्दा दुःख पनि कम छ, फेरि नेपाली समाजमा बढी खपत हुने बुझेर नै खेती गरेको हुँ,’ उनले भने ।


बैंकबाट ऋण पाए खेती विस्तार गर्ने उनको योजना छ । उनको काममा श्रीमती सानुमायाले पनि सघाउँछिन् । गोरखकाली एकीकृत कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर उनले च्याउ खेती गरेका हुन् । यहाँका किसानले उत्पादित कृषि उपज बिक्रीमा बिचौलिया हावी भएको उनको गुनासो छ । बिहीबार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजनामा कृषकसँगको छलफलमा सहभागी कृषकले आफूहरूको पहुँच बजारसम्म पुग्नै नसकेको गुनासो गरे । ‘वर्ष दिनभरि दुःख गर्ने, दानाको भाउ उस्तै महँगो छ,’ गोरखा–१ का कुखुरापालक किसान कमलबहादुर बानियाँले भने, ‘त्यसपछि बिचौलियाको बार्गेनिङ छ ।’ कृषकलाई ऋण दिन बैंकले समेत आनाकानी गर्ने पालुङटार–९ का रामचन्द्र सेडाइँले बताए ।


गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले उपभोक्ता सहकारी बनाएर अघि बढ्दा बजारीकरणमा सहज हुने बताए । ‘सहकारीमार्फत कृषि उपज बिक्रीमा सहजीकरण गर्ने विधि अपनाऔं,’ थापाले भने ।

प्रकाशित : फाल्गुन २, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?