मदारबाबा मेलामा भारतीयको घुइँचो 

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको दाउन्ने डाँडामा १० दिनसम्म लाग्ने मदारबाबा मेलामा भारतीय भक्तजनको घुइँचो लागेको छ । गत सोमबारदेखि सुरु मेला महाशिवरात्रिसम्म लाग्छ । 

सुस्ता गाउँपालिकाको महलबारी बजारबाट पैदल ५ घण्टा उकालोपछि मदारबाबा थान पुगिन्छ । यहाँ जानेमा ९५ प्रतिशत भक्तजन भारतीय छन् । भारतको उत्तर प्रदेश मकनपुरका मुस्लिम धर्मगुरु मदारबाबाले ५ सय वर्षअघि दाउन्ने पर्वतमा आएर तपस्या गरेको स्थललाई मदारबाबा थान ‘मजार’ भनिन्छ । यहाँ हरेक वर्ष माघको कृष्ण पञ्चमीदेखि शिवरात्रीसम्म मेला लाग्ने गर्छ । निःसन्तान, अपांगता भएका र अन्य दुःखकष्टमा परेकाले तपस्या गरेको स्थलमा आएर पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने विश्वासका साथ लाखौं भक्तजन यहाँ आउने गरेका छन् । मेला लागेको बेलामा मदारबाबाका चेला आउने र भक्तजनलाई आशीर्वाद दिने गर्छन् ।


सुस्ता गाउँपालिकाको महलबारीमा मस्जिद छ । त्यहाँबाट पैदल हिँडेर मदारबाबा थान पुगिन्छ । तपस्या गरेका मुस्लिम धर्मगुरुले मदारको (चोप भएको रूख) दूध खान्थे भन्ने विश्वास गरिन्छ । त्यसैले उनलाई मदारबाबा भनिएको किंवदन्ती छ । मुस्लिमको मजार भए पनि हिन्दू र मुस्लिम दुवैले उत्तिकै श्रद्धा गर्छन् । भारतको दिल्ली, लखनउ, कानपुर, वाराणसीलगायत क्षेत्रबाट लाखौं भक्तजन वर्षेनि मजारमा आउने गरेका छन् । तराईका जिल्लाबाट पनि उत्तिकै भक्तजन आउँछन् ।


मेलाको आम्दानी अपारदर्शी

दशौं लाख भक्तजन आउने भए पनि यस मेलाको व्यवस्थापनमा कसैले जिम्मेवारी लिएको छैन । मेलामा प्रहरी र स्वयंसेवकको उपस्थिति न्यून छ । मेलाको आम्दानी पनि पारदर्शी छैन । मदारथानमा चढाइने भेटी कसले लिने गरेको छ भन्ने पनि यकिन छैन । केही समूह मेलाको बेलामा दानभेटी लिन सक्रिय हुने गरेका छन् ।


मेलाको प्रवेशद्वार ५ नम्बर प्रदेशको सुस्ता गाउँपालिकाको महलबारी र मदारबाबास्थान गण्डकी प्रदेशको विनयी त्रिवेणी गाउँपालिकाको वडा–१ र ६ मा पर्छ । यसपटक वडा नं. ६ ले मेला व्यवस्थापनको जिम्मेदारी पाएको छ ।


विनयी त्रिवेणीका अध्यक्ष डम्बर जिसीले मदारबाबा संरक्षण समिति गठन गरेर पहिलोपटक काम थालिएको जानकारी दिए । उनले सयौं वर्षदेखि मेला लाग्दै आए पनि आम्दानीबारे जानकारी नभएको बताए । मेलाका लागि जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीले विशेष सुरक्षाको व्यवस्था गरेको छ । मेला अवधिमा ५ सयभन्दा बढी प्रहरी परिचालन गरेको प्रहरीले जानकारी दिएको छ । भारतीय सीमासँग जोडिएको त्रिवेणी बजार नजिक भएका कारण यहाँ भारतबाट भक्तजन आउने स्थानीय हैदरअलि मोमिनले बताए । मदारबाबा थानमा पुग्न सहज बाटो छैन । भक्तजन जंगल हुँदै पैदलै उक्त स्थानमा पुग्ने गरेका छन् ।




प्रकाशित : फाल्गुन १, २०७६ १०:२३

प्रतिक्रिया
पठाउनुहोस्

कुबेतमा मृत्यु हुने ६ नेपाली कामदारमध्ये ४ को पहिचान खुल्यो [अपडेट]

कान्तिपुर संवाददाता

काठमाडौँ — कुवेतमा बालुवाको ढिस्कोले पुरिएर मृत्यु भएका ६ जना नेपाली कामदारको ४ जनाको पहिचान खुलेकाे छ ।

ढिस्कोले पुरिएर मृत्यु भएकामध्ये पहिचान हुनेहरु एक बहादुर गाहा–पाल्पा, गंगाराम चाैधरी–सिराहा, बसन्त गुरुङ–ताप्लेजुङ र श्याम नारायण चाैधरी–दाङ हुन् । कुवेतस्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै पहिचान हुनेरुकाे विवरण सार्वजनिक गरेकाे हाे ।


अरब टाइम्सले जनाएअनुसार कुवेतको अल मुत्ला क्षेत्रमा निर्माणस्थलमा बालुवाको ढिस्को खस्दा ६ जना नेपाली कामदारको मृत्यु भएको हो ।

चिनियाँ कम्पनीले निर्माणको जिम्मा लिएको मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा काम गरिरहँदा एक्कासि बालुवा र ढुंगा खसेको थियो । ढिस्कोमा पुरिएकामध्ये ६ जनाको सकुशल उद्धार गरिएको कुवेती अधिकारीले जनाएका थिए।

कुवेतको भौतिक मामिलासम्बन्धी मन्त्री राना अल फरिसले घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन गर्न निर्देशन दिएकी छिन् । उनले दुर्घटनाको कारण पत्ता लगाइ दोषीलाई कारबाहीको दायरामा ल्याउन पनि निर्देशन दिएकी छिन् ।

दूतावासबाट यस घटनाबारे स्थलगत अध्ययन भइरहेकाे छ ।

प्रकाशित : फाल्गुन १, २०७६ ०९:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×