१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बस्ती पस्यो थार

दीपक परियार

पोखरा — बिहानीको झिसमिसेमै भैंसीको पाडोजस्तै देखिने जनावर बस्ती पस्यो । पृथ्वी राजमार्गको छेवैमा डुलिरहेको जनावर जंगली हो भन्ने स्थानीयले अड्कल काटे । खेद्दैखेद्दै नजिकैको विद्यालय हातामा पुर्‍याए । उच्च पहाडी भेगमा बस्ने जंगली जनावर थार बुधबार पोखरामा भेटिएको हो ।

बस्ती पस्यो थार

पोखरा–२६ बुढीबजारमा एकाबिहानै डुलिरहेको थारलाई स्थानीयले नजिकैको जुनियर सिटिजन्स एकेडेमीको तारजालीले घेरिएको खेलकुद मैदानमा पुर्‍याएका थिए । भिरालो र घना जंगलमा बस्ने थार कसरी बेंसी झर्‍यो भन्ने पत्ता लाग्न सकेको छैन । अन्दाजी २ वर्षको भाले थारलाई डिभिजन वन कार्यालय कास्कीको टोलीले उद्धार गरेको छ । थार ४ फिट अग्लो र झण्डै ५० केजीको छ । उद्धार गरिएको थारलाई बेगनास र रुपातालको बीचमा रहेको पचभैयास्थित वन्यजन्तु उद्धार केन्द्रमा राखिएको छ । दुई महिनाअघि पोखराकै बाटुलेचौरमा पनि थार भेटिएको थियो । उक्त थारलाई अर्मलाभन्दा माथिको वनमा लगेर छाडिएको थियो ।


डिभिजन वन कार्यालय कास्कीका प्रमुख रामकाजी श्रेष्ठले उच्च पहाडी भेगमा बस्ने थारलाई सहरमा भेटिनुलाई नौलो मानेको बताए । उनका अनुसार यो जंगली जनावर २ हजार ५ सयदेखि ३ हजार ५ सय मिटरसम्मको उचाइमा बस्छ । नेपालमा भने यो ५ सयदेखि ३ हजार ५० मिटरसम्मको उचाइमा पाइन्छ । झुण्डमा भन्दा एक्लाएक्लै भेटिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्रबाट सेती नदीको तिरैतिर तलसम्म आएको हुनसक्ने उनले बताए । ‘जंगलमा प्रशस्त हुने घाँस खाने भएकाले आहाराको खोजीमै बस्ती पसेको भन्न मिल्दैन,’ उनले भने, ‘चर्दैचर्दै हिँड्दा रातभरि हिँडेको मेसो पाउँदैन । त्यसरी नै तल्लो भेगमा आएको हुनसक्छ ।’ मान्छे देखेपछि तर्सिएर भाग्दाभाग्दै बस्ती पसेको हुनसक्ने उनले जनाए ।


प्राणीशास्त्री एवं प्राध्यापक करण शाहले जंगली कुकुर र ब्वाँसोले लखेट्दा पनि सहरसम्म यो आइपुग्ने बताए । उनका अनुसार नेपालमा यसको संख्या एकिन छैन । तर धेरै शिकार गरिने भएकोले संख्या घट्दै गएको अनुमान गरिन्छ । यो चुरे र मध्यपहाडमा समेत पाइन्छ । नेपाल बाहिर भुटान, चीन, भारत र बंगलादेशमा समेत थार पाइन्छ । थारको आयु १५ वर्षको हुन्छ । जन्मेको ३ वर्षमा बच्चा जन्माउन योग्य हुन्छ । भाले र पोथी दुवैमा सिङ हुन्छ । दुवैको १८ सेन्टिमिटरसम्म लामो पुच्छर हुन्छ । शाकाहारी भएकोले घाँसपात, जंगली फलफूल र काष्ठफल यसको आहारा हो ।


अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले थारलाई खतराको नजिक रहेको जनावरका रुपमा सूचीकृत गरेको छ । चोरी शिकारी र बासस्थानको कमीले नेपालमा पनि यसलाई खतराको नजिक मानिन्छ । मासुका लागि थारको शिकार हुन्छ । हरिण प्रजातिको थार अन्नपूर्ण संरक्षण क्षेत्रमा प्रशस्त पाइन्छ । कास्कीको घान्द्रुक, लान्द्रुक, अन्नपूर्ण आधार शिविर जाने बाटोमा पर्ने सिनुवा र देउराली लगायत ठाउँमा थार पाइन्छ ।

प्रकाशित : फाल्गुन १, २०७६ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?