३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

पोखरा झर्‍यो घोरल !

दीपक परियार

पोखरा — उच्च पहाडी भेगमा पाइने जंगली जनावर घोरल बुधबार पोखरामा भेटिएको छ । अन्दाजी २ वर्षको भाले घोरल पोखरा– २९ बुढिबजारमा भेटिएको हो । बुधबार बिहानै घोरल देखेपछि स्थानीयले लखेट्दै नजिकैको जुनियर सिटिजन्स एकेडेमीको खेल मैदानमा पुर्‍याएका थिए ।

पोखरा झर्‍यो घोरल !

जालीले घेरिएको मैदान भित्र पुर्‍याएपछि डिभिजन वन कार्यालयलाई खबर गरेको विद्यालयका शिक्षक सञ्जिव पौडेलले बताए ।

खबर पाएलगत्तै डिभिजन वन कार्यालयबाट पुगेको टोलीले घोरलको उद्धार गरी बेगनास र रुपातालको बीचमा रहेको पचभैयास्थित वन्यजन्तु उद्धार केन्द्रमा पुर्‍याएको छ । दुई महिनाअघि पनि पोखराको बाटुलेचौरमा घोरल भेटिएको थियो ।


डिभिजन वन कार्यालय कास्कीका प्रमुख रामकाजी श्रेष्ठले उच्च पहाडी भेगको पहरामा बस्ने घोरल सहरमा भेटिनु नौलो भएको बताए । उनका अनुसार यो जनावर १५ सयदेखि ३ हजार मिटरसम्मको उचाइमा बस्छ । कहिलेकाँही ७–८ सय मिटरसम्म पनि झर्छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रबाट सेती नदीको तिरैतिर तलसम्म आएको हुनसक्ने उनले बताए । ‘जंगलमा प्रशस्त हुने घाँस खाने भएकाले आहाराको खोजीमै बस्ती पसेको भन्न मिल्दैन,’ उनले भने, ‘चर्दैचर्दै हिँड्दा रातभरि हिँडेको मेसो पाउँदैन । त्यसरी नै तल्लो भेगमा आएको हुनसक्छ ।’

मान्छे देखेपछि तर्सिएर भाग्दाभाग्दै बस्तीमा पसेको हुनसक्ने उनले जनाए । बाख्रा प्रजातिको घोरल संरक्षित जनावर नभएको र नेपालमा प्रशस्त पाइने भए पनि मासुका लागि चोरी शिकारी हुने गरेको छ ।

प्रकाशित : माघ २९, २०७६ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?