सवारीसाधनमा असीमित खर्च

सदरमुकाममा बसेर भाडाका गाडीमा जनप्रतिनिधिहरु आउजाउ गर्दा लाखौं खर्च हुने गरेको छ 
प्रकाश बराल

(बागलुङ) — यहाँका स्थानीय तहले सवारी साधनमा असिमित खर्च गर्ने गरेको पाइएको छ । सदरमुकाममा बसेर भाडाका गाडीमा आउजाउ गर्दा लाखौं खर्च हुने गरेको छ । 

सवारीसाधनमा असीमित खर्च

काठेखोला गाउँपालिका अध्यक्ष अमर थापा, प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकसहितका अधिकांश कर्मचारी सदरमुकाम बस्छन् । दैनिक सरकारी गाडीमा उनीहरू कार्यालय आउजाउ गर्छन् ।


वडा १, २, ४, ५, ६ र ७ का अध्यक्षहरू क्रमश: खड्ग थापा, विद्यापति शर्मा, केशर थापा, शिवप्रसाद कँडेल, युक्तप्रसाद कँडेल र प्रेम लामिछाने सदरमुकाममै बस्छन् । उपाध्यक्ष अर्जुन खत्री र वडा ३ का अध्यक्ष यमबहादुर श्रीस मात्रै गाउँ बस्छन् । वडा ८ की अध्यक्ष चित्रकला श्रीष बजार र गाउँमा आधाआधा भेटिन्छिन् । बजारमा घर भएकाले आउजाउ गरेको तर नियमित वडामा पुगेको वडा १ का अध्यक्ष खड्ग थापाले बताए ।


सदरमुकामबाटै दैनिक आउजाउ गर्ने भएकाले कर्मचारी समयमा पालिका कार्यालय पुग्दैनन् । जनप्रतिनिधि खोज्नेले सदरमुकाममै धाउनुपर्ने गुनासो स्थानीयको छ । काठेखोलामा एक स्कारपियो गाडी, एउटा भाडाको जिप र ८ मोटरसाइकल छन् । तेल र मर्मतमा लाखौं खर्च हुन्छ । गाउँपालिकाको ससर्ततर्फ बजेट १३ करोड ३४ लाख छ भने निसर्त चालु खर्च ४ करोड छ । उक्त बजेटबाट मर्मत र तेल खर्च बेहोरिने भए पनि यकिन तथ्यांक भने कार्यालयमा छैन । वर्षभरिमा झन्डै ५ लाखको तेल खर्च हुन्छ । भाडाको गाडीको एकमुष्ट १० लाख र ८ वटै मोटरसाइकलसमेत गर्दा २० लाख हाराहारी खर्च आउँछ । वडाबाट पनि थप तेल खर्च भैरहेको छ । गाउँपालिका अध्यक्ष अमर थापाले खर्च आए पनि समयमा सेवाप्रवाह गर्न सकिएको बताए । ‘अहिले छिटो सेवा चाहिएको छ, तेल खर्च सामान्य भैहाल्छ,’ उनले भने, ‘स्थानीय सरकार भएकाले कतिपय खर्च गर्नैपर्ने हुन्छ ।’


बागलुङ नगरपालिकाका केही वडाध्यक्षबाहेक अधिकांशलाई मोटरसाइकल दिइएको छ । वरिष्ठ योजना अधिकृत युक्तप्रसाद सुवेदी, लेखापाल जब्बरबहादुर भण्डारी, प्रशासनका ससबहादुर पुनसहितका कर्मचारी मोटरसाइकल चढ्छन् । प्राविधिकले भने फिल्डको काममा सवारी नपाएको गुनासो गर्छन् । ‘नगरपालिकामा दुई दर्जन सवारी छन्, हामी फिल्डमा हिँडेर जान बाध्य छौं,’ एक प्राविधिकले भने । गत वर्ष २२ लाख रुपैयाँ इन्धनमा खर्च भएको थियो । ठूलो खर्च आएपछि कार्यपालिकामा विवाद र नगरसभामा विरोध भयो । मर्मतमा खर्च धेरै आएको भन्दै केही वडाध्यक्षले मोटरसाइकल नचढ्ने घोषणा गरे ।


‘नियमितबाहेक अरू बजेट नभएर किसान मारमा परेका छन्, मोटरसाइकल चाहिंदैन भनेर लिइनँ,’ वडा १४ का अध्यक्ष चक्रबहादुर खत्रीले भने, ‘किसानले यान्त्रिक हलो किन्न अनुदान खोजेका छन्, त्यता केही गर्न सकिएको छैन, हामीले सुविधा किन लिनुपर्‍यो ?’ खत्रीसहित वडा १ का अध्यक्ष दुर्गाबहादुर बोहोरा, २ का जीवन आचार्य, ७ का खगराज गौतम र वडा ११ का अध्यक्ष ज्ञानेन्द्र गौतमले मोटरसाइकल चढेका छैनन् । स्थानीय सरकार सञ्चालनको क्रममा आवश्यक सवारी दिन सक्ने प्रावधान भए पनि वडापिच्छे दिने नियम नभएको अधिवक्ता राम शर्माले बताए । ‘मसलन्द र इन्धन शीर्षकबाट खर्च गर्ने काम भैरहेको छ,’ उनले भने, ‘अत्यावश्यक भए मात्र किन्ने भने पनि सबै पालिकाले सुविधासम्पन्न

गाडी किनिसके ।’


ढोरपाटन नगरपालिकाले एउटा गाडी भाडामा लिएको छ । मासिक १ लाख तिर्ने उक्त गाडी उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलगायतले प्रयोग गर्छन् । प्रमुख देवकुमार नेपालीको आफ्नै गाडी रहेको तर इन्धन नगरबाटै भर्ने एक कर्मचारीले बताए । बेलाबेला उनी हेलिकोप्टर चढेर सदरमुकाम आउने गर्छन् । उक्त रकम व्यक्तिगत तिर्ने उनले बताए ।


जिल्लाका सबै गाउँपालिकामा एक–एकवटा सुविधासम्पन्न गाडी र वडामा मोटरसाइकल छन् । मोटरसाइकल केही वडाध्यक्ष र अधिकांश वडासचिवले चढ्छन् । सबैले इन्धन भने पालिकाबाट भराउँछन् । स्थानीय सरकार भएकाले उनीहरूले आफ्नै निर्णय गरेर खर्च भराउने गरेकाले यकिन तथ्यांक नभेटिने जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले बताए । उनले भने, ‘इन्धनको शीर्षक मात्र नभई अन्य धेरै शीर्षकमा जाने भएकाले लाखौं खर्च भैरहेको छ, त्यो छानबिन जटिल छ ।’ मर्मत र इन्धन गर्दा जिल्लाको विकासको ठूलो हिस्सा खेर गैरहेको उनले बताए । प्रदेश र संघीय मन्त्रालयमा नियमितजसो कार्यक्रम, सदरमुकामस्थित समन्वय कार्यालयमा जाने बाध्यताले सवारी लिएर आउने सामान्य भएको जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले बताए ।



‘फजुल खर्च गरेका छैनौं, तर आवश्यकतामा हिँड्नैपर्छ,’ पौडेलले भने, ‘तोकिएका शीर्षकमा रहेर खर्च गर्ने हो, नगरपरिषद्ले पास गरेअनुसार इन्धन भर्ने गरेका छौं ।’ सदरमुकाममा दैनिक दर्जनभन्दा बढी सरकारी मोटरसाइकल गुडिरहेका हुन्छन् । ती सवारीसाधन सबै पालिकाका छन् । वडासचिव र वडाध्याक्षले ती सवारी आफन्तलाई पनि दिने गरेका छन् । ‘मैले चलाउन जानेको छैन, आउजाउ गर्दा भाइसाथीलाई लगाएर आउने गरेको छु,’ बागलुङ–१२ का अध्यक्ष गुरुदत्त पाठकले भने, ‘अप्ठ्यारो पर्दा मात्र मोटरसाइकल प्रयोग गरिन्छ ।’


दूरीले सबैभन्दा टाढाका निसी र तमानखोलामा एकएक वटा गाडी छन् । ती गाडी सदरमुकाम आउँदासमेत १४० किमि यात्रा गर्दा इन्धन र मर्मतमा धेरै खर्चनुपर्ने अध्यक्षले बताए । ‘भाडाका गाडी चढेर सम्भव छैन, मर्मत र तेल खर्च धेरै नै लागेको छ’ निसीखोलाका अध्यक्ष तारानाथ पौडेलले भने । करबाट प्रशासनिक खर्च र इन्धन खर्च पुर्‍याउन दायरा बढाउने सोचमा पुगेको गलकोट नगरप्रमुख भरत शर्मा गैरेले बताए ।

प्रकाशित : माघ २६, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?