२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बागलुङ नगरपालिका : आफ्नो भवन छाडेर अन्यत्र

करोडौंको आफ्नै भवन जीर्ण बन्दै, चारतिर कार्यालय छरिएकाले सेवाग्राही हैरान 
प्रकाश बराल

(बागलुङ) — सदरमुकामस्थित बागलुङ नगरपालिकाले ७ वर्षअघि झण्डै ४ करोड रुपैयाँमा कार्यालय बनायो । २०५४ सालमा स्थापना भएपछि भाडामा बसेको नगरपालिकाले नगर विकास कोष र आन्तरिक श्रोत व्यवस्थापन गरेर वडा ३ रात्माटामा तीनतले भवन बनाएको थियो ।

बागलुङ नगरपालिका : आफ्नो भवन छाडेर अन्यत्र

भवनमा नगरपालिका ५ वर्ष बस्यो । गत वर्ष पुसमा नगरपालिका तत्कालिन जिल्ला कृषि विकास कार्यालय भवनमा सर्‍यो । उक्त भवनमा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यालय छ । त्यसैगरी, प्रशासन, प्राविधिक, योजना, लेखालगायत शाखा संचालनमा छन् । त्यसको एक महिना नबित्दै तत्कालिन जिल्ला भूसंरक्षण कार्यालयको भवनमा स्टोर शाखा सारियो । महिला विकास कार्यालयको भवनमा उपप्रमुख, महिला बिकास शाखा र न्यायिक समिति संचालनमा छन् । यसरी धमाधम कार्यालय सार्न थालेपछि केही वडा र रात्माटा सेवा समाजले विरोध गर्‍यो । उच्च अदालतमा रिटसमेत दायर गर्‍यो । अदालतले सेवा केन्द्र पायक पर्ने स्थानमा राख्नसक्ने आदेश दियो । संघीयता कार्यान्वयनसंगै कृषि, भूसंरक्षण, महिला बिकास कार्यालय खारेजीमा परेपछि नगरपालिकाले प्रयोग गरेको हो ।


त्यसपछि नगरपालिकाले कृषि, भेटेनरी, सामाजिक विकास लगायतको शाखा सार्दै गयो । पुरानो जिविसमा राजस्व शाखा सञ्चालनमा छ । शिक्षा, स्वास्थ्य र वातावरण शाखा नसार्ने भनेको नगरपालिकाको अहिले रात्माटामा कर्मचारी कोही भेटिँदैन । शिक्षा शाखा राख्ने भनेपनि निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका दण्डपाणि शर्मा शिक्षा प्रमुख रहँदै कृषिको भवनमा आइसकेका थिए । स्वास्थ्यका कर्मचारी पनि कृषिकै भवनमा बस्ने तयारीमा छन् । ‘भवनमा कर्मचारी नदेखिएको महिनौं भइसक्यो,’ स्थानीय अनिषा जिसीले भनिन्, ‘कामका लागि कृषिको भवनमा पुग्नुपर्छ ।’ कृषिको भवनमा कृषि ज्ञान केन्द्रको सम्पर्क कार्यालय पनि छ । तत्कालीन कार्यालयका सामान रात्माटामा लगेर राखिएको छ । ‘कृषि मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, आलु जोन, सुन्तला जोन वा अन्य पकेट र ब्लकका कार्यक्रम ल्याउँदा राख्ने स्थान छैन,’ कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीले भने, ‘महत्त्वपूर्ण सामग्रीसमेत हिनामिना पारियो ।’ सम्पर्क कार्यालय राख्ने भन्ने सूचनासमेत नदिईकन कार्यालय सारिंदा धेरै नोक्सानी भएको उनले टिप्पणी गरे ।


तत्कालीन भूसंरक्षण कार्यालयलाई दुई जिल्लाको एकीकरण गरेर पर्वत पठाइएको छ । बागलुङको कार्यालयमा अहिले सशस्त्र प्रहरी बलको युनिट बसेको छ । रात्माटाको कार्यालय भुतबंगला जस्तै भएको छ । राष्ट्रिय झन्डा च्यातिएको छ । नागरिक बडापत्रमा झार उम्रेको छ । बिहान र बेलुकी यो भवनको कम्पाउन्डमा मोटरसाइकल सिक्नेहरू देखिन्छन । बोटबिरुवा र रोपिएका फूल सुकेका छन् । निर्माणाधीन सभाहल अलपत्र छ । गत वर्षदेखि यो कार्यालयको मर्मत र सरसफाइसमेत भएको छैन ।


मुद्दा जित्न नसकेका समाजका पदाधिकारी अहिले कार्यालय भूतबंगलाजस्तो भएकोमा चिन्तित छन् । ‘आफ्नो जमिन र भवन जीर्ण बनाएर अर्काको भवनमा बस्नु राम्रो होइन,’ समाजका अध्यक्ष कवीन्द्रप्रसाद सापकोटाले भने, ‘केही गरी कृषि र भूसंरक्षणको भवनबाट बाहिरिनु पर्दा नगरपालिका झोला बोकेर कता जाने ?’ भएको भवन जीर्ण हुने गरी बेवास्ता गर्नु हुँदैन । नगरपालिकालाई मुख्य बजारमा सेवा दिन सारिएको नगरप्रमुख जनकराज पौडेलले बताए । ‘अहिले पनि हामीले कार्यालय सारेका हैनौं, अधिकांश नागरिकको सेवाको पहुँच बढाउन खोजेका हौं,’ पौडेलले भने, ‘यहाँ पाइने सेवा रात्माटाबाट पनि पाइन्छ ।’ सेवाग्राहीले भने रात्माटाबाट कुनै पनि सेवा नपाइने जनाए । ‘माथि कोही पनि छैन, केही काम पनि हुँदैन, यहाँ पनि चारतिर कार्यालय छरिएकोले सेवाग्राही हैरान छन्,’ नक्सापास गर्न आएका वडा ३ की एक महिलाले भनिन् ।

प्रकाशित : माघ १९, २०७६ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?