कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कडकनाथ खोज्दै खोरमै पुग्छन् ग्राहक

प्रकाश बराल

(बागलुङ) — जिल्लाका एक किसान अर्गानिक उत्पादनमा जोड दिएर उदाहरण बनेका छन् । बागलुङ नगरपालिका–३ रातमाटाका वैकुण्ठ सापकोटाको बारीमा अर्गानिक तरकारी र खोरमा स्थानीय जातका कुखुरा छन् । झन्डै एक हजार कुखुरा पालेका उनले रैथाने नस्ललाई व्यावसायिक बनाएका छन् । माग अत्यधिक रहेकाले अझ थप्ने तयारी हुँदै छ ।

कडकनाथ खोज्दै खोरमै पुग्छन् ग्राहक

उनको खोरमा ‘कडकनाथ’ जातका कुखुरा पनि छन् । कालो जातको यो कुखुरा कालिजजस्तै हुन्छ । बजारमा उक्त कुखुराको मासु २ हजार ५ सय रुपैयाँ प्रतिकेजीसम्म बिक्छ । ‘कालो रंग र मासु पनि कालै हुन्छ तर रक्तचाप, मुटु र पेटसम्बन्धी रोगका बिरामीलाई राम्रो गर्छ,’ सापकोटाले भने, ‘अब लोकल कुखुरा र कडकनाथको समेत फरकफरक उत्पादन बनाउने तयारीमा छु ।’


रैथाने कुखुरा पनि प्रतिकेजी ७ सय रुपैयाँमा खोरबाटै बिक्री हुन्छ । भालेको मूल्य बढी पर्छ । कडकनाथको महत्त्व बुझेपछि टाढाटाढाबाट माग भइरहेको उनले बताए । ‘मुस्ताङदेखि भैरहवासम्मका मानिसले कडकनाथको खोजी गरेका छन्,’ सापकोटाले भने, ‘लोकल र कडकनाथलाई हत्पती रोगले पनि छुन सक्दैन ।’ स्थानीय कुखुरा र कडकनाथ ब्रोइलरजस्तो वजनदार भने हुँदैनन् । ब्रोइलरलाई २ देखि साढे दुई महिनामा बेचिसक्नुपर्छ । नत्र मासुभन्दा दानापानीको मूल्य बढी परिदिन्छ । यो अवधिमै ब्रोइलर ३ देखि ४ केजीसम्मको भइसक्छ । स्थानीय जातको कुखुरा भने ६ महिनादेखि एक वर्ष पालेपछि बल्ल तीन केजीजति हुन्छ । तर यसलाई दानामा धेरै खर्च हुँदैन । बारीको कलिलो घाँस र घरैमा पाइने धान, मकै र गहुँ तथा भटमास खुवाउन सकिन्छ ।


अण्डा कोरल्न सापकोटा भैरहवासम्म पुग्छन् । ह्याचरी मेसिनको अभावमा टाढा पठाउनुपरेको थियो । अब भने ४ लाख खर्चेर घरैमा मेसिन ल्याउन अर्डर दिइसकेको उनले बताए । यसो गर्दा मासिक १ हजारभन्दा बढी अण्डा घरैमा कोरल्न सकिन्छ । मेसिन ल्याउने र सञ्चालन गर्ने काममा छिमेकी विजय शर्माले साथ दिएका छन् । विजय १६ वर्षदेखि कुखुरा पालनमा छन् । अण्डा कोरलेपछि एकदिने, सातदिने र १५ दिने चल्ला राख्न घर भाडामा लिइसकेका छन् । सापकोटाले आफ्नो घर कुखुराको ग्रेडिङ गर्न प्रयोग गरेका छन् । पहिला गाईभैसी पाल्ने गोठमा अहिले कुखुरा खेल्छन् । यिनलाई दिनको दुई घण्टा पाखोमा चराउन लगिन्छ । चराएपछि हेरचाह गर्ने युवक माइलाले ल्याएर दानापानी दिन्छन् । सापकोटाको बार्दली बारेर अण्डा पार्ने कोठा बनाइएको छ । पाहुना आउँदा सुताउने कोठा कुखुराको उपचारकक्ष बनेको छ । पहिला धान र मकै राख्ने भण्डार अहिले अण्डा र दाना राख्ने ठाउँ बनेको छ । दुइवटा कोठा आफूलाई राखेका छन् । एउटामा खाने–बस्ने, अर्कोमा सुत्ने ।


सापकोटा झन्डै १२ वर्ष सापकोटा गैरसरकारी संस्थाको अगुवा भएर काम गरेका थिए । दाताको अनुदान पाएसम्म मात्र एनजिओले काम गर्छन् भन्ने आरोप चिरेर उनले आँफै कृषि कर्म गरेर देखाएका हुन् । ‘मैले धेरै किसानलाई सिकाएँ, अब आफैं मोडल बनाएर देखाउन चाहेको छु,’ उनले भने, ‘तालिम पाएका किसान अहिले मसँगै चल्ला खोज्न आइरहेका छन् ।’ लगातारको तालिमबाट उनी पशुस्वास्थ्य प्राविधिकको रुपमा समेत स्थापित भइसकेका छन् ।

प्रकाशित : माघ १८, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?