२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

बन्चरो प्रहार गरी लमजुङमा वृद्धाको हत्या

आश गुरुङ

लमजुङ — सुन्दरबजार नगरपालिका ७, पाउँदीमा बन्चरो प्रहार गरी एक वृद्धाको हत्या भएको छ । घाँटीमा बन्चरो नै रहेको अवस्थामा वृद्धाको शव फेला परेको प्रहरीले जनाएको छ । बेंसीसहर–डुम्रे सडकको पाउँदीनजिकै सडकमुनि मर्स्याङ्दी आधारभूत विद्यालय पछाडि बस्ने ६० वर्षीया एकल महिला सीता भुजेल पोखरेलको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बन्चरो प्रहार गरी लमजुङमा वृद्धाको हत्या

घटना आइतबारको भए पनि प्रहरीले सोमबार बिहान सवा ११ बजेतिरमात्रै थाहा पाएको थियो ।बन्चरो मृतकको घाँटीमै गडेको र बिँड फुक्लिएको अवस्थामा खाटमुनि फेला परेको प्रहरी अनुसन्धानबाट खुलेको छ । रगत छरपस्ट भएको र शव वरपर मकै छरिएको अवस्थामा रहेको र रगत लतपतिएको अवस्थामा शव फेला परेको स्थानीयले बताएका छन् ।


निःसन्तान सीता १८ वर्षदेखि पतिसँग छुट्टिएर बस्दै आएकी थिइन् । मर्स्याङ्दी गाउापालिका ९, सिम्पानी माइती भएकी उनले २०/२२ वटासम्म बाख्रापालन गर्दै आएकी थिइन् । पछिल्लो समय पनि उनले १२ वटा बाख्रा पालेकी थिइन् । भाडामा बसेर बाख्रापालन गर्दै आएकी सीताले ८ वर्षअघि आफ्नै घर बनाएर बसेका स्थानीय बताउँछन् ।


उनले कानमा लगाएका अन्दाजी अढाई तोला सुनका गहनामध्ये ठूलाठूला रिङ कानबाट चुाडालेको र केही साना रिङमात्रै फेला परेको प्रहरीले बताएको छ । केही दिनअघिमात्रै उनले एउटा खसी २२ हजार रुपैयाामा बिक्री गरेकी थिइन् । त्यो पैसा पनि उनको साथमा नरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले यी सबै विषयमा अनुसन्धान भइरहेको बताए ।

घटनाको अनुसन्धान गर्न गण्डकी प्रदेश प्रहरी कार्यालयबाट २ वटा कुकुर झिकाइएको थियो । प्रक्रिया पूरा गरी कुकुरलाई फिर्ता पठाइएको छ । घटना घटेको जानकारी आएको करिब २४ घण्टासम्म शंकास्पद व्यक्तिलाई सोधपुछबाहेक प्रहरीले कसैलाई नियन्त्रणमा लिन सकेको छैन । जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी रवीन्द्रमान गुरुङले घटना आइतबार रातिको भए पनि वृद्धा एक्लै बसेको र वरपर पनि कोही नहुँदा घटना ढिलामात्रै जानकारीमा आएको बताए । ‘घटना हेर्दा कर्तव्य ज्यान प्रकृतिको हुन सक्छ । हामीले अनुसन्धान गरिरहेका छौं,’ उनले भने ।


मृतककी आमा नजिकै सहकालेमा भदाको घरमा बस्दै आएको स्थानीयले बताएका छन् । छिमेकी र स्थानीयका अनुसार समय–समयमा उनको साथमा आमा आएर बस्ने गरेकी थिइन् । मृतकको शव पोस्टमार्टमको लागि लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको छ ।

प्रकाशित : माघ १४, २०७६ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?