घरमै बसेर विदेशमा व्यापार

प्रकाश बराल

(बागलुङ) — दशकअघि जापान गएकी मीना सापकोटा अहिले पनि बागलुङबाट बुटिक भरेका कपडा मगाउँछिन् । जापानमा बस्ने अन्य नेपाली र जापानी युवतीका लागि समेत उनले कपडा मगाउने गरेकी छन् । यहाँकी सन्ध्या राजभण्डारीले तयार पारेर सामान पठाइदिन्छिन् ।

अमेरिकामा बस्दै आएकी आकांक्षा श्रेष्ठले पनि राजभण्डारीको ‘साइट’ हेरेपछि ५ वर्षदेखि सामान मगाउन थालेकी छन् ।


अनलाइनबाटै ‘अर्डर’ लिने राजभण्डारीले कुरियरमार्फत विदेशमा कपडा निर्यात गरेर गज्जबको आम्दानी गर्दै आएकी छन् । बागलुङ नगरपालिका–२ की ३३ वर्षीया राजभण्डारीले एक दशकअघि बुटिकका सामान बनाएर

देशभित्रै बेच्थिन् । पछिल्लो ५ वर्षदेखि उनको व्यापार अनलाइनमा परिणत भएको छ । सुरुमा आफन्तमार्फत फाट्टफुट्ट विदेशमा सामान पठाएकी राजभण्डारीले अहिले व्यावसायिक उत्पादन थालेकी हुन् । सदरमुकामको बाघचोक नजिकै उनको पसल छ । घरको एक कोठामा कपडाको काम गरिरहेकी राजभण्डारीले माग बढेपछि व्यवसाय विस्तार गरेकी छन् । सुन पसल छाडेर श्रीमान् उमेशले पनि श्रीमतीलाई साथ दिएका छन् ।


इन्टरनेटको माध्यमबाट काम गर्दा राजधानी वा ठूलो सहरमा बस्नुपर्ने बाध्यता नभएको उनले सुनाइन् । ‘ग्राहक भेट्न महँगो सटर भाडामा लिनु पर्दैन,’ उनले भनिन्, ‘काम गुणस्तरको गर्न सकियो भने विश्वास जित्न सकिने रहेछ ।’ जापानमा बस्ने आफन्तबाट अर्डर लिन थालेपछि उनको व्यवसाय बढ्दै गयो । अहिले अस्ट्रेलिया, युरोप र अमेरिकामा बस्ने नेपाली र त्यहीँका नागरिकले पनि सामान अर्डर गरिरहेका हुन्छन् ।


मूल्य, गुणस्तर र समयको ख्याल गरेर माग भएका सामान तोकिएकै समयमा उत्पादन गरिदिँदा उनको व्यवसाय फस्टाएको हो । ‘विदेशमा बस्नेले अनलाइन व्यापार गर्छन्, चाहेको समयमा पाइयो भने आफ्नो छिमेकीको छाडेर विदेशबाट पनि मगाउने रहेछन्,’ उनले भनिन्, ‘मेहनत र गुणस्तरले बजार बढ्ने अनुभव गरेकी छु ।’ उनको पसलबाट लेहेङ्गा, गाउन, सारी, ब्लाउज, लेस, स्टोन र पोतेलगायत निर्यात हुने गरेको छ । उनको पसलमा अहिले ६ हजारदेखि ६५ हजार रुपैयाँसम्म पर्ने लेहेङ्गा छन् ।


ती अर्डरअनुसार बनेका हुन् । विशेषगरी पसलमै जाँदा पाइने मूल्यबाहेक ३ हजार रुपैयाँसम्म बढी रकम तिर्दा अमेरिका र युरोपमा समेत पठाउन सकिने उनले बताइन् । ‘कुरियरमार्फत पठाउने भएकाले ठूलो खर्च लाग्दैन, समयमै पुर्‍याउन पनि सकेकी छु,’ उनले भनिन्, ‘विवाहमा लगाउने कपडाका लागि पनि विदेशबाट अर्डर आउने गरेको छ ।’ उनले सन्ध्या क्रियसनमार्फत व्यवसाय सञ्चालन गरेकी हुन् ।


आमाबाबुबाटै सिलाइ जानेकी राजभण्डारीले काठमाडौंको कुपण्डोलमा ३ महिना डिजाइनको तालिम लिएकी थिइन् । त्यसपछि लेडिज सामान उत्पादन गरेर केही समय सदरमुकाममै विक्री गर्दागर्दै उनले जापान र अस्ट्रेलिया गएका छिमेकीलाई पठाउन थालिन् ।


अहिले उनको पसल देखेर आउनेभन्दा चार गुणा बढी विदेशबाटै अर्डर हुने गर्छ । सात जनालाई रोजगारीसमेत दिएकी छन् । सातामा डेढ लाखदेखि तीन लाख रुपैयाँसम्मको कारोबार गर्दै आएको उनले बताइन् । आफैले मेहनत गरेकाले कम्तीमा २० देखि ३० प्रतिशत नाफा निकाल्न सकेको उनको भनाइ छ । यो पेशाबाट सिजन गयो भनेर कहिले पनि खाली हात बस्नु नपरेको उनको अनुभव छ । प्रकाशित : माघ १४, २०७६ ०९:३७

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

‘करेसाबारीले जोगियो फजुल खर्च’

कान्तिपुर संवाददाता

पर्सा — वीरगन्ज महानगरपालिकाका तीनवटा वडामा किशोरीहरूले अर्ग्यानिक तरकारी खेती थालेका छन् । वडा नं २९, ३० र ३१ का किशोरीहरूले करेसाबारीमा खेती थालेका हुन् । 

नेपाल ग्रामीण पुनर्निर्माण संस्थाको आयोजनामा सञ्चालित किशोरी संवाद कार्यक्रमले यो अभियानलाई सहयोग गरेको छ । कार्यक्रमले ३ सय ५० किशोरी तथा अभिभावकलाई करेसाबारी बनाउने तालिम तथा तरकारीको बीउ सहयोग गरेको हो । विषादीयुक्त तरकारीले स्वास्थ्यमै समस्या आउन थालेपछि अर्ग्यानिक खेतीमा जोड दिइएको हो । किशोरीहरूले घरका करेसाबारीमा साग, काउली, बन्दा, लसुन, प्याज, धनिया, बंगला तरकारी लगाएका छन् ।

वीरगन्ज–३० लालपर्सास्थित सागर संवाद केन्द्रकी किशोरी सीताकुमारी गुप्ताले अभिभावकलाई अर्ग्यानिक खेतीबारे बुझाउन सकिएको बताइन् । बुबा वीरबहादुरले आफू किसान भए पनि अन्नबालीतर्फ मात्र ध्यान दिएको र किनेर तरकारी खाँदै आएको सुनाए । ‘करेसा बारीको खेतीले तरकारी किन्ने फजुल खर्च जोगियो,’ उनले भने, ‘तरकारी विक्री गरे केही आम्दानी हुँदा घर खर्च पनि जुटेको छ ।’ तारा संवाद केन्द्र मुसैलीकी किशोरी इन्दु गुप्ता करेसाबारी नहुँदा प्रायः आलुको तरकारी खानु परेको सम्झिन्छिन् । ‘अहिले जुन तरकारी खान मन लाग्यो, बारीबाट टिप्यो पकायो,’ उनले भने, ‘हरियो, ताजा र स्वादिलो तरकारी खान पाइएको छ ।’ बालबालिका तथा गर्भवती महिलाका लागि हरियो तरकारी अति आवश्यक रहेको संवाद केन्द्रको छलफलबाट सिक्न पाएको उनले सुनाइन् ।

संस्थाका संवाद अधिकृत प्रकाश पाण्डेले करेसाबारीबारे ३ महिने तालिम दिएको बताए । पोषणको पहुँच पुर्‍याउन र विषादीरहित तरकारी उत्पादन तथा उपभोगका लागि तालिम दिइएको उनको भनाइ छ ।

‘तराईका धेरैजसो किसानहरू अन्नबालीमै केन्द्रित छन्, तरकारी खेती थोरैले मात्र गर्छन्,’ उनले भने, ‘संस्थाको उद्देश्य करेसाबारीबाट तरकारी खेतीतर्फ किसानलाई आकर्षित गराउनु हो ।’ युरोपियन युनियनको सहयोगमा चाइल्ड नेपाल र संरक्षण नेपालको सहकार्यमा संस्थाले कार्यक्रम गरेको हो । संवाद कार्यक्रमले विद्यालय जान छाडेका किशोरीहरूलाई विद्यालय फर्काउने अभियान पनि सञ्चालन गरिरहेको छ ।

प्रकाशित : माघ १४, २०७६ ०९:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×